दार्चुला । प्रतिनिधिसभा विघटन र मध्यावधि चुनाव घोषणासँगै फेरिएको राजनीतिक अवस्थाबारे दलहरु छुट्टाछुट्टै छलफलको तयारीमा छन् ।
प्रमुख प्रतिपक्ष नेपाली कांग्रेससहितका विपक्षी दलहरुको बैठक आज बस्दैछ । यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आफू निकट नेता र सांसदहरुसँग छलफल गर्दै हुनुहुन्छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज दिउँसो ४ बजे पार्टी कार्यालय सानेपामा सर्वदलीय बैठक बोलाउनुभएको छ । बैठकमा प्रतिनिधिसभा विघटनपछि उत्पन्न परिस्थितिका विषयमा छलफल गरेर साझा धारणा बनाउने कांग्रेसले जनाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेसँगै नेकपाका प्रचण्ड–नेपाल समूह तथा कांग्रेससहितका विपक्षी दलहरु असन्तुष्ट छन् । संसद विघटन गर्नु गैरसंवैधानिक र अलोकतान्त्रिक भएको भन्दै विपक्षी दलले आपत्ति जनाएका छन् । आइतबार प्रधानमन्त्रीको कदम गलत भन्दै असन्तुष्ट सात जना मन्त्रीले सामुहिक राजीनामा दिएका थिए ।
यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान आफू निकटका नेता तथा सांसदहरुलाई बालुवाटार बोलाउनुभएको छ । आफ्नो आउँदाे रणनीतिबारे छलफल गर्न र जानकारी गराउन प्रधानमन्त्री ओलीले आफू निकट नेताहरुलाई बालुवाटार बोलाउनुभएको छ ।
प्रधानमन्त्री ओलीले हिजो मन्त्रिपरिषद्को बैठक राखेर प्रतिनिधिसभा विघटनको सिफारिस गर्नुभएको थियो । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गर्दै वैशाख १७ र २७ गते नयाँ चुनावको घोषणा गर्नुभएको हो ।
नेकपाको हिजो बसेको स्थायी कमिटी बैठकले ओलीलाई कारबाही गर्ने निर्णय गरेको छ । स्थायी कमिटिले गरेको कारवाहीको निर्णय बारे भोलि केन्द्रिय समिति बैठकमा छलफल हुने नेताहरुले बताएका छन् ।
सरकारले गरेको संसद् विघटन असंवैधानिक र आलोकतान्त्रिक भएको निष्कर्ष सबैजसो दलहरुले निकालेका छन् । अधिकासं संबिधानबिदहरुले समेत ओलीको कदम संबिधान बिपरीत भएको बताउदै सर्बोच्च अदालतले संसद व्युताउनुपर्ने धारणा राखेका छन् ।
प्रधानमन्त्री ओलीले भने सबै सुरक्षा निकाय र निर्वाचन आयोगसंग छलफल गरेर सुरक्षा व्यवस्थापन र निर्वाचनको तयारीमा लाग्न निर्देशन दिनुभएको छ ।




