ओझेलमा परेको प्राकृतिक स्वर्ग: अपि पर्यटन उत्सवको औचित्य र सान्दर्भिकता

– मदन राज जोशी, दार्चुला। सुदूरपश्चिम प्रदेशको हिमाली जिल्ला दार्चुलामा अवस्थित अपिहिमाल गाउँपालिका प्रकृति र संस्कृतिको अनुपम सङ्गम हो। संसारकै सुन्दर मध्येको एक, तर प्रचार–प्रसारको अभावमा ओझेलमा परेको सुदूरपश्चिम प्रदेशकै सबैभन्दा अग्लो ( ७,१३२ मिटर ) अपि हिमालको काखमा यहीँ मिति २०८३ कार्तिक १७ गतेदेखि १९ गतेसम्म ‘अपिहिमाल पर्यटन उत्सव’ आयोजना हुन गइरहेको छ। अपि बेसक्याम्प (आधार शिविर) पिलकन्दको कञ्चन र मनोरम वातावरणमा सञ्चालन हुने यस उत्सव केवल एक औपचारिक कार्यक्रम मात्र नभई यो क्षेत्रको समग्र विकास, पहिचान र समृद्धिको प्रस्थानविन्दु हो। यस ऐतिहासिक उत्सवको औचित्य, आवश्यकता र सान्दर्भिकतालाई यहाँ प्रष्ट पार्ने प्रयास गरिएको छ।

१. पर्यटकीय पहिचान र राष्ट्रिय–अन्तर्राष्ट्रिय प्रवर्द्धन

नेपालका प्रमुख पर्यटकीय गन्तव्यहरूमा पूर्वी र मध्य क्षेत्रका हिमाल तथा पदमार्गहरूले बढी चर्चा पाउने गरेका छन् । सुदूरपश्चिमको गहना मानिने अपि हिमाल र यसको आधार शिविर क्षेत्र भर्जिन गन्तव्यका रूपमा रहेका छन्। जैविक विविधताले भरिपूर्ण अपि नाम्पा संरक्षण क्षेत्र भित्र पर्ने यस क्षेत्रको प्राकृतिक सौन्दर्य, हिमनदी, र रैथाने संस्कृतिलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउनु यस उत्सवको मुख्य औचित्य हो। अपिहिमाल क्षेत्रलाई सुदूरपश्चिम प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य तथा राष्ट्रकै उत्कृष्ट पर्यटकीय गन्तव्यका रुपमा चिनाउनुका साथै उत्सवले ओझेलमा परेको दार्चुलाको पर्यटनलाई मूलधारमा ल्याउनेछ।

२. स्थानीय आर्थिक समृद्धि र स्वरोजगार

पर्यटन आधुनिक अर्थतन्त्रको बलियो खम्बा हो। अपि पर्यटन उत्सवले स्थानीय स्तरमा होमस्टे व्यवसायको प्रवर्द्धन, स्थानीय पथप्रदर्शकको सीप विकास, र भरियाहरूको रोजगारीमा टेवा पुर्‍याउनेछ। कार्तिक महिनामा हुने यस उत्सवले गाउँपालिकामा आन्तरिक तथा बाह्य पर्यटकहरूको आगमन बढाएर स्थानीय कृषि उपज, भेडाबाख्रा पालन, र परम्परागत घरेलु सामग्रीहरूको बजारिकरणमा प्रत्यक्ष मद्दत गर्नेछ, जसले अन्ततः स्थानीयको आर्थिक जीवनस्तर उकास्नेछ।

३. सांंस्कृतिक संरक्षण र पहिचान

अपिहिमाल गाउँपालिका क्षेत्र बहुसांस्कृतिक र बहुभाषिक विशेषताले धनी छ। यहाँ परापूर्वकालदेखि बसोबास गर्दै आएका सौका समुदाय तथा अन्य स्थानीय जातिहरूको आफ्नै विशिष्ट भेषभूषा, रीतिरिवाज, रहनसहन, र संस्कृति छ( क्षेत्तेलि तथा मल्देशी ) । यस पर्यटन उत्सवको माध्यमबाट स्थानीय झाँकी, छलिया जस्ता परम्परागत नृत्य र लोकसंस्कृतिको प्रदर्शन गरिनेछ। यसले युवा पुस्तामा आफ्नो संस्कृतिको संवर्द्धन गर्ने प्रेरणा जगाउनेछ भने आगन्तुकहरूका लागि यो एउटा अनुपम सांस्कृतिक अनुभव बन्नेछ।

४. पर्यावरण मैत्री दिगो पर्यटनको सन्देश

जलवायु परिवर्तनको विश्वव्यापी असर हिमाली क्षेत्रमा प्रत्यक्ष देखिन थालेको छ। अपि बेसक्याम्प जस्तो संवेदनशील र सुन्दर पर्यावरण भएको क्षेत्रमा पर्यटन प्रवर्द्धन गर्दा वातावरणलाई कसरी जोगाउने भन्ने बहस आजको आवश्यकता हो। यस उत्सवले ‘पर्यावरण–मैत्री दिगो पर्यटन’ को अवधारणालाई आत्मसात् गर्दै जैविक विविधता र पर्यावरण संरक्षणमा स्थानीय समुदायको सहभागिता र सचेतना बढाउन विशेष भूमिका खेल्नेछ।

५. पूर्वाधार विकासको अवसर र सान्दर्भिकता

पर्यटनको विकासका लागि यातायात, सञ्चार, र बसोबासका पूर्वाधारहरू अनिवार्य सर्त हुन्। यस उत्सवको आयोजनाले गर्दा पालिकाभित्रका पदमार्गहरूको मर्मत–सम्भार, संकेत चिन्हहरूको व्यवस्थापन र विस्तारमा तीव्रता आएको छ। राज्यका अन्य निकायहरूको ध्यान पनि यस दुर्गम तर सम्भावनायुक्त क्षेत्रमा आकर्षित भएको हुनाले यस उत्सवको सान्दर्भिकता दीर्घकालीन पूर्वाधार विकाससँग जोडिएको छ।

अन्त्यमा, अपि पर्यटन उत्सव केवल उत्सव मात्र होइन; यो दार्चुला र समग्र सुदूरपश्चिम प्रदेशको आर्थिक रूपान्तरणको महाअभियान हो। हिमालको काखमा पुगेर प्रकृतिसँग साक्षात्कार गर्न, नौलो संस्कृतिको स्वाद लिन र यो ओझेलमा परेको स्वर्गलाई नजिकबाट नियाल्न हामी देश–विदेशका सम्पूर्ण प्रकृतिप्रेमी, पर्यटक, सञ्चारकर्मी, र सरोकारवालाहरूलाई हार्दिक निमन्त्रणा गर्दछौँ। आउनुहोस्, यहीँ कार्तिक १७ देखि १९ गतेसम्म अपि बेसक्याम्पमा भेटौँ र सुदूरपश्चिमको दिगो पर्यटन विकासमा हातेमालो गरौँ।

–जोशी अपिहिमाल गाउँपालिका, दार्चुलामा शिक्षा अधिकृत हुनुहुन्छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?