पुर्चौडी नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखामा कार्यरत एक कर्मचारीले महिना नसकिँदै साउन महिनाभरिको हाजिरी अभिलेख भरेको विषय सार्वजनिक भएपछि नगरपालिकाको अभिलेख व्यवस्थापन, पारदर्शिता र जवाफदेहितामाथि प्रश्न उठेको छ।
नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखामा कार्यरत प्राविधिक सहायक गीताकुमारी खड्काले साउन १४ गतेकै मितिमा सिंगो महिनाभरिको हाजिरी रजिस्टरमा हस्ताक्षर गरेको अभिलेख सार्वजनिक भएको हो। उक्त अभिलेख सार्वजनिक भएसँगै स्थानीयवासीले घटनाप्रति आपत्ति जनाउँदै वास्तविकता सार्वजनिक गर्न माग गरेका छन्।
घटनाबारे प्रतिक्रिया माग्न निमित्त प्रमुख प्रशासकीय अधिकृत अनिलबहादुर बोहरासँग सम्पर्क गर्न खोजिए पनि उहाँको मोबाइल बन्द रहेको थियो। सम्बन्धित कर्मचारी खड्कासँग पटक–पटक सम्पर्क गर्दा पनि फोन सम्पर्क हुन सकेन।
नगरप्रमुख दीपकबहादुर बमले भने नगरपालिकामा विद्युतीय (ई–हाजिरी) प्रणाली लागू रहेको र रजिस्टरमा भएको अग्रिम हाजिरी कर्मचारीको त्रुटिका कारण भएको जानकारी आफूले पाएको बताउनुभयो।
उहाँका अनुसार सम्बन्धित कर्मचारीले भूलवश अग्रिम हाजिरी गरेको स्पष्टीकरण दिएकी छन्। “हाम्रो नगरपालिकामा ई–हाजिरी प्रणालीमार्फत उपस्थिति अभिलेख राखिन्छ। रजिस्टरमा भएको हाजिरी आवश्यक प्रक्रिया होइन। कर्मचारीले गल्तीवश अग्रिम हाजिरी गरेको बताउनुभएको छ,” नगरप्रमुख बमले बताउनुभयो।
यता, स्थानीय स्रोतका अनुसार निमित्त प्रमुख प्रशासकीय अधिकृत बोहराले गल्ती भएको हाजिरी पाना हटाएर नयाँ पानामा सही विवरण राखिएको दाबी गर्नुभएको छ। अग्रिम हाजिरीको विषय सार्वजनिक भएपछि स्थानीय युवाहरू नगरपालिकामा पुगेर विरोध जनाएका थिए। त्यसक्रममा भएको छलफलमा प्राविधिक सहायक खड्काले टिपेक्स प्रयोग गरी गल्ती सच्याउने प्रयास गरेको प्रतिक्रिया दिएको बताइएको छ।
घटनाका सम्बन्धमा नगरप्रमुख, निमित्त प्रमुख प्रशासकीय अधिकृत र सम्बन्धित कर्मचारीबाट आएका भनाइहरू एकआपसमा मेल नखाएपछि स्थानीयले थप छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न माग गरेका छन्।
स्थानीय तहमा कर्मचारीको हाजिरी अभिलेख र कार्यालय उपस्थितिसम्बन्धी विषय समय–समयमा विवादमा आउने गरेको भन्दै स्थानीयले हाजिरी प्रणालीलाई थप पारदर्शी र विश्वसनीय बनाउन आवश्यक सुधार गर्नुपर्ने धारणा व्यक्त गरेका छन्।





प्रतिक्रिया