नौगाडका करार कर्मचारीद्वारा सेवा–सुविधा र पेशागत सुरक्षाका मागसहित गाउँपालिकालाई ज्ञापनपत्र

दार्चुला । दार्चुलाको नौगाड गाउँपालिकामा कार्यरत करार कर्मचारीहरूले सेवा–सुविधा, पेशागत सुरक्षा तथा वृत्ति विकाससँग सम्बन्धित विभिन्न माग राख्दै गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतसमक्ष ज्ञापनपत्र बुझाएका छन्।

आर्थिक वर्ष २०८३/८४ को नीति, कार्यक्रम तथा बजेट तर्जुमा भइरहेका बेला करार कर्मचारीहरूको सेवा–सुविधा तथा कार्यसम्पादनलाई प्रभावकारी बनाउन मागहरू बजेटमै समावेश गर्नुपर्ने उल्लेख गर्दै सोमबार ज्ञापनपत्र पेश गरिएको हो।

ज्ञापनपत्रमा विगत छ वर्षदेखि स्थानीय तहले करार कर्मचारीहरूको सेवा–सुविधा वृद्धि गर्न चासो नदेखाएको उल्लेख गर्दै नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिक अनिवार्य रूपमा लागू गर्न, बढ्दो महँगीलाई मध्यनजर गर्दै तलब तथा अन्य सुविधामा न्यायोचित वृद्धि गर्न र समान कामको समान पारिश्रमिकको सिद्धान्त कार्यान्वयन गर्न माग गरिएको छ।

यस्तै, करार कर्मचारीलाई सामाजिक सुरक्षा, दुर्घटना बीमा तथा अन्य कल्याणकारी सुविधा उपलब्ध गराउन, बिरामी बिदा, पर्व बिदा, प्रसूति तथा पितृत्व बिदासहित कानुनअनुसारका सबै बिदाको व्यवस्था गर्न तथा कार्यसम्पादन र सेवा अवधिका आधारमा वृत्ति विकास, क्षमता अभिवृद्धि तालिम र आन्तरिक अवसरमा समान पहुँच सुनिश्चित गर्नुपर्ने माग पनि ज्ञापनपत्रमा समेटिएको छ।

स्वास्थ्य क्षेत्रमा कार्यरत करार कर्मचारीका लागि चाडपर्व, शनिबार तथा सार्वजनिक बिदाका दिनसमेत निरन्तर सेवा दिँदै आएको उल्लेख गर्दै पूर्ण दशैं भत्ता उपलब्ध गराउन तथा खोप ढुवानी गर्दा हुने खर्चलाई ध्यानमा राखी खोप ढुवानी खर्च अनिवार्य रूपमा उपलब्ध गराउन पनि कर्मचारीहरूले माग गरेका छन्।

कर्मचारीहरूले आफ्ना मागहरू सम्बोधन भएमा सार्वजनिक सेवा प्रवाह अझ प्रभावकारी, गुणस्तरीय र उत्तरदायी बन्ने विश्वास व्यक्त गरेका छन्।

ज्ञापनपत्रमा जायज मागहरू नयाँ आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेटमार्फत सम्बोधन नभए उत्पन्न हुने परिस्थितिको जिम्मेवारी सम्बन्धित निकायले नै वहन गर्नुपर्ने उल्लेख गरिएको छ। साथै, माग बेवास्ता गरिए कानुनी तथा शान्तिपूर्ण आन्दोलनका कार्यक्रम सञ्चालन गर्न बाध्य हुने चेतावनीसमेत दिइएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?