दार्चुला । दार्चुलाको लेकम गाउँपालिकामा एचपिभी खोप अभियान सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । माघ १७ गते लेकम गाउँपालिकाले पाठेघरको क्यान्सर रोकथामका लागि एच.पि.भी. (ह्युमन पापिलोमा भाइरस) खोप अभियान सञ्चालन गर्ने तयारी स्वरूप संचारकर्मी, राजनीतिकर्मी, नागरिक समाजका प्रतिनिधिहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो।
कार्यक्रममा खोपको महत्त्व, यसको प्रभावकारिता तथा सफल कार्यान्वयनका लागि सहकार्य आवश्यकताका विषयमा छलफल गरिएको थियो । गाउँपालिका स्वास्थ्य शाखामा कार्यरत प्रमुख जनस्वास्थ्य निरीक्षक रमेश प्रसाद जोशीले एच.पि.भी. खोपले महिलामा पाठेघरको मुखको क्यान्सरको रोकथाममा महत्वपूर्ण योगदान दिने भएकाले सबै लक्षित (बिद्यालयमा कक्षा ६ देखी १० सम्म अध्यनरत र बिद्यालय बाहिर रहेका १० देखी १४ बर्ष उमेर समुहलाइ) किशोरीलाई खोप लगाउन आवश्यक रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “यस अभियान अन्तर्गत लेकम गाउँपालिकाका ६०० किशोरीलाई खोप लगाइनेछ। अभिभावक, विद्यालय र समाजका सबै पक्षले यसमा सहयोग गरे अभियान अझ प्रभावकारी बन्नेछ।”
आम नागरिक समाज लगायत संचारकर्मीहरूले खोपबारे जनचेतना फैलाउन भूमिका खेल्नुपर्ने उहाँले बताउनुभयो । राजनीतिकर्मी तथा नागरिक समाजका प्रतिनिधिहरूले अभियानलाई सफल बनाउन पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । अन्तरक्रिया कार्यक्रममा लेकम गाउँपालिका अध्यक्ष रामदत्त जोशीसहित जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी लगायतको सहभागीता रहेको थियोे ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।




