दार्चुला । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दार्चुलाले जिल्लाभर व्यापक खोप अभियान सञ्चालन गर्ने भएको छ। घरपालुवा पशुहरुलाई महामारीजन्य रोगबाट जोगाउन मंसिर २ गतेदेखि अभियान सुरु गरिने केन्द्रका निमित्त कार्यालय प्रमुख लालबहादुर बोहराले जानकारी दिनुभयो।
उहाँका अनुसार गाई, भैसी, भेडा, बाख्रा, याक र चौरी लगायतका पशुमा एफएमडी (खुरपाका), पिपिआर, लम्पी स्किन, स्वाइन फिवर लगायत रोगविरुद्ध खोप लगाइनेछ।
चालु आर्थिक वर्षभित्र ५० हजार गाई–भैसी र ४० हजारभन्दा बढी याक–चौरीलाई खोरेत (एफएमडी) रोग नियन्त्रणका लागि खोप दिने लक्ष्य राखिएको छ। त्यस्तै ३० हजार लम्पी स्किन, ९० हजार भेडा–बाख्रामा पिपिआर, र बङ्गुरमा फैलिने स्वाइन फिवर विरुद्ध ६ सय मात्रा खोप लगाइने केन्द्रले जनाएको छ।
गत आर्थिक वर्ष २०८१/८२ मा जिल्लाभर ६६ हजार ५ सय पिपिआर, १९ हजार ७ सय एफएमडी, १७ हजार ५ सय एलएसडी र ४ सय ३३ रेबिजसहित कुल १ लाख ३७ हजार मात्रा खोप लगाइएको थियो।
केन्द्रका अनुसार यस वर्षको अभियान अझ प्रभावकारी बनाइने र सबै स्थानीय तहमा खोप पहुँच सुनिश्चित गरिने छ।




