दार्चुला । बंगालको खाडीमा रहेको ‘अर्नव’ चक्रवात अति शक्तिशाली बन्दै गएपछि दार्चुलासहित सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा र हिमपातको जोखिम बढेको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाले आगामी कार्तिक १२ गते बिहीबार रातिदेखि १४ गते शनिबारसम्म उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।
प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलद्धारा जारी सूचना अनुसार नेपाल मौसम विज्ञान विभाग तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्राप्त बुलेटिनका आधारमा जिल्ला प्रशासन कार्यालयले बुधबार सार्वजनिक सूचना जारी गर्दै चट्याङ, हावाहुरीसहित वर्षा तथा उच्च पहाडी र हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम रहेको जनाएको हो ।
सम्भावित जोखिम न्यूनीकरणका लागि पर्यटकहरूलाई उच्च पहाडी तथा हिमाली क्षेत्रमा नजान र गइसकेको भए जोखिम अवधिभर सुरक्षित स्थानमा रहने व्यवस्था मिलाउन प्रशासनले आग्रह गरेको छ ।
हिमपातको उच्च जोखिममा रहेका छाङरु, टिंकर, व्याँस, अपिहिमाललगायत हिमाली क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणलाई आवश्यक खाद्यान्न, दाउरा तथा अन्य अत्यावश्यक सामग्रीको उचित प्रबन्ध गरी घरभित्रै सुरक्षित रहन अनुरोध गरिएको छ ।
त्यस्तै, नदी किनार तथा तटीय क्षेत्रमा जोखिम हुन सक्ने भएकाले त्यस्ता स्थानमा नजान र हाल नदी किनार तथा तटीय क्षेत्रमा गएका व्यक्तिहरूलाई जोखिम अवधि सुरु हुनुअघि नै सुरक्षित स्थानमा फर्किन प्रशासनले आग्रह गरेको छ ।
पाकेको धानबाली काट्ने तथा भित्र्याउने कृषि कार्य सकेसम्म कार्तिक १२ गते बिहीबार अगावै सम्पन्न गर्न पनि सूचनामार्फत अनुरोध गरिएको छ । मौसम प्रतिकूलताका कारण सडक तथा हवाई यातायातसहित दैनिक जनजीवन प्रभावित हुन सक्ने भएकाले अत्यावश्यक कामबाहेक यात्रा नगर्न प्रशासनले भनेको छ ।
स्थानीय तह, तीनवटै सुरक्षा निकाय, स्वयंसेवक तथा सरोकारवाला सबै निकायलाई आम सर्वसाधारणलाई जोखिमबारे सुसूचित गर्न र सम्भावित विपद्को प्रतिकार्यका लागि तयारी अवस्थामा रहन पनि आग्रह गरिएको छ ।
यसैबीच, अपिहिमाल गाउँपालिकामा २०८३ कार्तिक १७ देखि १९ गतेसम्म आयोजना हुने ‘अपिहिमाल पर्यटन महोत्सव, २०८३’ मा सहभागी हुन जाने महानुभावहरूलाई पनि मौसमको अवस्थाबारे विशेष ध्यान दिन प्रशासनले आग्रह गरेको छ । कार्तिक १२ देखि १४ गतेसम्मको मौसम र सम्भावित हिमपातलाई मध्यनजर गरी जिल्ला प्रशासन कार्यालय तथा सुरक्षा निकायहरूसँग अनिवार्य समन्वय गरेर मात्र कार्यक्रमस्थलतर्फ प्रस्थान गर्न अनुरोध गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयले मौसमसम्बन्धी अद्यावधिक पूर्वानुमान तथा चेतावनीको पालना गर्न र आपत्कालीन अवस्थामा उद्धार तथा मद्दतका लागि सम्बन्धित निकायसँग सम्पर्क गर्न आग्रह गरेको छ ।





प्रतिक्रिया