खिमानन्द जाेशी, दार्चुला । सीमा अतिक्रमणका विरुद्ध यति बेला सिङ्गो देश एकढिक्का भएको छ । नेपाल सरकारले लिम्पियाधुरा सहितको नेपाली भूमि समेटेर नक्सा जारी गरिसकेपछि अतिक्रमित नेपाली भूमिबाट भारतले आफ्नो सेना फिर्ता लैजानुपर्छ भन्ने आवाज जताततै उठिरहेको छ ।
आदिवासी व्यासी शौका समुदायको बसोबास रहेको यो क्षेत्र सांस्कृतिक, धार्मिक, प्राकृतिक, व्यापारिक एवम् सामरिक हिसाबले अति नै महत्वपूर्ण छ । पुराणहरुमा धर्मद्वारको रुपमा वर्णित शिवपार्वतीको क्रिडास्थल एवम् महर्षी व्यासको तपस्थलको रुपमा रहेको यस क्षेत्रमा रहेको आदि कैलाश एवम् ॐ पर्वतका बारेमा यस लेखमा चर्चा गरिएको छ ।
हिमालय क्षेत्रमा रहेका पन्च कैलाश मध्ये मुख्य कैलाश (कैलाश मानसरोवर ) चीन तिब्बतमा, आदि कैलाश नेपालको दार्चुलामा (अतिक्रमीत क्षेत्र), श्रीखण्ड कैलाश, किन्नर कैलाश र मणि महेश कैलाश भारतको हिमान्चल प्रदेशमा पर्दछन् । प्रत्येक बर्ष पन्च कैलाश यात्राका लागि लाखौं तिर्थयात्रीहरु यी पवित्र स्थलहरुमा पुग्ने गर्दछन । आदि कैलाशलाई बाबा कैलाश, शिव कैलाश, छोटा कैलाश एवम् जोलिङ्गकाङ्ग नामले पुकारिन्छ । भगवान शिवले देवी पार्वतीसङ्ग बिवाह गरेपछि यस क्षेत्रमा निवास गरेको र पछि परिवार वृद्धि भएपछि मुख्य कैलाश (कैलाश मानसरोवर) मा बसोबास गर्न गएको धार्मिक मान्यता यस क्षेत्रमा प्रचलित छ । आदि कैलाश अतिक्रमीत कुटी गाउँबाट १४ किलोमीटर उत्तर पुर्वमा पर्दछ।
समुद्री सतहबाट ६३१० मीटर ऊचाईमा अवस्थित आदि कैलाशलाई कैलाश मानसरोवरकै प्रतिकृतिको रुपमा लिईन्छ । यहाँ पनि कैलाश मानसरोवर जस्तै आदि कैलाशको अग्रभागमा पार्वती कुण्ड रहेको छ । जसलाई पार्वती सरोवर पनि भन्ने गरिन्छ । यस सरोवरमा आदि कैलाशको आकृती देखिन्छ । सरोवरको किनारमा शिवपार्वतीको मन्दिर रहेको छ । साधु सन्तहरुले यस क्षेत्रको तिर्थयात्रा प्राचीन समय देखि नै गर्दै आए पनि सर्वसाधारण भने सन् १९६२ मा ईन्डिया चीन युद्धपछि कैलाश मानसरोवर यात्रा बन्द भएपछी यस क्षेत्रमा जान थालेका हुन् । साधु सन्तले आदि कैलाशको महिमाबारे जानकारी दिने र आदि कैलाश यात्रा गर्न प्रेरित गरेका कारण ठूलो संख्यामा श्रद्धालु यस क्षेत्रमा पुगेको पाईन्छ ।
