दार्चुलाको लेकम गाउँपालिकाद्वारा नदीजन्य पदार्थ बिक्री शुल्क संकलनका लागि ठेक्का आह्वान

दार्चुला — दार्चुलाको लेकम गाउँपालिकाले महाकाली र चमेलिया नदीका विभिन्न घाटबाट नदीजन्य पदार्थ उत्खनन तथा बिक्री शुल्क संकलनका लागि आन्तरिक आयको ठेक्का आह्वान गरेको छ। गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि तीनवटा घाटको ठेक्का प्रक्रिया अघि बढाएको हो।

गाउँपालिकाको योजना शाखाले सार्वजनिक गरेको सूचनाअनुसार चमेलिया नदीको वडा नम्बर १ स्थित सुग्गरु दानुगाड क्षेत्र, महाकाली नदीको वडा नम्बर ३ स्थित लालीघाट र चमेलिया नदीकै वडा नम्बर १ स्थित चोचेबगर–बरिगाड क्षेत्रमा नदीजन्य पदार्थ उत्खनन तथा बिक्री शुल्क संकलनका लागि बोलपत्र आह्वान गरिएको छ।

तीनवटै ठेक्काका लागि गाउँपालिकाले न्यूनतम बोलपत्र रकमसमेत निर्धारण गरेको छ। सुग्गरु दानुगाड क्षेत्रको ठेक्काका लागि मूल्य अभिवृद्धि करबाहेक ८३ लाख ९९ हजार ५६५ रुपैयाँ ७० पैसा, लालीघाटका लागि ६१ लाख ७ हजार ८१४ रुपैयाँ ७२ पैसा र चोचेबगर–बरिगाड क्षेत्रका लागि ४७ लाख १२ हजार ५८९ रुपैयाँ ५० पैसा न्यूनतम बोलपत्र रकम तोकिएको सूचनामा उल्लेख छ।

सूचनाअनुसार सुग्गरु दानुगाड क्षेत्रमा २ करोड ९ लाख ९८ हजार ९१६ घनफिट, लालीघाट क्षेत्रमा १५ लाख २६ हजार ९५३ दशमलव ६८ घनफिट र चोचेबगर–बरिगाड क्षेत्रमा ११ लाख ७८ हजार १४७ दशमलव ३८ घनफिट नदीजन्य पदार्थ उत्खनन हुने अनुमान गरिएको छ। उत्खनन तथा बिक्री भने निर्धारित मापदण्ड र गाउँपालिकाले तोकेको दरअनुसार गर्नुपर्नेछ।

गाउँपालिकाले यसअघि भदौ १८ गते पहिलो पटक र असोज २ गते दोस्रो पटक सूचना प्रकाशित गरेको थियो। असोज २८ गते तेस्रो पटक सूचना प्रकाशित गर्दै योग्य बोलपत्रदातालाई प्रक्रियामा सहभागी हुन आह्वान गरिएको हो।

बोलपत्रदाताले कात्तिक ११ गते कार्यालय समयभित्र बोलपत्र खरिद गर्नुपर्नेछ भने कात्तिक १२ गते दिउँसो १२ बजेसम्म बोलपत्र दर्ता गरिसक्नुपर्नेछ। सोही दिन दिउँसो २ बजे बोलपत्र खोल्ने समय निर्धारण गरिएको गाउँपालिकाले जनाएको छ।

सार्वजनिक खरिद अनुगमन कार्यालयको सूचनाअनुसार विद्युतीय खरिद प्रणालीमा समस्या देखिएपछि मर्मत तथा सुधार कार्य भइरहेको अवस्थामा यस पटक बोलपत्रसम्बन्धी कारबाही हार्डकपी अर्थात् कागजी माध्यमबाट हुने सूचनामा उल्लेख छ।

बोलपत्रमा सहभागी हुन इच्छुक फर्म वा कम्पनीले फर्म नवीकरण प्रमाणपत्र, मूल्य अभिवृद्धि कर दर्ता प्रमाणपत्र, कर चुक्ता वा कर विवरण पेस गरेको प्रमाण, कानुनी रूपमा योग्य रहेको घोषणापत्र, अख्तियारनामा र नेपाली नागरिकताको प्रतिलिपिलगायत आवश्यक कागजात पेस गर्नुपर्नेछ। धरौटी रकम सम्बन्धित ठेक्काको कबोल अंकको पाँच प्रतिशत हुने जनाइएको छ।

ठेक्कासम्बन्धी विस्तृत विवरण लेकम गाउँपालिकाको आधिकारिक वेबसाइट www.lekammun.gov.np बाट प्राप्त गर्न सकिने गाउँपालिकाले जनाएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?