दार्चुला । बैतडीको डिलासैनी गाउँपालिकामा स्वास्थ्य सेवा, उपकरण व्यवस्थापन तथा प्रशासनिक कार्यसम्पादनमा गम्भीर लापरबाही भएको भन्दै स्थानीयस्तरबाट जनगुनासो बढेको छ । स्थानीयबासीन्दाका अनुसार गाउँपालिकाभित्रका अधिकांश स्वास्थ्य संस्थामा सामान्य औषधिसमेत अभाव छ। औषधि नपुग्दा बिरामीहरू उपचारबाट वञ्चित हुने अवस्था बारम्बार दोहोरिने गरेको उनीहरूको भनाइ छ।
गाउँपालिकाको एम्बुलेन्स समेत सञ्चालनमा छैन। हाल एम्बुलेन्स बिग्रिएर वडा नम्बर ३ पन्सेरामा थन्किएको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शंकर बहादुर साउदका अनुसार एम्बुलेन्स सुरुदेखि नै नियमित रूपमा सञ्चालनमा आउन सकेको थिएन। गाउँपालिकाले दुई वर्षअघि खरिद गरेको सडक निर्माण गर्ने मेसिन (ब्याकलोडर) अहिलेसम्म गाउँपालिकाको नाममा दर्ता नभएको पाइएको छ। दर्ता नगरी नै मेसिन सञ्चालन गरिएको छ। प्रमुख प्रशासकीय अधिकृत साउदले ब्याकलोडर दर्ता नभएको स्वीकार गर्दै दर्ता प्रक्रिया अघि बढिरहेको बताउनुभयो ।
गाउँपालिकाले सडक निर्माण गर्ने ब्याकलोडर मेसिनमा नक्कली सेतो नम्बर प्लेट प्रयोग गरी सञ्चालन गरिएको तथा वार्षिक रूपमा ठूलो रकम खर्च भइरहेको आरोप समेत उठेको छ। दर्ता नभएकै मेसिनमा फर्जी सेतो नम्बर प्लेट राखेर अनियमिमता गर्न खोजिएको नाम सार्वजनिक नगर्ने सहमतिमा एक जना कर्मचारीले बताउनुभयो ।
डिलासैनीकै वडा नम्बर ५ मा रहेको बर्थिङ सेन्टरमा विगत ५–६ महिनादेखि प्रसूति सेवा पूर्ण रूपमा बन्द रहेको स्थानीयले बताएका छन्। आवश्यक जनशक्ति—जस्तै अनमी र सहयोगी कर्मचारी—नपठाउँदा सेवा ठप्प भएको उनीहरूको गुनासो छ। यस विषयमा गाउँपालिका प्रवक्ता तथा वडा नम्बर ५ का वडाअध्यक्ष यज्ञराज भट्टले औषधि अभाव केही महिनाअघिको समस्या भएको उल्लेख गर्दै कर्मचारी अभावका कारण सेवा प्रभावित भएको स्वीकार गर्नुभयो। कार्यरत कर्मचारीले राजीनामा दिएपछि नयाँ भर्ना प्रक्रिया अघि नबढ्दा समस्या भएको र यसबारे पालिकालाई पटक–पटक ध्यानाकर्षण गराइएको उहाँको भनाई छ ।
डिलासैनी गाउँपालिकाले सञ्चालन गरेको एफएम रेडियो पनि ११ महिनादेखि बन्द अवस्थामा छ। ट्रान्समिटर बिग्रिएपछि साउनदेखि रेडियो बन्द भए पनि मर्मत प्रक्रिया अघि नबढाइएको गुनासो छ।
डिलासैनी गाउँपालिका अध्यक्ष शन्तोषप्रकाश जोशी लगायत जिम्मेवार व्यक्तिहरुको कमजोरीका कारण समस्याहरु बढ्दै गएको गुनासो छ । यस्तै लापरवाही र गलत काम भइरहेको कारण कार्यसम्पादन मूल्यांकन सन्तोषजनक नआउने गरेको बताइएको छ ।
प्राप्त जनगुनासोको सम्बन्धमा जवाफ माग्न डिलासैनी गाउँपालिका अध्यक्ष शन्तोषप्रकाश जोशीलाई फोन गर्दा फोन उठेन। स्थानीयबासीले डिलासैनीमा भइरहेका यस्ता थुप्रै गतिविधिका कारण सुशासन, पारदर्शिता र जवाफदेहितामामाथि प्रश्न उठाएको भन्दै सम्बन्धित निकायले छानबिन गरी आवश्यक सुधार गर्न माग गरेका छन्।




