दार्चुला । बझाङ प्रहरीले लागूऔषध चरेसजस्तो देखिने लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बझाङ र अस्थायी प्रहरी पोस्ट बागथलाबाट खटिएको प्रहरी टोलीले आइतबार (आज) साँझ ५ः३० बजे जयपृथ्वी राजमार्गअन्तर्गत बित्थडचिर गाउँपालिका–८ बागथला बजारबाट चेकजाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी एक जनालाई पक्राउ गरेको हो ।
चैनपुरबाट धनगढीतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ४२११ नम्बरको बसको पछाडिको डिक्कीमा कालो झोलाभित्र लुकाएर राखिएको अवस्थामा प्लास्टिकसहित ५ किलो ४५० ग्राम र शुद्ध तौल ५ किलो १९५ ग्राम चरेसजस्तो देखिने पदार्थसहित एक जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
उक्त पदार्थ बसमा सवार बझाङको दुर्गाथली गाउँपालिका–५ निवासी ३० वर्षीय कटक जप्रेलले लुकाएर लैजाँदै गरेको प्रहरीको भनाइ छ। उनलाई साँझ ६ः४० बजे नियन्त्रणमा लिएर अस्थायी प्रहरी पोस्ट बागथलामा राखिएको छ।
प्रहरीका अनुसार बरामद पदार्थ रहेको स्थान अस्थायी प्रहरी पोस्ट बागथलाबाट करिब ५० मिटर दक्षिणमा पर्छ। घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।





प्रतिक्रिया