दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिकामा चैत्र ३ गते (हिजो) बाट एकीकृत घुम्ती शिविर सुरु भएको छ । गाउँपालिकाबाट प्रवाह हुने सेवाहरु ६ वटै वडाका बस्तीहरुमा पुर्याउने उद्धेश्यले शिविर सुरु गरिएको गाउँपालिका अध्यक्ष भक्त सिंह ठेकरे बोहराले जानकारी दिनुभयो ।
शिविरको पहिलो दिन चैत्र ३ गते (हिजो) वडा नम्बर ३ को क्षत्ती, घाजीर, चोथ्थी, रगाडी र माणै वस्तीका ३६८ जनालाई सेवा दिइएको उहाँले बताउनुभयो । जसअनुसार उक्त बस्तीका ५५ जनालाई पशु सम्बन्धि औषधी र परामर्श दिइएको छ । त्यस्तै ७८ जनालाई कृषि विउँविजन गरिएको छ भने १२५ जनाको स्वास्थ्य परीक्षण गर्नुका साथै औषधी बितरण गरिएको छ । त्यस्तै ८९ जनालाई आयुर्वेद सेवा र अध्यक्ष ज्येष्ठ नागरिक कार्यक्रम अन्र्तरगत १९ जना ज्येष्ठ नागरिकलाई न्यानो लुगा बितरण गरिएको शिविरमा सहभागी गाउँपालिकाका विपद व्यवस्थापन शाखा अधिकृत पान सिंह धामीले जानकारी दिनुभयो ।
शिविरको दोस्रो दिन (आज) वडा नम्बर ३ कै पाथा, कसौती, काटैँ, मरफूल, फागला, बिसउनाचौर र कोर्थी लगायतका बस्तीमा गरी जम्मा ४५३ जनाले सेवा लिएका छन् । जसअनुसार ६२ जनाले पशु परामर्श, ९१ जनाले कृषि विउँविजन तथा परमार्श लिएका छन् । त्यस्तै १५२ जनाले स्वास्थ्य चेकजाच तथा औषधि ११० जनालाई आयुर्वेद औषधी बितरण गरिएको छ भने अध्यक्ष ज्येष्ठ नागरिक कार्यक्रम अन्तरगत ३८ जना ज्येष्ठ नागरिकहरुलाई न्यानो लुगा बितरण गरिएको अधिकृत धामीले जानकारी दिनुभयो ।
गाउँपालिकाबाट प्रवाह हुने सम्पूर्ण सेवाहरु स्थानीयको घरदैलोमै पुर्याउने उद्धेश्यले शिविर सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ । वडा नम्बर ३ को माथिल्लो क्षेत्रमा चैत्र ६ गतेसम्म शिविर सञ्चालन हुनेछ । घुम्ती शिविरको टोलीमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, शाखागत कर्मचारीहरु, सम्बन्धित वडाका वडा अध्यक्षहरु लगायत सरोकारवालाहरुको उपस्थिति रहेको छ ।
गाउँपालिकाका ६ वटै वडाहरुमा चैत्र २४ गतेसम्म शिविर सञ्चालन हुने गाउँपालिकाले जनाएको छ ।





प्रतिक्रिया