दार्चुला । दार्चुलामा रक्तदानप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले रक्त समूह पहिचान तथा रक्तदान उत्प्रेरणा कार्यक्रम सञ्चालन गरिएको छ।
नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार सेवा उपसमितिको आयोजना तथा महाकाली नगरपालिकाको सहयोगमा सञ्चालित ‘म पनि रक्तदाता’ अभियानअन्तर्गत शुक्रबार सदरमुकाम खलङ्गाको पुलघाट र बसपार्क क्षेत्रमा रक्त समूह पहिचान कार्यक्रम सम्पन्न गरिएको हो।
रक्त सञ्चार सेवा उपसमितिका अनुसार कार्यक्रमका क्रममा पुलघाटमा ८३ जना र बसपार्क क्षेत्रमा ५७ जना गरी १४० जनाको रक्त समूह पहिचान गरिएको छ। जिल्लामा स्थापना भएको रक्त सञ्चार केन्द्रलाई प्रभावकारी बनाउन तथा सम्भावित रक्तदाताको विवरण संकलन गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको जनाइएको छ।
गत वैशाख १३ गतेदेखि दार्चुलामा रक्त सञ्चार केन्द्र स्थापना भएपछि त्यसलाई प्रभावकारी रूपमा सञ्चालनका लागि अभियान सुरु गरिएको हो।
रक्त सञ्चार उपसमितिका सदस्य कृष्णसिंह धामीले आमनागरिकमा रक्तदानप्रति सकारात्मक भावना जागृत गराउन कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो ।
अभियानअन्तर्गत दार्चुला बहुमुखी क्याम्पस, महेन्द्र मावि खलङ्गा र मालिकार्जुन मावि धापमा समेत रक्त समूह पहिचान कार्यक्रम सञ्चालन गर्ने तयारी रहेको छ।
रक्त समूह पहिचान गरिएका व्यक्तिहरूलाई रक्तदाता समूहमा आबद्ध गराइनेछ। हाल जिल्ला अस्पतालमा रगत आवश्यक पर्दा सोही समूहमार्फत रक्तदाताको खोजी गर्ने गरिएको छ। अभियानमा हालसम्म ३३३ जना आबद्ध भइसकेका छन्।
नेपाल रेडक्रस सोसाइटी दार्चुलाका सभापति गोपालसिंह महराले रक्तदानसम्बन्धी जनचेतना विस्तार गर्न अभियान सञ्चालन गरिएको बताउँदै जिल्लामा रगतको सहज उपलब्धता सुनिश्चित गर्न यसले महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
जिल्ला अस्पताल दार्चुलाका डा. रवीन्द्र भट्टराईले पहाडी जिल्लामा रगतको आवश्यकता पूर्ति गर्न यस्ता अभियान प्रभावकारी हुने बताउँदै रक्त सञ्चार केन्द्रको सेवा थप व्यवस्थित बनाउन आवश्यक जनशक्ति व्यवस्थापनमा समेत ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो ।




