दार्चुला । दार्चुलाको लेकम गाउँपालिका–५, मैखोलीस्थित प्रसिद्ध मालिकार्जुन मन्दिरमा धार्मिक विधि तथा पूजाआराधनासहित कालो खाम चढाइएको छ। देवताप्रतिको अटुट आस्था, श्रद्धा, भक्ति र समर्पण प्रकट गर्दै परम्पराअनुसार मन्दिरमा कालो खाम अर्पण गरिएको मन्दिरका भरण्या केशवदत्त जोशीले जानकारी दिनुभयो।
दार्चुलाको लेकम गाउँपालिका–५, मैखोली अम्कुर निवासी स्वर्गीय माधव जोशी तथा नन्दा जोशीका छोराहरू विष्णुदत्त जोशी, केशवराज जोशी र गोपाल जोशीसहित उहाँहरूको परिवारले धार्मिक विधिअनुसार पूजाआराधना गर्दै मालिकार्जुन मन्दिरमा कालो खाम चढाएको हो। इष्टकुल देवता मालिकार्जनप्रति समर्पण, श्रद्धा र कृतज्ञता व्यक्त गर्ने उद्देश्यले आयोजित कार्यक्रममा मैखोलीवासी अठोला जोशी परिवारको सहभागिता तथा समउपस्थितिमा कालो खाम भण्डारी घर सडकबाट बाजागाजा तथा धार्मिक परम्पराअनुसार मन्दिरसम्म पुर्याइएको थियो।
त्यसपछि विधिपूर्वक पूजापाठ तथा आराधना गरी देवताको चरणमा कालो खाम अर्पण गरिएको कार्यक्रममा सहभागी पत्रकार सुरेश जोशीले बताउनुभयो। धार्मिक आस्थाको प्रतीकका रूपमा रहेको कालो खाम चढाउने परम्पराले भक्तजनमा देवताप्रतिको विश्वास, आध्यात्मिक चेतना र सांस्कृतिक एकतालाई थप सुदृढ बनाउने विश्वास गरिएको छ। यस अवसरमा सहभागी भक्तजनले आफ्नो सामर्थ्यअनुसार खाममा भेटीसमेत राखेर भगवान् मालिकार्जुनको चरणमा अर्पण गरेका थिए। इष्टकुलको जयजयकार गर्दै मन्दिर परिक्रमा गरि कालोखाम भित्याइएको छ। देवताको कृपा र आशीर्वादबाट परिवार, समाज तथा समग्र क्षेत्रको सुख, शान्ति, आरोग्यता, समृद्धि र उत्तरोत्तर प्रगति होस् भन्ने कामनासहित धार्मिक अनुष्ठान सम्पन्न गरिएको बताइएको छ।
मन्दिरमा रहेको पुरानो कालो खाम फेर्नुपर्ने आवश्यकता देखिएको अवस्थामा नयाँ कालो खाम चढाइएको हो। यसले धार्मिक परम्पराको निरन्तरतासँगै मन्दिरको संरक्षण तथा दिगोपनामा समेत योगदान पुग्ने विश्वास गरिएको छ। श्रद्धा, विश्वास र आध्यात्मिक चेतनासँग जोडिएको यस्तो धार्मिक अनुष्ठानले पुस्तौँदेखि चलिआएको मौलिक परम्पराको संरक्षण गर्नुका साथै देवताप्रतिको आस्था र सामाजिक सद्भावलाई अझ प्रगाढ बनाउने अपेक्षा गरिएको छ।





प्रतिक्रिया