दार्चुला । नेकपा (एमाले) ले दार्चुलाका नौँ वटै स्थानीय तहमा जनजागरण अभियान तथा कार्यक्रता भेला गरेको छ । मंगलबार (आज) ‘प्रतिगामी षडयन्त्रविरुद्ध’ एमालेको जनपरिचालन कार्यक्रम अन्तर्गत जिल्लाका नौँ वटै स्थानीय तहमा जनजागरण तथा कार्यक्रता भेला गरिएको हो ।
प्रतिगामी षडयन्त्रविरुद्ध एमालेले देशैभर जनपरिचालन गर्ने निर्णय गरे अनुसार दार्चुलामा पनि वडा र पालिका भेला गरिएको नेकपा (एमाले) दार्चुलाका जिल्ला कमिटी अध्यक्ष ज्ञानेन्द्र घर्तीले जानकारी दिनुभयो । जिल्लाका नौँ वटै पालिकामा कार्तिक २५ गते जनजागरण अभियान तथा कार्यक्रता भेला गर्ने निर्णय अनुसार नै आज भव्य ढंगले कार्यक्रम सञ्चालन गरिएको उहाँले बताउनुभयो ।
महाकाली नगर कमिटीले जिल्ला सदरमुकाम खलंगामा आयोजना गरेको कार्यक्रममा नगर कमिटी कार्यवाहक अध्यक्ष मिलन अवस्थीको अध्यक्षता रहेको थियो भने एमाले पोलिटब्यूरो सदस्य तथा पूर्व मन्त्री गणेश सिंह ठगुन्ना प्रमुख वक्ता रहनुभएको थियो । कार्यक्रममा बोल्दै नेता ठगुन्नाले कार्तिक २९ गतेको जिल्ला स्तरीय जनजागरण भेलाको व्यापक तयारी गर्न सम्पुर्ण नेता कार्यक्रतामा आग्रह गर्नुभयो । त्यस्तै उहाँले ‘प्रतिगामी षडयन्त्रविरुद्ध’ संबिधान र लोकतन्त्रको रक्षाको लागि जागरुक हुने बेला आएको धारणा राख्नुभयो । कार्यक्रममा प्रदेश कमिटी सदस्य हिरा देवी अवस्थी लगायत करिब २ सय जना नेता कार्यक्रताको सहभागिता रहेको अनेरास्ववियु दार्चुलाका अध्यक्ष नरेन्द्र प्रसाद जोशीले बताउनुभयो ।
शैल्यशिखर नगरपालिकामा नगरकमिटी अध्यक्ष अध्यक्ष मनोरथ जोशीको अध्यक्षतामा कार्यक्रम सञ्चालन भएको नगरकमिटी सचिव गोपालसिंह गोयलले बताउनुभयो। गोकुलेश्वरमा सम्पन्न कार्यक्रममा जिल्ला कमिटी पूर्व अध्यक्ष राम दत्त जोशी प्रमुख वक्ता रहनुभएको थियो । एमाले नयाँ कार्यक्रमसहित जनताको बीचमा आएको उहाँको भनाइ छ।
त्यस्तै जिल्लाको नौगाड गाउँपालिकाको होपरीगाडमा सञ्चालन भएको कार्यक्रममा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्य प्रेम सिंह धामी प्रमुख वक्ता रहनुभएको थियो भने कार्यक्रममा प्रदेश कमिटी सदस्य लालबहादुर धामी, जिल्ला कमिटी सचिवालय सदस्य मंगलसिंह धामी र जनक ठगुन्ना लगायत वक्ता सहभागिता रहेको प्रदेश कमिटी सचिवालय सदस्य प्रेम सिंह धामीले जानकारी दिनुभयो ।
त्यस्तै अपिहिमाल गाउँपालिकामा गाउँ कमिटी अध्यक्ष धार्मानन्द मन्यालको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा एमाले प्रदेश कमिटी सदस्य उर्मिला बोहरा प्रमुख वक्ता रहनुभएको थियो ।
मार्मा गाउँपालिकामा गाउँकमिटी अध्यक्ष पुस्कर सिंह विष्टको अध्यक्षता र प्रदेश कमिटी सदस्य देव सिंह महर प्रमुख वक्ता रहनुभएको जिल्ला कमिटी सचिवालय सदस्य खेमराज जोशीले बताउनुभयो ।
मालिकार्जुन गाउँपालिकामा गाउँकमिटी अध्यक्ष चक्र सिंह धामीको अध्यक्षमा रहेकोमा एमाले केन्द्रीय कमिटी सदस्य हरदेव जोशी प्रमुख वक्त रहनुभएको थियो । गाउँपालिका अध्यक्ष तथा एमाले प्रदेश कमिटी सदस्य हिरासिंह धामी सहित नेता कार्यकर्ताको सहभागीता रहेको थियो ।
दुहुँ गाउँपालिकामा गाउँकमिटी अध्यक्ष उदय सिंह बडालको अध्यक्षतामा कार्यक्रम सञ्चालन भएको थियो भने जिल्ला कमिटी अध्यक्ष ज्ञानेन्द्र घर्ती प्रमुख वक्ता रहनुभएको थियो।
लेकम गाउँपालिकामा गाउँकमिटी अध्यक्ष पुष्प राज जोशीको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको प्रमुख वक्ता जिल्ला कमिटी उपाध्यक्ष तथा लेकम इन्चार्ज परमान्नद जोशी रहनुभएको थियो।
व्याँस गाउँपालिकामा गाउँकमिटी अध्यक्ष निर्मला धामीको अध्यक्षता रहेकोमा प्रदेश कमिटी सदस्य नागेन्द्र सिंह तिंकरी प्रमुख वक्ता रहनुभएको थियो ।
यसअघि कात्तिक २२ गते एमालेले जिल्लाका ६१ वटै वडाहरुमा भेला आयोजना गरेको थियो । भेलामा भदौ २३ र २४ गतेपछि विकसित राजनीतिक घटनाक्रम, संसदको गैरसंवैधानिक विघटन र एमालेको आगामी बाटोका बिषयमा कार्यकर्ताहरुलाई प्रष्ट पारिएको एमाले दार्चुलाका कार्यालय सचिव नारायणदत्त भट्टले बताउनुभयो।
एमालेले कार्तिक २९ गते हुने जिल्ला स्तरीय भेलाको भव्य तयारी गर्न पार्टीका नेता कार्यक्रतालाई आग्रह गरेको छ ।
आजको कार्यक्रम जिल्लास्तरीय आमसभा, मंसिर ६ गते काठमाडौँमा हुने जनप्रदर्शन र आगामी महाधिवेशनको प्रचारको रुपमा पनि रहने एमालेले जनाएको छ।





प्रतिक्रिया