दार्चुला । राष्ट्रपति रामचन्द्र पाैडेलले आज संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउनुभएकाे छ । उहाँले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन) अध्यादेश २०८३ काे विषयवस्तुका सन्दर्भमा पुनर्विचार गर्न फिर्ता पठाउनुभएकाे राष्ट्रपति कार्यालयले निकालेको विज्ञप्तिमा उल्लेख छ ।
सरकारले ६ सदस्यीय संवैधानिक परिषदमा प्रधानमन्त्रीसहित ३ जनाकाे निर्णय अन्तिम हुने गरी अध्यादेश पठाएको थियो ।
आजै राष्ट्रपति पाैडेलले केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गर्नुभएको छ । मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा १४४ को उपधारा (१) बमोजिम केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८३ जारी गर्नुभएको हो ।
याेसँगै मन्त्रिपरिषद्ले सिफारिश गरेका ८ मध्ये राष्ट्रपति पौडेलले ७ वटा अध्यादेश जारी गर्नुभएकाे छ । यसअघि राष्ट्रपतिले स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी, सार्वजनिक पदाधिकारी पदमुक्तिसम्बन्धी, विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्नेसम्बन्धी, सम्पत्ति शुद्धीकरणसम्बन्धी, सहकारीसम्बन्धी र सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गर्नुभएको थियो ।




