दार्चुला । नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर देशभर देखिएको विवादको प्रभाव दार्चुलामा पनि देखिएको छ। महाधिवेशनको मिति र अधिवेशन प्रक्रियालाई लिएर कांग्रेसका दुई पक्षले छुट्टाछुट्टै कार्यतालिका सार्वजनिक गर्दै आ–आफ्नो प्रक्रियामा सहभागी हुन नेता तथा कार्यकर्तालाई आह्वान गरेका छन्।
नेपाली कांग्रेस दार्चुला जिल्ला कार्यसमितिका सचिव पुलेन्द्र कार्कीले जारी गरेको विज्ञप्तिमा २०८३ असोज १६ देखि १९ गतेसम्म १५औँ महाधिवेशन सम्पन्न हुने उल्लेख गर्दै दार्चुलाका ६१ वटै वडामा असोज ३ र ४ गते वडा अधिवेशन गर्न आह्वान गरिएको छ।
जिल्ला कार्यसमितिको विज्ञप्तिअनुसार असोज ७ गते नगरपालिका अधिवेशन तथा असोज १० गते प्रदेशसभा क्षेत्रीय अधिवेशन र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन गर्ने कार्यतालिका रहेको छ।
विज्ञप्तिमा नेपालको संविधान, नेपाली कांग्रेसको विधान र प्रचलित कानूनबमोजिम महाधिवेशन प्रक्रिया अघि बढिरहेको उल्लेख गर्दै कुनै अलमलमा नपरी उत्साहका साथ अधिवेशनमा सहभागी हुन क्रियाशील सदस्य, समर्थक तथा शुभेच्छुकलाई आग्रह गरिएको छ।
यस्तै, पूर्वसभापति शेरबहादुर देउवा पक्षनिकट नेपाली कांग्रेस १५औँ महाधिवेशन तयारी समितिले भने फरक कार्यतालिकाअनुसार महाधिवेशन प्रक्रियामा सहभागी हुन आह्वान गरेको छ।
तयारी समितिका संयोजक सुरेन्द्रप्रसाद अवस्थी र केन्द्रीय प्रतिनिधि सन्तोष एतवालले जारी गरेको विज्ञप्तिमा असोज ३ गते सञ्चालन गर्ने भनिएको वडा अधिवेशनलाई ‘अवैधानिक तथा असंवैधानिक’ दाबी गर्दै त्यसमा सहभागी नहुन पार्टीका नेता तथा कार्यकर्तालाई अपिल गरिएको छ।
देउवा पक्षले पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा सञ्चालन हुने भन्दै असोज १५ गते वडा अधिवेशन, असोज २० गते गाउँ/नगरपालिका अधिवेशन, असोज २३ गते प्रदेशसभा क्षेत्रीय अधिवेशन, कात्तिक १५ गते जिल्ला अधिवेशन, मंसिर ४ गते प्रदेश अधिवेशन तथा मंसिर २१, २२ र २३ गते केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका अघि सारेको छ।
उसले पार्टीभित्रको अनुशासन, आन्तरिक लोकतन्त्र र वैधानिकताको रक्षा गर्दै यही कार्यतालिकाअनुसार हुने महाधिवेशनमा सहभागी हुन दार्चुलाका नेता तथा कार्यकर्तालाई आग्रह गरेको छ।
देउवा पक्षको विज्ञप्तिमा महाधिवेशनलाई ‘अवैधानिक’ भन्नेहरू नै अहिले आफ्नो स्वार्थका लागि ‘वैधानिक’ भन्दै त्यतातिर लागिरहेको आरोप लगाउँदै त्यस्तो प्रवृत्तिलाई ‘अवसरवादी र दुईधारे राजनीतिक चरित्र’ भनिएको छ। साथै आगामी महाधिवेशनबाट चयन हुने नयाँ नेतृत्वले पार्टीलाई एकताबद्ध र अनुशासित बनाउँदै आगामी निर्वाचनमा कांग्रेसलाई ऐतिहासिक विजय दिलाउने दाबी गरिएको छ।
देशभर दुई कार्यतालिका
कांग्रेसभित्रको महाधिवेशन विवाद दार्चुलामा मात्र सीमित छैन। राष्ट्रिय तहमा पनि १५औँ महाधिवेशनका लागि दुई फरक कार्यतालिका अघि सारिएका छन्। संस्थापन पक्षले असोज १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका अघि बढाएको छ भने पूर्वसभापति शेरबहादुर देउवा पक्षले मंसिर २१ देखि २३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने गरी छुट्टै कार्यतालिका अघि सारेको छ।
दुवै पक्षका फरक कार्यतालिकाअनुसार वडा अधिवेशनको मिति पनि फरक छ। संस्थापन पक्षले असोज ३ र ४ गते वडा अधिवेशन गर्ने तयारी गरेको छ भने देउवा पक्षले असोज १५ गतेदेखि वडा अधिवेशन सुरु गर्ने जनाएको छ।
यसरी केन्द्रदेखि जिल्ला तहसम्म एउटै १५औँ महाधिवेशनका लागि दुई पक्षका फरक–फरक कार्यतालिका र आह्वान सार्वजनिक भएपछि कांग्रेसको महाधिवेशन प्रक्रिया दुई धारमा अघि बढेको देखिएको छ। दार्चुलामा पनि दुवै पक्षका छुट्टाछुट्टै विज्ञप्ति सार्वजनिक भएपछि जिल्लाका नेता तथा कार्यकर्तासामु कुन कार्यतालिकाअनुसार अधिवेशन प्रक्रियामा सहभागी हुने भन्ने अवस्था बनेको छ।





प्रतिक्रिया