दार्चुला । दार्चुलाको नौगाड गाउँपालिका–६ गडिगाडमा गाईगोठमा आगलागी हुँदा चार वटा गाई जलेर मरेका छन्।
स्थानीय विषनसिंह ठगुन्नाको एकतले दुई कोठे कच्ची पत्थरले छाएको गाईगोठमा बुधबार साँझ करिब ७ बजे आगलागी भएको प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलले जानकारी दिनुभयो। गोठ नजिकै गाईका लागि कुँडो पकाउन बालेको आगोबाट अचानक गोठमा आगो सल्किएको प्रहरीले जनाएको छ।
आगलागी हुँदा गोठभित्र रहेका चार वटा गाई जलेर मरेका छन्। स्थानीयवासीको सहयोगमा साँझ ७ः४५ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो।
घटनाबारे राति करिब ८ः१५ बजे प्रहरीलाई जानकारी प्राप्त भएपछि अस्थायी प्रहरी पोस्ट धुलिगडाबाट प्रहरी सहायक निरीक्षक सागर चुनाराको कमान्डमा चार जनाको प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो।





प्रतिक्रिया