दार्चुला । सरकारले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीसँग राजीनामा माग गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयबाट राजीनामाका लागि दबाब बढेपछि कार्की कानुनी परामर्शमा जुट्नुभएको स्रोतले जनाएको छ।
प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार संदिग्ध गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ पर्नुभएका इनम सापकोटासँग जोडेर कार्कीमाथि राजीनामाको दबाब बढाइएको हो। आइतबार नै प्रधानमन्त्रीको सचिवालयबाट कार्कीलाई राजीनामा दिन अनुरोध गरिएको स्रोतको दाबी छ।
सचिवालयका एक जिम्मेवार व्यक्तिले राजीनामा नदिए पदबाट हटाउनुपर्ने हुन सक्ने सन्देश दिएको स्रोतले जनाएको छ। त्यसपछि कार्कीले केही कानुन व्यवसायीसँग छलफल गर्दै पदबाट हटाइएमा त्यसलाई कानुनी प्रक्रियाबाट चुनौती दिन सकिने विषयमा परामर्श गर्नुभएको बताइएको छ।
छलफलमा सहभागी एक कानुन व्यवसायीका अनुसार पदबाट हटाउनुअघि नै मुद्दा वा निवेदन दायर गर्नु उपयुक्त नहुने सुझाव दिइएको थियो। सरकारले पदबाट हटाएपछि त्यसविरुद्ध कानुनी प्रक्रिया अघि बढाउन सकिने सुझाव कानुन व्यवसायीले दिएको स्रोतको भनाइ छ।
मन्त्रिपरिषद् बैठक पनि प्रभावित
प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार सोमबार बस्नुपर्ने मन्त्रिपरिषद्को नियमित बैठक यही विषय टुंगो नलागेका कारण सारिएको थियो।
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने तीर्थाटनका क्रममा भारतमा रहनुभएको र उहाँ फर्किएपछि बस्ने मन्त्रिपरिषद् बैठकबाट आवश्यक निर्णय गर्ने तयारी गरिएको स्रोतले जनाएको छ।
आईजीपी कार्कीबारेको निर्णयमा लामिछाने निर्णायक बन्न सक्ने अवस्था रहेको स्रोतको दाबी छ।
प्रधानमन्त्री बालेन्द्र शाहले बुधबार अपराह्न मन्त्रिपरिषद् बैठक बोलाउने तयारी गर्नुभएको थियो। तर, बुधबार बैठक नबोलाई बिहीबार नियमित बैठक नै बस्ने गरी सारिएको बताइएको छ।
इनम सापकोटाको पक्राउपछि कार्कीमाथि दबाब
पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको पक्राउपछि उहाँसँग सम्बन्धित व्यक्तिहरूको खोजी गर्ने क्रममा इनम सापकोटा पक्राउ पर्नुभएको थियो।
सापकोटा पक्राउ परेपछि उहाँको मोबाइलको प्राविधिक परीक्षणका क्रममा पक्राउ पर्नुभन्दा ६ दिनअघि आईजीपी कार्कीसँग ह्वाट्सएपमा सम्पर्क भएको दाबी गरिएको छ।
यद्यपि, इनम सापकोटा प्रकरणलाई राजीनामाको दबाबको बहाना बनाइएको र प्रधानमन्त्रीको सचिवालयका केही सदस्य पहिलेदेखि नै कार्कीसँग नकारात्मक रहेकाले उहाँलाई हटाउने उपयुक्त अवसरको खोजीमा रहेको स्रोतको दाबी छ।
स्रोतका अनुसार सचिवालयका केही सदस्यको योजनामा आईजीपी कार्कीविरुद्ध लेखा समितिमा बेनामी उजुरी दर्ता गराएर खगेन्द्र सुनारमार्फत उहाँको आलोचना गर्ने प्रयाससमेत भएको बताइएको छ।
कार्कीले सुनारको आरोपको जवाफ दिने क्रममा ‘हामी कस्ताबाट शासित हुन अभिशप्त छौँ’ भन्नुभएको थियो।
सरकारले आईजीपी कार्कीसँग राजीनामा माग गरेको विषयमा भने सरकार वा प्रधानमन्त्रीको सचिवालयबाट औपचारिक धारणा सार्वजनिक भएको छैन।





प्रतिक्रिया