दार्चुला । महाकाली नदीमा जय सिंह धामी बेपत्ता भएको घट्नामा मुछिएको भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले दिउँसो सीमा क्षेत्रमा निगरानी बढाएपछि दार्चुलाको व्याँस गाउँपालिकाका बासिन्दा खाद्यान्नको जोहो गर्न राति तुईन तर्न थालेका छन् । घटनाका प्रतक्षदर्शीहरुले एसएसबीले तुइन फुकालेका कारण जयसिह महाकालीमा बेपत्ता भएको बयान दिएपछि आफ्नो बदनाम गरेको भन्दै आक्रोशित बनेको एसएसबीले महाकालीमा लगाइएका सबै तुइन हटाइदिएको छ । सडकमार्गले दार्चुला सदरमुकाम खलंगासंग नजोडिएको व्यास गाउँपालिकाका बासिन्दा गाउँमा खाद्य संकट भएपछि दैनिक उपभोग्य सामानको जोहो गर्न राति तुईन तर्न थालेका हुन् ।
तुइन तर्ने ठाउँमा दिउँसो एसएसवीले निगरानी बढाएपछि गाउँमा खाद्यान्न तथा अत्यावशकीय सामानको अभाव भएको छ । दैनिक उपभोग्य सामाग्रीको जोहो गर्न सीमावर्ती भारतीय बजार जान बाध्य स्थानीय बासिन्दा रातीको समयमा महाकाली नदी ओहोर दोहोर गर्न बाध्य भएका छन् । नेपाल सरकारले सीमावासीको समस्या समाधानका लागि कुनै चासो नराखेको प्रति व्यासबासीले दुःख व्यत्त गरेका छन् । भारतीय परनिर्भरता हटाउन दार्चुला तिकंर सडकलाई छिटो निर्माण गरिदिन र तत्काल अत्यावश्यक सामानको आपुर्ती गरिदिन सरकारसंग व्यासका बासीन्दाको माग छ ।
व्यास गाउँपालिका अन्तर्गत महाकाली नदीमा आधादर्जन स्थानमा तुइन सञ्चालनमा छन् । दिउँसो लुकिछिपी तुईन सञ्चालन गर्दा एसएसवीले धरपकड गर्नुका साथै तुइन काट्न थालेपछि स्थानीय बासिन्दाले राति तुईन प्रयोग गर्नुपरेको हो । सीमावर्ती भारतीय बजारमा अधिकांशका आफन्त तथा नातेदारहरु बस्छन् । तिनै आफन्तको सहयोगमा उनीहरुले भारतबाट खाद्यान्न तथा दैनिक उपभोग्य सामान जोखिम मोलेर रातको समय ल्याउने गरेका छन्। भारतबाट यातायात व्यवसायीहरुले समेत व्यासबासीलाई महाकाली किनारसम्म खाद्यान्न सामाग्री ढुवानी गर्न सहयोग गर्ने गरेका छन् । छिमेकी गाउँमा समस्या परेको बेला सहयोग गर्नु आफुहरुको मानविय धर्म हुने एक जना यातायात व्यवसायीले बताउनुभयो । दिउँसो तुइन सञ्चालन नहुदा दैनिक उपभोग्य बस्नुका सामग्रीको मूल्य पनि आकाशिएको छ । दोब्बर मुल्यमा खाद्यान्न किन्नुपर्ने बाध्यता रहेको स्थानीयले बताएका छन् ।
भारतले तुइन बन्द गरेपछि व्यास गाउँपालिका– २ माल, दुम्लिङ, राप्ला लगायतका बस्तीमा दैनिक उपभोग्य बस्तुको अभाव भएको छ । भारतसंग जोडिएको व्यास गाउँपालिका वडा नम्बर ५ तिग्रममा झोलुगें पुल छ । व्यासको वडा नम्बर ५ र ६ का बासिन्दा त्यही पुल तरेर भारत आवातजावत गर्छन । तर वडा नम्बर २, ३ र ४ का स्थानीयलाई तिग्रम पुल तरेर गाउँसम्म जान घुमाउरो र जोखिमपूर्ण बाटोको सामना गर्नुपर्छ । ठाउँठाउँमा पहिरो गएर हिडेर जान समेत अप्ठ्यारो बाटोमा भारी बोक्न सकिने अवस्था नरहेको स्थानीयले बताएका छन् ।
व्यास गाउँपालिका–१ छाङरुमा महाकाली नदीस्थित सीतापुलमा काठे पुल छ । छाङरु र तिंकरका बासिन्दा त्यही पुल तरेर भारतबाट दैनिक उपभोग्य वस्तु र अत्यावशकीय सामान ल्याएर आउछन् । तर व्यास गाउँपालिका वडा नम्बर २, ३ र ४ का बासिन्दाका लागि भने नदी तर्ने बिकल्प तुइन मात्रै छ । त्यसैले त्यहाँका बासिन्दा भोकमरी झेलिरहेका छन् । कतिपय बासिन्दा दुइ दिन लगाएर नेपालतर्फबाटै हिडेर गाउँसम्म जाने गरेका छन् । भने खाद्यान्न सामाग्री जोहो गर्न महाकाली नदीमा राति राति तुईन तरेर सामान खरीदका लागि भारत जाने गरेका छन् । राती तुइन लगाएको विषयमा एसएसबीले थाहा पाए दुःख दिने गरेको छ । एसएसबीले विगतदेखि नै दुइनबाट सामान तार्ने क्रममा नेपालीहरुमाथि दुव्र्यवहार गर्ने, सामान जफत गर्ने र कतिबेला त भारतबाट किनेर ल्याएको सामान नै महाकालीमा बगाइदिने गरेको थियो । अहिले जयसिह धामी बेपत्ता प्रकरणमा मुछिएपछि झनै आक्रोशित बनेको छ ।
यो पनि पढ्नुहोस : व्यासको मालगाउँमा फैलियो कोरोनाः ३१ जना संक्रमित फेला
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।




