दार्चुला । दार्चुलाको व्याँस गाउँपालिका–४, मडगाउँमा वर्षापछि जमिन धसिँदा झण्डै तीन दर्जन घरमा क्षति पुगेको छ। केही घरहरू भत्केका छन भने धेरै घरहरूमा गम्भीर दरार परेपछि १२ परिवार विस्थापित भएका छन्। उनीहरू अहिले त्रिपालमुनि कष्टकर जीवन बिताउन बाध्य छन्।
प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी लिन प्रतिनिधिसभा सदस्य गणेश सिंह ठगुन्ना, प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेल, गाउँपालिका अध्यक्ष मंगलसिंह धामीसहित जनप्रतिनिधि र सुरक्षा अधिकारीहरूको टोलीले (बिहीबार) आज स्थलगत निरीक्षण गरेको छ। निरीक्षणपछि प्रभावित परिवारको राहत, सुरक्षित बसोबास र पुनःस्थापनाका लागि आवश्यक पहल गर्ने निर्णय गरिएको छ।
दशैं–तिहारपछि भूगर्भविद्को टोली आएर जमिनको अवस्थाबारे अध्ययन गरिने जनाइएको छ। वर्षाले घर चर्किएपछि स्थानीयको बास मात्र खोसिएको छैन, सुरक्षित भविष्यप्रतिको चिन्ता पनि बढेको वडाअध्यक्ष झुनसिंह बिष्टले बताउनुभयो।
जोखिममा रहेका घर र विस्थापित परिवारको समस्यालाई ध्यानमा राख्दै तत्काल राहत र दीर्घकालीन पुनःस्थापनाको व्यवस्था गर्नुपर्ने आवश्यकता देखिएको छ। स्थानीयहरूले सुरक्षित आवास र भविष्यको माग राख्दै सहयोगका लागि अपिल गरेका छन्।
विपदपछि मडगाउँमा जोखिमपूर्ण अवस्था रहेकोले राहत र सुरक्षित बसोबासका लागि आवश्यक पहल गरिने सांसद गणेशसिंह ठगुन्नाको भनाइ छ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया