दार्चुला । दार्चुलाको महाकाली नगरपालिकामा एकै दिन ५० जना संक्रमित थपिएका छन् । डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको कोरोना परीक्षणमा महाकाली नगरपालिकाका ५० जनामा संक्रमण पुष्टि भएको प्रयोगशालाका इन्चार्ज ईश्वरी प्रसाद भूसालले जानकारी दिनुभयो ।
कार्तिक ५ गते बुधबार ८४ जनाको पीसीआर परीक्षण गर्दा महाकाली नगरपालिका दार्चुलाका ५० जनाको रिपोर्ट पोजेटिभ र ३४ जनाको रिर्पोट नेगेटिभ आएको भूसालले बताउनुभयो । यो संगै दार्चुलामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या २५० पुगेको छ ।
नौँ वटा स्थानीय तह रहेको दार्चुलामा अपि हिमाल गाउँपालिका बाहेक सबै स्थानीय तहमा कोरोना संक्रमित फेला परेका छन् । दार्चुला सदरमुकामस्थित महाकाली नगरपालिकाका पछिल्लो समयमा कोरोनाको हटस्पट बन्दै गएको छ । नगरपालिकामा हालसम्म १६४ जनामा संक्रमण पुष्टि भएको छ ।
जसमध्ये अझै ११९ जना सक्रिय संक्रमित रहेको महाकाली नगरपालिकाले जनाएको छ ।
सदरमुकाममा शसस्त्र प्रहरी, स्वास्थ्यकर्मी, रेडक्रसकर्मी र स्थानीयगरी १६४ जनामा संक्रमण पुष्टि भएको छ । जिल्ला बाहिर संक्रमण पुष्टि भएकाहरुको विवरण यसमा समावेस गरिएको छैन् ।
समुदायमा थप कोरोना फैलिन नदिन भन्दै नगरपालिकाको सिफारीसमा जिल्ला प्रशासन कार्यालय दार्चुलाले कोरोना रोकथाम तथा नियन्त्रणका लागि गत असोज २९ गते देखि नगरपालिकाको वडा नम्बर ४ र ५ क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।
तर निषेधाज्ञाको पालना नहुदा समुदायमा कोरोना फैलिने जोखिम कायमै छ । सदरमुकामबाट बाहिरिने क्रम समेत नरोकिएकोले महाकाली नगरपालिका कोरोनाको हटस्पट बन्ने चिन्ता बढेको स्थानीयले बताएका छन् ।
दुहुँ गाउँपालिकामा समेत एक जना स्वास्थ्यकर्मीमा कोरोना देखिएको र एक जना स्थानीयको धनगढीमा कोरोना संक्रमणका कारण मृत्यु भएकोले कोरोना रोकथाम र सम्पर्क पहिचान गरी स्वाब संकलन कार्यका लागि भन्दै हिकिला क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ ।
दशैँको अवसरमा जिल्ला बाहिरबाट भित्रिनेहरुको चहलपहल समेत बढ्न थालेकोले समुदायस्तरमा कोरोना पुग्ने जोखिम बढी छ । बाहिरबाट आएकाहरु क्वारेन्टाइन वा सेल्फ आइसोलेसनमा नबस्दा समस्या भएको स्वास्थ्यकर्मीहरु बताउछन् ।
हालसम्म कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण दार्चुलाका दुई जना पुरुषको जिल्ला बाहिर मृत्यु भइसकेको छ । जिल्ला अस्पतालको आइसोलेसमा एक जना र सेती प्रादेशिक अस्पतालमा दार्चुलाका दुई जनाको उपचार भइरहेको छ । अरु संक्रमित होम आइसोलेसनमा रहेको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।
सम्बन्धित समाचार : महाकालीमा एकैदिन ५० जना संक्रमित भेट्टिए, दार्चुलाभरी २५० जनामा संक्रमण




