सुन्तला रोगले सखाप हुँदै, सिट्रस ग्रिनिङ्ग पहिचानका लागि नमुना पोखरा पठाइयो

दार्चुला। दार्चुलामा सुन्तला जातका फलफूलमा रोगको सङ्क्रमण देखिएको छ । जिल्लाको विभिन्न क्षेत्रमा रोगको प्रकोपको कारण सुन्तलाको बोटहरू सुकेर सखाप हुन थालेका छन् ।

सुन्तलाका बोटहरू टुप्पोबाट सुक्दै जाने, उत्पादन घट्ने, फलको स्वाद अमिलो हुने, पात साँघुरो छिर्केमिर्के हुने, एउटै दानामा एक भाग हरियो र अर्को भाग पहेँलो देखिने र बोट सखाप हुने समस्या देखिएको लेकम-५ का कृषक शेरसिंह धामीले बताउनुभयो । सुन्तलाका बोटहरू सुक्न थालेपछि ठूलो क्षति व्यहोर्नुपरेको कृषकहरूको भनाइ छ । विगतमा राम्रो उत्पादन दिने सुन्तला बगैंचाहरूमा अहिले सुन्तला सखाप हुन थालेपछि किसान चिन्तित बनेका छन् ।

सुन्तलाका संकास्पद नमुनामा र्यापिड टेष्ट (द्रुत परीक्षण) गर्दा सिट्रस ग्रिनिङ्ग पोजेटिभ देखिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन इकाई दार्चुलाका प्रमुख कमल तामाङले जानकारी दिनुभयो । जिल्लाभरी सुन्तला सखाप हुने जोखिम देखिएपछि सिट्रस ग्रिनिङ रोगको नमुना संकलन गरि परीक्षणका लागि गण्डकी प्रदेशको बालि संरक्षण प्रयोगशाला पोखरा पठाइएको उहाँले बताउनुभयो । दार्चुलाको व्याँस, दुहुँ, मालिकार्जुन, लेकम गाउँपालिका र महाकाली नगरपालिका गरि पाँच वटा स्थानीयतहका शंकास्पद बगैंचाबाट नमुना संकलन गरि परीक्षणका लागि पोखरा पठाउन लागिएको उहाँले बताउनुभयो । जेठ महिनामा संकलन गरिएको ७४ नमुनाको र्यापिड टेष्ट मध्ये २८ वटामा ग्रिनिङ्ग संक्रमण देखिएको र सोही शंकास्पद बगैंचाबाट अहिले नमुना संकलन गरि पीसीआर परीक्षण गर्न गण्डकी प्रदेशको बालि संरक्षण प्रयोगशाला पोखरा पठाइएको उहाँले बताउनुभयो । सोमबारसम्म संकलन गरिएको नमुना मंगलबार (आज) दार्चुलाबाट पोखरा पठाइएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन इकाई दार्चुलाका प्रमुख कमल तामाङ, कृषि ज्ञान केन्द्र दार्चुलाका कृषि अधिकृत शिशिर आचार्यसहित पीसीआर परीक्षणका लागि नमुना संकलन गर्न सुदूरपश्चिम विश्वविद्यालय स्कुल अफ एग्रिकल्चर टिकापुरका उपप्राध्यापक (बालि रोग विज्ञ) आशिष घिमिरेको नेतृत्वमा प्राविधिक टोली दार्चुलाका पाँच वटा स्थानीय तहमा पुगेर नमुना संकलन गरिएको छ । पीसीआर परीक्षणपछि सुन्तलामा देखिएको रोगबारे एकिन हुने उहाँले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?