दार्चुला । लेकम गाउँपालिकामा नेकपा (एमाले) ले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । एमालेबाट दार्चुलाको लेकम गाउँपालिका अध्यक्ष पदका उम्मेदवार परमानन्द जोशीले चुनावी घोषणापत्र सार्वजनिक गर्नुभएको हो । लोकतन्त्र दिवसको दिन आइतबार अध्यक्ष पदमा उम्मेदवारी मनोनयन दर्तासंगै एमालेको तर्फबाट लेकम गाउँपालिकाको प्रतिवद्धता तथा घोषणापत्र जारी गरिएको निर्वातमान लेकम गाउँपालिका अध्यक्ष समेत रहनुभएका एमाले नेता जोशीले बताउनुभयो ।
शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र स्वरोजगारी समृद्धिको आधारः सडक, विद्युत, सञ्चार, खानेपानी विकासका पुर्वाधार भन्ने स्लोगनसहित विकास र समृद्धिका विभिन्न क्षेत्र, योजना तथा कार्यक्रम समेटिएको घोषणापत्र सार्वजनिक गर्नुभएको हो । कृषि र स्वरोजगारीको क्षेत्रमा भूमिको वैज्ञानिक व्यवस्थापन, आधुनिक कृषि र सम्पन्न किसान कार्यक्रम सञ्चालन गरेर एक बर्षभित्र प्रतेक वडामा कम्तिमा २५ जना आत्मनिर्भर कृषक उत्पादन गर्न गाउँपालिकाबाट विशेष कार्यक्रम सञ्चालन गर्ने । कृषि क्षेत्रसंग सम्बन्धित विभिन्न पकेट क्षेत्रहरु पहिचान गरि कार्यक्रमहरु सञ्चालन गर्ने । बाँझो भूमिमा कृषि उत्पादनको लागि Dig For Prosperous Lekam कार्यक्रम सञ्चालन गर्ने घोषणापत्रमा उल्लेख छ । यस्तै एक गाउँ एक कृषि र पशु प्राविधिकको व्यवस्था गर्ने, खेतियोग्य कृषि भूमिमा पानीः सिँचाइमा लगानी गरेर बाँझो खेतको सदुपयोग गर्ने । दुई वर्षभित्रमा लेकमलाई खाद्यान्न, तरकारी, फलफुल, मासु, माछा, दुग्धपदार्थ, ओखर, मह, लगायतमा आत्मनिर्भर बनाउदै खुद निर्यातकर्ता पालिकाको रुपमा विकास गर्ने । बेरोजगारी समस्या समाधान गर्दै कृषिको माध्यमबाट लेकमको समृद्धि खोज्ने । फलफुल, तरकारी खेती र पशुपालनमा जोड दिने घोषणापत्रमा उल्लेख छ ।
गाउँपालिकाभित्र कालोपत्रे सडक निर्माण गर्ने (गोकुलेश्वर लाली र ऐरीछाना धनथला सडकलाई तीन बर्षभित्र कालोपत्रे गर्ने ।), सबै वडा जोड्ने सडकहरुको स्तरोन्नती गर्ने र आवश्यक गाउँहरुमा सडकको ट्र्याक खुलाएर यातायातको पहुँच पुर्याउने । दुई बर्षभित्र धुलोमुक्त लेकम बनाउन विशेष कार्यक्रम सञ्चालन गर्ने । मुख्य सडकबाट नजिकका गाउँहरु जोड्ने पीसीसी र घोरेटो बाटाहरु निर्माण गर्ने घोषणापत्रमा उल्लेख छ ।
उज्यालो लेकम कार्यक्रम अन्तरगत एक बर्षभित्र विद्युतिकरण हुँन बाँकी घरधुरीमा बिजुली पुर्याउने । धुवामुक्त लेकम, बैकल्पीक र नविकरणिय उर्जाका लागि कार्यक्रमहरु सञ्चालन गर्ने । सिरोडामा विद्युत शवस्टेशन निर्माणसम्पन्न गरेर उज्यालो लेकम बनाउने प्रतिबद्धता घोषणापत्रमा उल्लेख छ ।
