दार्चुला । व्यासवासी दैनिक उपभोग्य सामाग्री र अत्यावश्यकिय बस्तुहरु खरिद गर्न तुइनको साहारामा महाकाली नदी तर्दै भारतीय बजारमा जाने गरेकोमा भारतीय एसएसबीले तुइन हटाइदिएपछि गाउँमा खाद्यान्न संकट सिर्जना भएको छ । छोटो र सजिलो बाटो नहुदा दार्चुला सदरमुकाम खलंगामा नागरिकता बनाउन र अन्य सरकारी कामकाजका लागि मात्रै झर्छन व्यासवासी। नेपाली भूमी भएर खलंगा पुग्न एक दिन पुरै लाग्छ उनीहरुलाई। पहाडको बाटो सुरक्षीत छैन। जोखिमको यात्रा गर्नुपर्छ। जयसिंह धामी तुइन तर्ने क्रममा महाकालीमा बेपत्ता भएको घटनापछि उनीहरुको लागि भारतको बाटो पनि बन्द भएको छ। भारतको बाटो हुँदै सदरमुकाम आवतजावत गर्ने व्यासवासी अहिले चरम समस्यामा परेका छन्। विगतदेखि सीमामा एसएसबीको दुव्र्यवहार खेप्दै आएका उनिहरुले अहिले थप ज्याजतीको सामना गर्नुपरेको छ ।
नेपालतर्फ बाटो नहुनु र भारतीय सम्पर्कपनि बिच्छेद भएका कारण मालगाउँमा अहिले खाद्यान्नको संकट भएको छ । स्थानीय हरक कार्कीले भन्नुभयो, ‘लगातार ५ घण्टा हिँडेर सुन्सेरा पुगिन्छ, त्यहाँसम्म ट्याक्टरमार्फत खाद्यान्न ढुवानी हुने गरेको छ। तर अहिले वर्षाका कारण बाटो अबरुद्ध भएपछि त्यहाँ पनि खाद्यान्नको अभाव छ। व्याँस गाउँपालिका–२ राप्लास्थित मालगाउँ जोड्ने तुइन बन्द भएको १५ दिन बढी भइसकेको छ। गाउँमा खाद्यान्नको संकट भइसकेको छ। व्यासको वडा नम्बर १, २ र ३ का स्थानीयवासीलाई बढी समस्या भएको व्यास गाउँपालिकाका प्रवक्ता एबं वडा नम्बर २ का वडाअध्यक्ष धिरनसिह बुढाथोकीले बताउनुभयो ।
गाउँमा खाद्यसंकट भएपछि केहिले त लुकीछिपी रातिको समयमा तुइन प्रयोग गरिरहेका छन् तर अन्यले जिल्ला सदरमुकाम खलंगा पुग्न असुरक्षीत बाटोमा जोखिम मोलिरहेका छन्। भएका केही पशलहरुमा नुन, तेल, दाल चामल लगायत उपभोग्य बस्नु नै छैन भने उपलब्ध सामान पनि चर्को मूल्यमा खरिद गर्न मालगाउँवासी बाध्य छन्। एक लिटर तेलको मात्रै ३ सय ७० रुपैयाँ पुगेको स्थानीयले बताएका छन् । तुइन हटेपछि दैनिक उपभोग्य बस्नुको मूल्य समेत आकासिएको छ ।
विगतमा दैनिक उपभोग्य सामग्री भारतबाटै ल्याउन सजिलो हुने गरेको थियो । अहिले तुइन हटाइदा धेरैको घरमा छाक टार्न चामल, पिठो अभाव भएको छ । कतिपयले जेनतेन छाक टारीरहेको र धेरैले भोकै बस्नुपर्ने बाध्यता रहेको स्थानीयको गुनासो छ । खाद्यान्न आपूर्तिका लागि स्थानीय तहसँग पटकपटक आग्रह गर्दा पनि कुनै वास्ता नगरेको स्थानीयको गुनासो छ। व्यास गाउँपालिकाको वडा नम्बर २ राप्लामा तीन सय बढी परिवारको बसोबास