दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिका स्तरीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जारी छ । यहि माघ १४ गते बुधबारबाट गाउँपालिकाको वडा नम्बर ३ स्थित मालिकार्जुन् माध्यमिक विद्यालय मडको खेलमैदानमा सञ्चालन भईरहेको प्रतियोगिता अन्तरगत शनिबार (आज) सम्म २३ स्वार्णको टुङ्गो लागेको गाउँपालिकाका शिक्षा शाखा प्रमुख एवं सूचना अधिकारी लोकेन्द्र सिंह धामीले बताउनुभयो ।
प्रतियोगिता अन्तरगत अब छात्र छात्राको भलिबल फाइनल र एथ्लेटिक्स तर्फ छात्रछात्राको ४ गुणा ४ सय मिटर रिले बाँकी रहेको छ ।
४ स्वर्णको खेल बाँकी रहदा सम्म मालिकार्जुन माध्यमिक विद्यालय मडले अग्रता कायम राखेको छ । मालिकार्जुन मावि मडले ५ स्वर्ण, २ रजत र २ कास्य गरि जम्मा ९ पदक प्राप्त गरेको छ ।
शंकरपुर मावि पस्तिले ४ स्वर्ण, ५ रजत र ३ काश्य गरी कुल १२ पदक, हुनैनाथ मावि चन्दनपुर ३ स्वर्ण र १ रजत कुल ४ पदक, खान मावि एरिछानाले २ स्वर्ण, ४ रजत र २ काश्य गरि कुल ८ पदक, कृष्ण मावि डाडाकोटले २ स्वर्ण र ४ रजत गरि कुल ६ पदक, राष्ट्रिय मावि ठिङले २ स्वर्ण, २ रजत र ४ काश्य गरि कुल ८ पदक प्राप्त गरेको छ ।
त्यस्तै गरडा मावि बाँकुले २ स्वर्ण, १ रजत र काश्य ७ गरि कुल १० पदक, सरस्वति मावि उकूले २ स्वर्ण, १ रजत र ५ काश्य गरि कुल ८ पदक, निलपतालेश्वर मावि भर्तोलाले १ स्वर्ण, १ रजत र १ काश्य गरि कुल ३ पदक, सरस्वती मावि सेलिचामाले २ रजत र ३ काश्य गरि जम्मा ५ प्राप्त गरेको शिक्षा शाखा प्रमुख धामीले जानकारी दिनुभयो ।
प्रतियोगितामा हाल सम्म डिन्सी मावि डिन्सीले कुनै पनि पदक प्राप्त गर्न सकेको छैन । प्रतियोगिता अन्तरग बाँकी रहेका खेलहरु भोली खेलाईने र भोली नै पुरस्कार वितरण तथा समापन गरिने उहाँले जानकारी दिनुभयो ।