सर्बसुलभ शिक्षाका लागि कार्यक्रम सञ्चालन गर्ने । गाउँपालिकाभित्र स्टेडियमसहितको सुविधासम्पन्न खेलमैदान निर्माण गर्ने, विद्यालयहरुमा ब्रोडब्यान्ड इन्टरनेट सेवा, माद्यमिक विद्यालयमा विद्युतिय हाजिरिको व्यवस्था गर्ने र आवश्यक पुर्वाधार निर्माण गरिने, शैक्षिक गुणस्तर सुधारका लागि गाउँपालिकास्तरीय विशेष संयन्त्र निर्माण र परिचालन गर्ने, प्रतेक आधारभुत विद्यालयमा बाल उद्यान निर्माण, माद्यमिक विद्यालयहरुमा अध्ययन कक्षसहितको पुस्तकालय, कम्प्युटर प्रयोगशाला र विज्ञान प्रयोगशालाको व्यवस्था गर्ने, प्रतेक विद्यालयमा अभिभावक डायरी, शिक्षक डायरी, गृहकार्य पुस्तीका लगायत शैक्षिक क्षेत्र सुधारका नविनतम कार्यक्रम लागु गर्ने अध्यक्ष जोशीले सार्वजनिक गरेको घोषणापत्रमा उल्लेख गरिएको छ । गाउँपालिकाभित्र स्नातक तहको प्राविधिक कलेज स्थापना तथा सञ्चालन गर्ने । उच्च शिक्षा र प्राविधिक शिक्षा अध्ययनको लागि गरिब, दलित, पिछडिएको बर्ग र महिलाको लागि आवश्यक छात्रबृतिको व्यवस्था गर्ने । युवा, विद्यार्थीसंग गाउँपालिका अध्यक्ष कार्यक्रम सञ्चालन गर्ने कुरा घोषणापत्रमा समेटिएको छ ।
रिठाचौपातामा १० शैय्याको आधारभुत अस्पताल निर्माण सम्पन्न गर्दै एमबिबिएस डाक्टरसहित स्वास्थ्य सेवा सञ्चालन गर्ने र सबै स्वास्थ्यसंस्थाको स्तरोन्नती गर्दै गुणस्तरीय स्वास्थ्य सेवा दिने । स्वास्थ्य इकाइ र बर्थिङ सेन्टर थप गर्ने र भएकालाई व्यवस्थित गर्ने बताइएको छ ।
गोकुलेश्वर लाली र ऐरीछाना धनथला सडक कालोपत्रे गरेर दुबै सडकमा गाउँपालिकाको सार्वजनिक माइक्रो बस सेवा सञ्चालन गरेर जनतालाई न्यूनतम शुल्कमा यातायात सुविधा उपलब्ध गराउने । गाउँपालिकाभित्र सुविधासम्पन्न बसपार्क निर्माण गर्ने घोषणापत्रमा उल्लेख छ ।
गाउँपालिकाभित्र हेलिप्याड निर्माण, तालिम केन्द्र स्थापना गर्ने, लालीमा भन्सार कार्यालय स्थापनाका लागि पहल गर्ने, लालीलाई दुई देशिय व्यापारीक नाकाका रुपमा विकास गर्ने र समृद्ध लेकमका लागि आवश्यक विभिन्न पुर्वाधार निर्माण गर्ने घोषणापत्रमा उल्लेख गरिएको छ ।
तीन बर्षभित्र लेकम गाउँपालिकाभित्र एक घर, एक धारा निर्माण गर्दै खानेपानीको समस्या आमरुपमा समाधान गर्ने, नमुना गाउँ र सरसफाइयुक्त लेकम कार्यक्रम लागु गर्ने, प्रतेक वडामा सुपथ मुल्य पशल सञ्चालन गर्ने । असहायलाई विशेष सहुलियत गर्ने घोषणापत्रमा उल्लेख छ ।
विकास निर्माणका साथै संस्कृति संरक्षण, बिकृति नियन्त्रण र सामाजिक सुरक्षा व्यवस्थापनका लागि प्रतेक वडामा युवाहरुको जनस्वयमसेवक दस्ता बनाएर श्रम शिविर सञ्चालन गर्ने। त्यसका लागि गाउँपालिकाबाट कार्यविधि तयार गरेर बजेट व्यवस्थापन गर्ने, पर्यटकिय सम्भावना बोकेका ठाउँहरुमा पर्यटन पुर्वाधार निर्माण गर्ने, आवश्यक प्रचारप्रसार गर्ने र डाइभरसिटि पार्क, अतिथि गृह तथा होमस्टेहरु निर्माण गर्ने गर्ने, स्वयमसेविकालाई विशेष प्रोत्साहन, निजि स्रोतका कर्मचारीलाई पोशाक र संचयकोषको व्यवस्था गर्ने, निजि स्रोतका शिक्षकहरुको थप व्यवस्थापन गर्ने घोषणापत्रमा उल्लेख छ ।