सन् १९९४ भन्दा पहिले के कतिले यस क्षेत्रको यात्रा गरे भन्ने तथ्यांक पाईदैन । सन् १९९४ ईन्डियाले सरकारी स्तरबाटै कुमाउँ मण्डल विकास निगम मार्फत “आदि कैलाश यात्रा“ सुरु गरेपछि विगत २५ वर्षमा जम्मा ३९५३ जना श्रद्धालुहरुले आदि कैलास यात्रा गरेका थिए । प्रत्येक बर्ष जुन(सेप्टेम्बर महिना संचालन हुने आदि कैलाश यात्राका लागि कोभिड(१९ का कारण यस बर्ष भने पन्जीकरण गरिएको छैन । कुमाउँ मण्डल विकास निगमले दिल्ली-आदि कैलाश-दिल्ली (१७ दिन) का लागि जिएसटी सहित भारतीय रुपैया ४०,५०० लाग्छ । काठगोदाम–आदि कैलाश (काठगोदाम १५दिन) का लागि भारतीय ३५,५०० रुपैया र धारचूला – आदि कैलाश –धारचूला (१२दिन) का लागि भारतीय .३०,५०० रुपैया प्रति यात्री शुल्क लिने गरेको छ । पछिल्लो समय भारतले मानसरोवर जाने सड्क निर्माण गर्नुको साथै उक्त क्षेत्रमा होटेल एवम् होमस्टेहरुको निर्माण भैरहेका कारण आउँदा दिनमा तिर्थयात्रीहरुको संख्यामा उल्लेख वृद्धि हुने देखिन्छ ।
अतिक्रममित भूमिमा रहेको अर्को महत्त्वपूर्ण क्षेत्र हो ॐ पर्वत, लिपुलेक क्षेत्रमा पर्ने यो अद्भुत पर्वत नेपाल—चीन सिमा नजिकै रहेको छ । यसको उचाई ६,१९१ मीटर रहेको छ । ॐ पर्वत गुराँस हिमशृङ्खला अन्तर्गत पर्दछ । यस पर्वत रहेको ॐ आकृतिलाई पश्चिमतिर पर्ने गुन्जी गाउँवाट स्पष्ट रुपमा देख्न सकिन्छ । यो कैलाश पर्वत र आदि कैलाशका बिचमा पर्दछ ।
धार्मिक मान्यता अनुसार हिमालय क्षेत्रमा कुल ८ ठाउँमा प्राकृतिक रुपमा ॐ आकृति रहेको मानिए ता पनि हालसम्म यो पर्वत मात्रै पत्ता लागेको छ । यस पर्वतबाट ॐ को प्रतिध्वनी गुन्जिने गर्दछ । यो पर्वतले हिन्दु, बौद्ध एवम् जैन धर्मावलम्वीहरुका लागि विशेष धार्मिक महत्व राख्दछ। पछिल्लो समय लिपुलेकलाई नक्सामा देखाईसकेपछि ईन्डियाले ॐ पर्वतको आधा क्षेत्र समेत दाबी गरिरहेको छ । वर्षेनी कैलाश मानसरोवर यात्रामा जाने हजारौं तिर्थालुहरुले यस पर्वतको दर्शन गर्ने गर्दछ्न् । यस पर्वत बाट कैलाश मानसरोवरको दुरी लगभग ६३ किलोमीटर रहेको छ ।
सन् १९५४ देखि नै भारतीय सुरक्षाकर्मीले यस क्षेत्रमा नेपालीहरुलाई प्रवेशमा कडाई गरेको पाईन्छ । सन् १९६२को भारत—चीन युद्धपछि ईन्डो तिब्बतयन बोर्डर पुलिस फोर्सले यस क्षेत्रमा व्यारेक बनाएर बसेपछि नेपालीहरुले प्रयोग गर्ने परम्परागत बाटो नै बन्द गरिदिएको छ । आफ्नै देशको सिमानाभित्र यति महत्त्वपूर्ण क्षेत्र भएर पनि सो क्षेत्रमा प्रवेश गर्न पराईको अनुमती लिनुपर्ने र अनुमती माग्दा पनि नपाईनु घोर अपमान हो ।
हालै नेपाल सरकारले लिम्पियाधुरा सहित नक्सा जारी गरेर सह्रानिय कार्य गरेको छ । अब यस अति पवित्र नेपाली भूमिबाट ईन्डियन आर्मी सौहार्दपुर्ण ढङ्गबाट फिर्ता जानुपर्छ । कुटनीतिक तवरबाटै यो समस्याको समधान हुनेछ भन्ने विश्वास छ । पवित्र आदि कैलाश एवम् ॐ पर्वत नेपालको थियो छ र रहिरहनेछ ।
पत्रकार जोशी लोकदर्पण मिडियाका लागि विभिन्न विधाका समसामयिक विषयमा कलम चलाउछन् ।