दार्चुला । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन अन्तरगत एक मात्र निर्वाचन क्षेत्र रहेको दार्चुलामा एक सिटका लागि ११ जना उम्मेदवार चुनावी मैदानमा छन्। सबै उम्मेदवार मत माग्न गाउँबस्ती भेटघाटमा व्यस्त रहेपनि ६ वटा दलले चुनावी प्रचारप्रसारलाई तिब्रता दिएका छन्।
प्रमुख राजनीतिक दल नेकपा एमाले र नेपाली कांग्रेस आफ्नो आधार जोगाउने दाउमा छन् भने नेपाल कम्युनिस्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपाल कम्युनिस्ट पार्टी (माओवादी) नतिजा उल्ट्याउने रणनीतिमा देखिएका छन्। दार्चुलामा यसपटक कुन उम्मेदवारले कति मत ल्याउलान र कसले जित्ला भन्ने विषय चर्चा परिचर्चा भइरहेको छ।
उम्मेदवार र प्रतिस्पर्धा!
दार्चुलामा एमालेबाट पूर्वमन्त्री गणेशसिंह ठगुन्ना, कांग्रेसबाट धर्मानन्द जोशी, नेकपाबाट लक्ष्मणदत्त जोशी, रास्वपाबाट राजेशसिंह सामन्त, राप्रपाबाट राजेश चन्द, विप्लव नेतृत्वको नेकपा (माओवादी) बाट नवराज भट्ट मुख्य प्रतिस्पर्धीका रूपमा छन् । यसैगरी संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट गगन ठगुन्ना, आमजनता पार्टीबाट प्रेमसिंह भण्डारी, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) बाट रमेश कुमार रावल र नेकपा संयुक्तबाट विद्यादेव जोशी पनि चुनावी दौडमा छन्। बलियो जनाधार र उम्मेदवारका कारण अहिलेपनि एमाले र कांग्रेसकै बीचमा मुख्य प्रतिस्पर्धा हुने एकथरी मत रहदा नेकपा र रास्वपा समेत चुनाव जित्न सक्ने आकलन र दाबी सहित चुनावी मैदानमा होमिएका छन्। जिल्लाभरी मतदाता भेटघाट गरिरहदा मुख्य प्रतिस्पर्धी उम्मेदवारहरू उत्साहित देखिन्छन।
एमाले: उम्मेदवारको अनुभव र संगठनको भरोसा!
एमाले उम्मेदवार गणेशसिंह ठगुन्ना दार्चुलाका परिचित नेता हुनुहुन्छ। उहाँ २०७० को दोस्रो संविधानसभा र २०७४ को प्रतिनिधिसभा निर्वाचनमा विजयी हुनुभएको थियो। २०७९ को निर्वाचनमा भने कांग्रेस–माओवादी केन्द्रको गठबन्धनका कारण कांग्रेसका दिलेन्द्र प्रसाद बडूसँग २,१३४ मतले पराजित हुनुभयो। त्यसबेला पूर्वमन्त्री बडूले २८,५१५ मत प्राप्त गर्दा ठगुन्नाले २६,३८१ मत ल्याउनुभयो। यसपटक बडूले निर्वाचन नलड्ने घोषणा गरेपछि कांग्रेसबाट नयाँ उम्मेदवार धर्मानन्द जोशी उम्मेदवार बन्नुभएको छ। गठबन्धन नरहेको, योग्य, अनुभवी र जिल्लाको विकासमा योगदान पुर्याएको उम्मेदवार तथा जिल्लाभरी एमालेको संगठन बलियो रहेकाले यसपटक ठगुन्नाको सहज जित हुने एमालेको दाबी छ। विगतदेखी दार्चुलाको विकासमा सबैभन्दा बढी योगदान पुर्याएको र अधुरा विकास निर्माणका काम पुरा गर्दै स्वरोजगारी र आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि आफुले काम गर्ने ठगुन्नाको भनाइ छ। जनताको सेवा र जिल्लाको समग्र क्षेत्रको विकासका लागि दार्चुलेली जनताले एमालेलाई जिताउने उहाँले बताउनुभयो।
कांग्रेस: पुरानो दल र नयाँ उम्मेदवारको परीक्षा!
लामो समय दार्चुलाको राजनीतिमा प्रभाव जमाएका दिलेन्द्र प्रसाद बडू चुनावी दौडबाट बाहिरिएपछि कांग्रेसले धर्मानन्द जोशीलाई उम्मेदवार बनाएको छ। शैल्यशिखर–८ पपरथला घर भएका जोशी कानुनी पृष्ठभूमिका बौद्धिक व्यक्तित्वका रूपमा चिनिनुहुन्छ। कांग्रेसले जोशीमार्फत संगठनको मतसंगै नयाँ मतदाता आकर्षित गर्ने प्रयास गरे पनि पार्टीभित्रको गुट तथा असन्तुष्टि व्यवस्थापन र एमालेको संगठित संरचनासँग जुध्नु चुनौतीपूर्ण रहेको कांग्रेसकै नेताहरू बताउछन्। जनताको सेवा गर्न आफु राजनीतिमा आएको र यसपटक निर्वाचन जिते जनताकै लागि समर्पित भएर काम गर्ने जोशीको भनाइ छ। नयाँ उम्मेदवारको परीक्षाको रूपमा समेत हेरिएको यो निर्वाचनमा जित निकाल्ने कांग्रेसको दाबी छ।
नेकपा: पुरानो जनाधार फर्काउने प्रयास!