सबै वडाहरु र गाउँपालिकाभित्रका कार्यालयहरुमा ब्रोडब्यान्ड इन्टरनेट सेवा र विद्युतिय हाजिरिको व्यवस्था गर्ने, सुशासन, जनमैत्री सेवा विस्तार तथा व्यवस्थापनका लागि आवश्यक जनशक्ति व्यवस्थापन र पुर्वाधार निर्माण गर्ने कुरा उल्लेख गरिएको छ ।
महिला, दलित, गरिब, अपाङ्गता भएका व्यक्ति र पिछडिएका क्षेत्रका बासिन्दाहरुका लागि एक घर एक रोजगार कार्यक्रम सञ्चालन गर्न हरेक वडामा बरोजगारहरुको सूचि तयार गर्ने, रोजगारीका सम्भावनाहरुको सम्भाव्यता अद्ययन गर्ने, सिपमुलक तालिम र स्वरोजगारीका विभिन्न योजना तथा कार्यक्रमहरु सञ्चालन गर्ने । महिला सशक्तिकरणका लागि गाउँपालिकास्तरीय अभियान सञ्चालन गर्ने । महिनावारी स्वच्छता कार्यक्रम लागु गर्ने उल्लेख छ ।
सबै असहाय, वृद्ध, बालक, अपाङ्गता भएका व्यक्ति, पिछडिएका क्षेत्रका बासिन्दा, दलित, एकल महिला सिमान्तकृत, तथा लोपोन्मुख जाति, जनजाति तथा गरिबीको रेखा मुनि रहेका सबै व्यक्तिहरुलाई सम्वोधन गर्ने गरी प्रभावकारी सामाजिक सुरक्षा कार्यक्रम लागु गर्ने । एकल पुरुषलाई समेत सामाजिक सुरक्षा भत्ता (विदुर भत्ता) को व्यवस्था गर्ने उल्लेख छ ।
सञ्चार समस्या समाधान गर्नका लागि गाउँपालिकाभित्र दुई वटा टावर थप निर्माण गर्ने र सबै टावरबाट एक बर्षभित्र फोर जी सेवा सञ्चालन गर्ने । घरघरमा सञ्चार सेवा प्रदान गर्ने प्रतिवद्धता घोषणापत्रमा उल्लेख छ ।
गाउँपालिकाभित्र २४ सैँ घण्टा एम्बुलेन्स र सव बाहन सेवा प्रदान गर्ने, भू–क्षय र बाढी पहिरो नियन्त्रणका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने, भ्रष्टाचारमा सून्य सहनशिलता, जनश्रमदानको अवधारणलाई आधुनिकिकरण गर्ने, गाउँगाउँमा सहकारी–घरघरमा रोजगारीको व्यवस्था गरिने छ । एक टोल एक उद्यम– एक टोल एक उत्पादन, बेरोजगारीको अन्त्य, गरिबीको निवारण कार्यक्रम लागू गरिने छ । स्वरोजगार र श्रम पहिचान, समृद्ध लेकम निर्माणको अभियान कार्यक्रम सञ्चालन गर्ने घोषणापत्रमा उल्लेख छ ।
समृद्धिका लागि वन कार्यक्रम सञ्चालन गरेर गाउँगाउँमा बृक्षारोपण कार्यक्रम सञ्चालन गर्ने, वन तथा जैविक विविधताको क्षेत्रमा योजना बनाएर काम गरिने, लेकम योजना आयोग गठन गरेर विकास निर्माणमा योजनाबद्ध काम गरिने र लेकमको भौतिक, आर्थिक, सामाजिक, वातावरणिय लगायत हरेक क्षेत्रमा नमुना काम गर्न निर्वाचित भएको एक महिना भित्र आवश्यक सबै ऐन, कानुन, नियम, कार्यविधिहरु निर्माण गरेर दु्रत गतिमा काम गर्ने÷गराउने प्रतिवद्धता घोषणापत्रमा उल्लेख गरिएको छ ।
हेर्नुहोस एमाले लेकम गाउँपालिकाको घोषणापत्रको पूर्णपाठ




सम्बन्धित समाचार: लेकमका अध्यक्ष जोशीद्धारा आफ्नो कार्यकालमा भएका प्रमुख कामहरु सार्वजनिक (पूरा पढ्नुहोस)
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।




