दार्चुला । आईसीसी क्रिकेट विश्वकप लिग–२ एकदिवसीय शृङ्खलामा संयुक्त अरब इमिरेट्स (यूएई) ले ओमानलाई ५४ रनले हराएको छ ।
यूएईले दिएको ३०९ रनको लक्ष्य पछ्याएको ओमानले ३९ ओभर ५ बलमा २५४ रन बनाउँदा सबै विकेट गुमायो । ओमानका जितेन रामानन्दीले नटआउट ९१, हमाद मिर्जाले ८३ रन बनाए । यूएईका जुनैद सिद्दिकीले ६ विकेट लिए ।
यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको यूएईले वर्षाका कारण ४७ ओभरमा घटाइएको खेलमा ८ विकेट गुमाएर ३०८ रन बनाएको थियो । यूएईका चार जना खेलाडीले अर्धशतक बनाए । यूएईका हरप्रीत सिंहले ७७, मुहम्मद शहदादले ७४, अदीप उस्मानीले ७२, अर्यांश शर्माले ५० रन बनाए । ओमानका मुहम्मद इमरानले ३ विकेट लिए ।
यो जीतसँगै यूएई २४ खेलमा १४ अङ्क जोडेर तालिकाको पुछारमा छ । ओमान २७ खेलमा ३१ अङ्कसहित तेस्रो स्थानमा छ । काठमाण्डौमा चलिरहेको शृङ्खलाको अन्तिम खेलमा पर्सि नेपाल र ओमान खेल्दैछन् । नेपाल लिग–२ तालिकामा २३ खेलमा १६ अङ्कसहित सातौँ स्थानमा छ ।
यसपछि कीर्तिपुरमै यही वैशाख २९ गतेदेखि नेपाल, स्कटल्यान्ड र अमेरिका सम्मिलित लिग–२ शृङ्खला शुरू हुनेछ ।




