दार्चुला । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जिल्ला सभापतिमा राजेश सिंह सामन्त र उपसभापतिमा सुरेन्द्र बहादुर खडायत चयन हुनुभएको छ । सोमबार (आज) जिल्ला सदरमुकाम खलंगामा आयोजना भएको रास्वपाको दोस्रो जिल्ला भेलाबाट सामन्तलाई सभापति र खडायतलाई उपसभापतिमा पदपुर्ती गरेको हो ।
नेपाली कांग्रेश निकट शिक्षक संघ र शिक्षक महासंघ दार्चुलाका पूर्व अध्यक्ष समेत रहनुभएका सामन्तले अब सशक्त ढंगले रास्वपामा क्रियाशील भएर काम गर्ने बताउनुभयो । दार्चुलाका साथीहरुको मायाले रास्वपाको जिम्मेवारीमा आएको बताउदै उहाँले सबैको सहयोगमा दार्चुलामा संगठन विस्तार गर्ने धारणा राख्नुभयो । दार्चुलाको विकासका लागि वडास्तरबाट सुझाव संकलन गरेर माथि पुर्याउने र घण्टीमय बनाउने सामन्तको भनाई छ ।
विगत लामो समयदेखी कांग्रेश निकट शिक्षक संघमा क्रियाशील रहनुभएका सामन्तले कांग्रेशबाट फर्काउन प्रयास गरेपनि अब कतै नजाने र क्रियाशील हुँदासम्म रास्वपामै काम गर्ने स्पष्ट पार्नुभयो । रास्वपा सभापति रवि लामिछानेमाथि प्रतिशोध भएको उहाँको भनाई छ । पछिल्लो समय रास्वपा वा रविको छवी केही धमेलिएको स्वीकार गर्दै उहाँले रवी लामिछाने, आफु वा अरु कसैको मृत्यु भएपनि रास्वपा नसकिने स्पष्ट पार्दै संकटको बेला साथ छोड्नुभन्दा साथ दिने आफ्नो स्वभाव रहेको बताउनुभयो । रास्वपा छोडेका सुमनाहरुले समेत पार्टीमा फर्किनुपर्ने उहाँको भनाई छ । स्वास्थ्य प्रतिकुल हुँदा समेत धेरै साथीहरुको आग्रह आएपछि आफु सक्रिय राजनीतिमा आएको बताउदै स्वास्थ्यले साथ दिएसम्म खटिएर काम गर्ने सामन्तले स्पष्ट पार्नुभयो ।
जिल्ला भेलामा रास्वपा सुदूरपश्चिम प्रदेश सभापति इन्जिनियर प्रकाश बिष्ट, प्रदेश महामन्त्री सन्तोष जोशी, संस्थापक महामन्त्री भोजराज जोशी (क्वालिटी) सहित जिल्लास्तरीय नेताहरूको आतिथ्यता रहेको थियो। पछिल्लो समय रास्वपाले दार्चुलामा संगठन विस्तार अभियान तिब्र पारेको छ । रास्वपाले चुनाव केन्द्रीत भएर काम गर्ने प्रदेश महामन्त्री जोशीले बताउनुभयो ।





प्रतिक्रिया