दार्चुला । दसैँ–तिहारमा सयपत्री फूलको माग बढ्ने समयलाई अवसरका रूपमा लिँदै बैतडीका एक विद्यार्थीले आफ्नै गाउँमा फूलखेती सुरु गरेका छन्। डिलाशैनी गाउँपालिका–५ सेटिगाउँका नवीन राज जोशीले पढाइसँगै सयपत्री फूलखेती गरेर गाउँमै कृषि उद्यम गर्ने प्रयास थालेका हुन्।
गोकुलेश्वर कृषि तथा पशुविज्ञान कलेजमा कृषि विज्ञान स्नातक (बीएस्सी एग्रिकल्चर) अध्ययनरत जोशीले यस वर्ष पहिलो पटक व्यावसायिक रूपमा सयपत्री फूल लगाउनुभएको हो। उहाँले ‘कर्मा ५५५’ जातका ३०० बोट रोप्नुभएको छ।
दसैँको एक–दुई हप्ताअघिबाट फूल उत्पादन हुन थालेको जोशीले बताउनुभयो। उहाँका अनुसार फूलले मंसिरसम्म उत्पादन दिने अनुमान छ। यस वर्ष करिब १०० देखि १२० किलोसम्म फूल उत्पादन हुने अपेक्षा गरिएको छ।
फूलको मूल्य अहिले प्रतिकिलो ३५० देखि ४०० रुपैयाँसम्म रहेको उहाँले बताउनुभयो। दसैँको समयमा केही फूल बिक्री भइसकेका छन्। तिहारलाई लक्षित गरेर बजारको मागबारे अध्ययन गर्दा फूलखेतीको सम्भावना देखिएको उहाँको भनाइ छ।
पढाइसँगै आफ्नै गाउँमा फूलखेती गर्ने जोशीको प्रयास तिहारमा फूल बेच्ने योजनामा मात्रै सीमित छैन। पहाडी क्षेत्रमा पनि व्यावसायिक फूलखेती गर्न सकिन्छ भन्ने सन्देश दिन उहाँ चाहनुहुन्छ। स्थानीय बजारमा फूल पुर्याउने र खेतीलाई विस्तार गर्दै लैजाने उहाँको सोच छ।
आफ्नो फूलखेतीको प्रयासलाई प्रचारप्रसार गर्न सके स्थानीय ग्राहकसम्म फूल पुर्याउन र बजार विस्तार गर्न सहयोग पुग्ने जोशीको विश्वास छ। यसले आफ्नै ठाउँमा कृषि उद्यम गर्न चाहने अन्य युवा तथा किसानलाई पनि प्रेरणा मिल्ने उहाँले बताउनुभयो।
कृषि विषय अध्ययन गरिरहेका जोशीले पढाइबाट सिकेको ज्ञानलाई आफ्नै गाउँमा प्रयोग गर्दै फूलखेती सुरु गर्नुभएको छ। सयपत्रीका ३०० बोटबाट थालेको उहाँको यो प्रयासले गाउँमै कृषि उद्यम गर्ने सम्भावना खोजिरहेको छ।





प्रतिक्रिया