छ। माल गाउँमा मात्रै ७० बढी परिवार बसोवास गर्छन्। व्यासको राप्ला, दुम्लीङ लगायतका क्षेत्र भौगोलीक हिसाबले एकदमै विकट छन्। विकट गाउँहरुमा खाद्यान्न ढुवानीको प्रयास गरिरहेको भएपनि अहिलेसम्म सम्भव नभएको व्यास गाउँपालिका अध्यक्ष दिलिपसिह बुढाथोकीले बताउनुभयो । उहाँले खाद्यान्न आपुर्तीका लागि सरकारसंग पटकपटक अनुरोध गरिएको बताउनुभयो ।
उक्त क्षेत्रमा नेपालबाट खाद्यान्न ढुवानी गर्न बाटो नहुँदा समस्या भएको हो। तत्कालका लागि हेलिकोप्टरबाट भएपनि खाद्यान्न ढुवानी गरिदिन स्थानीयले माग गरेका छन्। सदरमुकामबाट मालगाउँ ५५ किलोमिटर टाढा रहेको छ। वर्षाका कारण खलंगाबाट सुन्सेरा जोड्ने सडक अबरुद्ध हुँदा खाद्यान्न ढुवानी ठप्प छ।
स्थानीय प्रशासनले व्यास गाउँपालिकामा खाद्यान्न अभाव भएको विषयमा जानकारी गराउँदै ढुवानीको व्यवस्था मिलाइदिन आग्रह गरे पनि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बेवास्ता गरेको छ । ११ साउनमा दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीलाई पत्राचार गर्दै व्यास गाउँपालिका–१ मा शीघ्र खाद्यान्न आपूर्तिको व्यवस्था गरिदिन आग्रह गर्नुभएको थियो ।
तर प्रमुख जिल्ला अधिकारी जोशीले पत्राचार गरेको २० दिन बित्दा समेत कुनै सुनवाइ नभएपछि आइतबार फेरि पत्राचार गर्दै तत्काल खाद्यान्न आपूर्तिको व्यवस्था मिलाइदिन आग्रह गरेका छन् । व्यास गाउँपालिका–१ मा गत वर्ष समेत सरकारबाट स्वीकृत पाँच सय क्वीन्टल चामल ढुवानी नभएको पनि पत्रका उल्लेख गरिएको छ । आइतबारको पत्रमा प्रजिअ जोशीले गाउँपालिका कार्यालयबाट लिखित तथा मौखिक रुपमा अनुरोध भइआएकाले हवाई सेवा मार्फत भए पनि तत्काल पाँच सय क्वीन्टल चामल र गहुँको ढुवानी गरिदिन भन्नुभएको छ ।
‘भौगोलिक विकटता, हिमपात समेतको जोखिम र नेपालतर्फ खाद्यान्नको ढुवानीको वैकल्पिक सडक बाटो समेत नभएकाले खाद्यान्नको चरम अभावका कारण सम्बन्धित क्षेत्रका आम नागरिकलाई पर्न सक्ने कठिनाइ तथा खाद्यान्न अभावको महामारी समेतलाई दृष्टिगत गरी छिटो साधन हेलिकप्टरद्वारा तत्काल ढुवानीको व्यवस्था मिलाइदिन अनुरोध छ,’ प्रजिअले लेखेको पत्रमा उल्लेख छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी धनगढीले भने केन्द्रीय कार्यालयमा व्यासको समस्याबारे जानकारी गराइसकेकाले चाँडै खाद्यान्न ढुवानी गरिने बताउँदै आएको छ ।
यो पनि पढ्नुहोस : तुइन बन्द भएपछि व्यासमा खाद्यान्न संकट, सीतापुलमा एसएसबीको ज्यादती
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।




