दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिका–८ पस्तीमा पस्ती स्पोर्ट्स क्लबको आयोजनामा चौथो मालिकार्जुन गाउँपालिका अध्यक्ष कप क्रिकेट प्रतियोगिता–२०८३ सुरु भएको छ। गाउँपालिकाको सहयोग तथा समर्थनमा सञ्चालन भइरहेको प्रतियोगिताको उद्घाटनसँगै पहिलो खेलसमेत सम्पन्न भएको छ। गाउँपालिका अध्यक्ष हिरासिंह धामीले प्रतियोगिता उद्घाटन गर्नुभएको हो।
शंकरपुर खेल मैदानमा भदौ १८ गतेदेखि सुरु भएको प्रतियोगितामा १३ वटा टोलीको सहभागिता रहेको छ। उद्घाटनपछि भएको पहिलो खेलमा मालिकार्जुन गाउँपालिका र शंकरपुर माध्यमिक विद्यालयबीच प्रतिस्पर्धा भएकोमा गाउँपालिका टोली विजयी भएको छ।
पस्ती स्पोर्ट्स क्लबले स्थापना कालदेखि नै खेलकुदसँगै सामाजिक तथा सामुदायिक क्षेत्रमा विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ। वि.सं. २०८० मा क्लबका अध्यक्ष विनोदसिंह धामी र मुकेश सामन्तको पहल तथा क्लबका सम्पूर्ण सदस्यहरूको सहयोगमा सुदूरपश्चिम प्रदेशमा क्लब दर्ता गरिएको थियो।
क्लब दर्तापछि स्थानीय युवाहरूलाई एकजुट गर्दै क्रिकेट, भलिबललगायत खेलकुद प्रतियोगिता सञ्चालन गर्नुका साथै सामाजिक सेवा, सरसफाइ तथा विभिन्न सामुदायिक गतिविधिलाई निरन्तरता दिँदै आएको क्लबले जनाएको छ।
पस्ती स्पोर्ट्स क्लबले विगत चार वर्षदेखि विभिन्न खेलकुद प्रतियोगिता सञ्चालन गर्दै आएको छ। सोही निरन्तरताअन्तर्गत यस वर्ष पनि मालिकार्जुन गाउँपालिका अध्यक्ष कप क्रिकेट प्रतियोगिताको चौथो संस्करण आयोजना गरिएको हो।
प्रतियोगिताको विजेता टोलीले नगद ७५ हजार ५ सय ५५ रुपैयाँ तथा उपविजेता टोलीले ३२ हजार २ सय २२ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लबका अध्यक्ष विनोदसिंह धामीले बताउनुभयो।
त्यसैगरी व्यक्तिगत विधातर्फ उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई म्यान अफ द टुर्नामेन्ट, सर्वाधिक रन बनाउने खेलाडी, सर्वाधिक विकेट लिने खेलाडी, सर्वाधिक छक्का प्रहार गर्ने खेलाडी, उत्कृष्ट फिल्डर तथा फेयर प्ले लगायतका विधामा सम्मान गरिने अध्यक्ष धामीले बताउनुभयो।
स्थानीय युवाहरूको हौसला, एकता र खेलकुदप्रतिको उत्साहलाई निरन्तर प्रोत्साहन गर्ने उद्देश्यले मालिकार्जुन गाउँपालिकाले वि.सं. २०८० सालदेखि नै पस्ती स्पोर्ट्स क्लबलाई सहयोग गर्दै आएको उहाँले बताउनुभयो। यस वर्ष पनि गाउँपालिकाले प्रतियोगिता सञ्चालनका लागि सहयोग गरेको अध्यक्ष धामीको भनाइ छ।
खेलकुदमार्फत युवाहरूलाई सकारात्मक गतिविधिमा जोड्दै सामाजिक तथा सामुदायिक क्षेत्रमा समेत योगदान पुर्याउने उद्देश्यले क्लबले आगामी दिनमा पनि विभिन्न कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।





प्रतिक्रिया