२०६४ को पहिलो संविधानसभा निर्वाचनमा दार्चुलाबाट माओवादीलाई जित दिलाएका लक्ष्मणदत्त जोशी यसपटक नेकपाबाट उम्मेदवार बन्नुभएको छ। २०७९ को स्थानीय तह निर्वाचनमा अपिहिमाल, मार्मा, लेकम र नौगाड गाउँपालिकामा पार्टीले पाएको नतिजा र जिल्लाभरी संगठन रहेको आधारमा उहाँलाई कमजोर उम्मेदवार मान्न नहुने माओवादीको तर्क छ। आफुले सुरू गरेको विकास निर्माणका कामलाई पुरा गर्न २०६४ कै जनलहर फर्किएर यसपटक जनताले आलुलाई जिताउने जोशीको भनाइ छ।
रास्वपा: नयाँ दल र अनुकुल चुनावी माहोल!
रास्वपाबाट उम्मेदवार बनेका राजेशसिंह सामन्त राष्ट्रिय माध्यमिक विद्यालय दत्तुका पूर्वप्रधानाध्यापक हुनुहुन्छ। लामो समय नेपाली कांग्रेस निकट शिक्षक संघको राजनीति गरेर अहिले रास्वपाबाट खुल्ला राजनीतिमा होमिएका सामन्तले चुनाव जित्ने दाबी गरिरहनुभएको छ। शिक्षण पेशा छोडेर राजनीतिमा आएका उहाँले छोटो समयमै जिल्लाभर संगठन विस्तारको काम गरिएको बताउनुभएको छ। युवा पुस्ता र नयाँ मतदातामा रास्वपा र सामन्तप्रति अरू दलभन्दा बढी आकर्षण देखिएको छ। अनुकुल चुनावी माहोलको फाइदा उठाउदै संगठनको बलमा दार्चुलामा पनि रास्वपाले जित्ने उहाँको दाबी छ।
राप्रपा: राष्ट्रबादी नारामा मतदाता आकर्षित गर्दै!
राप्रपाबाट उम्मेदवार बनेका सेवानिवृत्त कर्णेल राजेश चन्द सुरक्षा पृष्ठभूमिका व्यक्ति हुनुहुन्छ। प्रहरी पूर्वमहानिरीक्षक रमेश चन्दका सहोदर भाइसमेत रहेका चन्दको उम्मेदवारीले राष्ट्रवादी र राजावादी मतदातालाई आकर्षित गरेको बताइन्छ। विगत भन्दा यो निर्वाचनमा राप्रपाको राम्रो माहोल रहेकोले सम्मानजनक मत आउने राप्रपा नेताहरूको दाबी छ।
इतिहास र वर्तमान!
दार्चुलाको चुनावी इतिहास हेर्दा यहाँ मुख्यतः कांग्रेस र एमाले नै आलोपालो सत्तामा पुगेका छन्। २०४८ मा राप्रपाले र २०६४ मा माओवादीले जितेको बाहेक दुई ठूला दलकै वर्चस्व देखिन्छ। २०७४ मा वाम गठबन्धन हुँदा एमालेका ठगुन्नाले २८,९९८ मत ल्याएर कांग्रेसका विक्रमसिंह धामी (२२,२३३ मत) लाई पराजित गर्नुभएको थियो। २०७० मा दलहरू एक्लाएक्लै लड्दा पनि ठगुन्ना नै विजयी हुनुभएको थियो। २०७९ मा गठबन्धनसंग चुनाव हारेपनि समानुपातिकमा एमाले नै पहिलो दल बनेको थियो।
कुल ९२,९४८ मतदाता रहेको दार्चुलामा यसपटक झन रोचक चुनावी प्रतिस्पर्धा हुने देखिएको छ। दल र उम्मेदवारहरू आफ्नो जित हुने दाबी गरिरहदा मतदाताको मिश्रित प्रतिक्रिया आइरहेको छ। यस अर्थमा, दार्चुलाको निर्वाचन यसपटक केवल दुई दलबीचको प्रतिस्पर्धा मात्र नभई धेरै दलको बीचमा प्रतिस्पर्धा हुने अनुमान गर्न सकिन्छ। कसैले योग्य, अनुभवी उम्मेदवार जिताउने धारणा राखिरहदा कसैले यसपटक नयाँलाई जिताउनुपर्ने धारणा राखिरहेका छन् । दार्चुलामा बलियो पार्टी संगठन र उम्मेदवारको योगदान, योग्यता, अनुभवकै आधारमा जनताले निर्वाचनबाट अनुमोदन गर्ने विश्लेषण भइरहेको छ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।




