दार्चुला । दार्चुलाको दुहुँ गाउँपालिका–३ सिमलीमा अविरल वर्षाका कारण एक घर भत्किएको छ।
शुक्रबार राति परेको वर्षाले स्थानीय अशोकबहादुर बमको दुईतले चार कोठे घर भत्किएको वडा अध्यक्ष देवबहादुर बमले जानकारी दिनुभयो। घर भत्किएपछि बमको ६ सदस्यीय परिवार हाल छिमेकीको घरमा बस्दै आएको उहाँले बताउनुभयो।
वर्षाका कारण घरको सिलेट पत्थरले छाएको छानो भत्किनुका साथै भित्ताहरूमा समेत क्षति पुगेको जनाइएको छ।
पीडित परिवारलाई वडा कार्यालय तथा गाउँपालिकाबाट राहत तथा सहयोग उपलब्ध गराउने प्रक्रिया अगाडि बढाइएको वडा अध्यक्ष बमले जानकारी दिनुभयो।




