दार्चुला । दार्चुलाबाट यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा साढे तीन हजार बढी विद्यार्थी सहभागी हुँदै छन् । चैत्र १९ गतेदेखि सुरु हुने परीक्षामा जिल्लामा नियमित तथा ग्रेड बृद्धितर्फका गरि ३ हजार ५ सय ६८ जना विद्यार्थी परीक्षामा सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाई दार्चुलाका सूचना अधिकारी लक्ष्मीप्रसाद जोशीले जानकारी दिनुभयो ।
यस पटक जिल्लामा नियमित तर्फ २ हजार ५ सय २८ जना र ग्रेड बृद्धी तर्फ १ हजार ४० जना विद्यार्थीले परीक्षा फाराम भरेका छन् ।
यस पटक जिल्लाको अपिहिमाल गाउँपालिकामा एक परीक्षा केन्द्र निर्धारण गरिएको छ । यस अघि अपिहिमालमा एसइई परीक्षा सञ्चालनको लागि केन्द्र नरहेकोमा यस वर्ष पहिलो पटक वडा नम्बर ४ मा रहेको तामाखानी भगवती आधारभूत विद्यालयमा परीक्षा केन्द्र तोकिएको गाउँपालिकाका शिक्षा शाखा अधिकृत मदन राज जोशीले जानकारी दिनुभयो । अपिहिमाल गाउँपालिकाका ४ वटै माध्यमिक विद्यालयका १ सय ५० जना विद्यार्थीहरुको परीक्षा सोही केन्द्रमा सञ्चालन हुने जोशीले जानकारी दिनुभयो ।
अन्य १६ वटा परीक्षा केन्द्रहरु भने साविककै रहेका छन् । अहिले विद्यालयहरुलाई प्रवेश पत्र बुझाउने काम भईरहेको सूचना अधिकारी जोशीले जानकारी दिनुभयो ।




