दार्चुला । दार्चुलाको नौगाड गाउँपालिका वडा नम्बर ४ सिप्टीका प्रतिभावान बालक मिलन टमटालाई नौगाड गाउँपालिकाले सम्मानित गरेको छ । सानै उमेरदेखि कलामा औधी रुचि राख्ने टमटाले १० वर्षकै उमेरमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा चर्चा कमाउन सफल कार्यक्रम ईन्द्रेणीमा गीत गाएर सबैको मन जित्न सफल भएपछि चौतर्फी प्रशंसा भइरहेको छ ।
लाइभ दोहोरी विशेष साङ्गेतिक टेलिभिजन कार्यक्रम ईन्द्रेणीमा उत्कृष्ट कला प्रस्तुत गरेर गाउँ फर्किएका टमटालाई नौगाड गाउँपालिका अध्यक्ष प्रेमसिह धामी र वडा नम्बर ४ का वडाअध्यक्ष नन्दन सिह ठगुन्ना र ५ का वडाअध्यक्ष रामसिह ठगुन्ना लगायतले गत साता अबिर, फुल, माला लगाउनुका साथै खादा ओढाएर सम्मानित गरेको रेडियो लोकदर्पणका नौगाड सम्बाददाता प्रकाश सिह धामीले जानकारी दिनुभयो ।
मिलनकै गाउँमा पुगेर गाउँपालिका अध्यक्ष लगायत जनप्रतिनिधिले सम्मान र सहयोग गरेका हुन् । आर्थिक अवस्था कमजोर रहेका बाल कलाकार टमटालाई काठमाण्डौँ जानका लागि सहयोग पुगोस भन्ने उद्धेश्यले गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुले मिलेर २१,६५० रुपैँया संकलन गरी सहयोग समेत हस्तान्तरण समेत गरेको धामीले बताउनुभयो ।

गणेश विनायक माबि सिप्टीमा कक्षा ५ मा अद्ययनरत बाल कलाकार टमटाले गत महिना राष्ट्रिय राजनीति देखि देश र समाजको चित्रण हुने गरी विभिन्न भाषा र विधाका गीत गाएपछि ईन्द्रेणी कार्यक्रम प्रस्तोता कृष्ण कडेल र बहुप्रतिभावान व्यक्तित्व रमेश प्रशाई लगायतले खुलेरै प्रशंसा गरेका थिए । दार्चुलाको मौलिक भाकादेखि सुदूरपश्चिममा गाइने चर्चित भाकाहरु र नेपाली भाषाको लोकप्रीय गीतहरु ईन्द्रेणीमा मिलनले सुनाएका थिए । आयुसा गौतम संग मिलनले धमकेदार दोहोरी गाएपछि कार्यक्रम रंगमञ्चमा परिणत भएको थियो ।
परिवारको आर्थिक अवस्था कमजोर रहेका मिलनले काठमान्डौँमा पढेर असल तथा ठूलो मान्छे बन्ने चाहाना राखेका छन् । उहाँले कार्यक्रममै भन्नुभएको थियो, बुबा (डेडी) ले काम गर्नुहुन्छ, तर दिनभरी काम गरेर साँझ खान पुग्दैन, रिण काडेर दार्चुलाबाट काठमान्डौँ आएको छु । उहाँले अनुरोध गर्दै थप्नुभयो, मलाई अगाडी बढाइदेउ, स्कुल पढाइदेउ ।

उहाँको प्रस्तुती, प्रतिभा र बिचार सुनेर सबैले सम्मानभाव व्यक्त गरेका छन् । नौगाड गाउँपालिका अध्यक्ष प्रेमसिह धामीले दार्चुलाकै सान र पहिचान मिलन टमटालाई अगाडी बढ्न आफुले सहयोग गर्ने बताउदै सबैलाई सहयोगका लागि अनुरोध गर्नुभएको छ ।
मिलन र आयुसाले गाएको दोहोरी सहित ईन्द्रेणी कार्यक्रम हेर्न तलको लिकंमा क्लीक गर्नुहोला।




