अपिहिमाल पर्यटन उत्सव: पाँच सय पाहुनालाई निम्तो, १० हजार पर्यटक भित्र्याउने लक्ष्य

मुख्यमन्त्री खगराज भट्ट प्रमुख अतिथि र शिक्षामन्त्री सस्मित पोखरेलले दोस्रो दिनको खेलकुद उद्घाटन गर्ने

दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिकाले यस आर्थिक वर्षमा कम्तीमा १० हजार आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्यसहित अपिहिमाल पर्यटन उत्सव–२०८३ आयोजना गर्ने भएको छ । गाउँपालिकाको वडा नम्बर १ स्थित अपिहिमाल आधार शिविरमा आगामी कार्तिक १७ देखि १९ गतेसम्म तीनदिने उत्सव आयोजना हुन लागेको हो ।

उत्सवको तयारी तथा व्यवस्थापनबारे गाउँपालिका अध्यक्ष भक्तसिंह ठेकरे बोहराले बिहीबार भर्चुअल पत्रकार सम्मेलनमार्फत जानकारी गराउनुभएको हो । उहाँले अपिहिमाल क्षेत्रको प्राकृतिक, सांस्कृतिक, धार्मिक तथा पर्यटकीय पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले उत्सव आयोजना गर्न लागिएको बताउनुभयो ।

गाउँपालिकाले यसलाई परम्परागत औपचारिकतामा सीमित महोत्सवभन्दा फरक प्रकृतिको उत्सवका रूपमा अघि सारेको छ । उत्सवमा आउने पर्यटकले अपिहिमालको प्राकृतिक सौन्दर्यमा रमाउने, तस्बिर तथा भिडियो खिच्ने र सामाजिक सञ्जालमार्फत प्रचारप्रसार गर्ने वातावरण बनाइने गाउँपालिकाको लक्ष्य छ । यसबाट थप पर्यटकलाई अपिहिमाल भ्रमणका लागि प्रोत्साहित गर्ने अपेक्षा गरिएको अध्यक्ष बोहराले जारी गर्नुभएको प्रेस नोटमा उल्लेख छ ।

उत्सवमार्फत अपिहिमाललाई सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने, पर्यटनबाट स्थानीय आयआर्जन तथा दिगो रोजगारी सिर्जना गर्ने, स्थानीय मौलिक कला, भाषा, संस्कृति र साहित्यको संरक्षण तथा प्रवर्द्धन गर्ने लक्ष्य राखिएको छ । त्यस्तै, स्थानीय कृषि उपज, हस्तकला तथा मौलिक उत्पादनको बजारीकरण र व्यावसायीकरणमा सहयोग पुर्‍याउने तथा जलवायु परिवर्तनले हिमाली वातावरण, पर्यटन र स्थानीय जीविकोपार्जनमा पारेको प्रभावबारे सचेतना बढाउने उद्देश्य पनि उत्सवले लिएको छ ।

मुख्यमन्त्री प्रमुख अतिथि, शिक्षामन्त्रीले खेलकुद उद्घाटन गर्ने

उत्सवको उद्घाटन सत्रमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्ट प्रमुख अतिथिका रूपमा सहभागी हुने गाउँपालिकाले जनाएको छ । प्रदेशका मन्त्री तथा संघ र प्रदेशका सांसदलाई विशिष्ट अतिथिका रूपमा आमन्त्रण गरिएको छ ।

यसअघि गाउँपालिकाले उत्सवमा प्रमुख अतिथिका रूपमा सहभागी हुन प्रधानमन्त्री बालेन्द्र शाहलाई निमन्त्रणा पठाएको थियो । तर, प्रधानमन्त्रीको व्यस्तताका कारण उहाँ उपस्थित हुन नसक्ने भएपछि दोस्रो दिनको खेलकुद कार्यक्रम शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले उद्घाटन गर्ने प्रेस नोटमा उल्लेख छ ।

उत्सवमा संघीय सरकारका मन्त्री, सातवटै प्रदेशका पर्यटनमन्त्री, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, संघीय तथा प्रदेश सरकारका सचिव, सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख, प्रदेशका ८८ वटै स्थानीय तहका प्रमुख, दार्चुलास्थित सरकारी कार्यालयका प्रमुख, पर्यटन तथा होटल व्यवसायी, उद्यमी, गैरसरकारी संस्था, राजनीतिक दलका प्रतिनिधि, सञ्चारकर्मी र कलाकारसहित करिब पाँच सय पाहुनालाई निमन्त्रणा गरिएको छ । कार्यक्रममा को–को सहभागी हुने भन्ने विषयमा भने कर्मचारीले निरन्तर सम्पर्क गरिरहेको गाउँपालिकाले जनाएको छ ।

तीन दिनसम्म विविध कार्यक्रम

उत्सवको पहिलो दिन कार्तिक १७ गते उद्घाटन समारोह, स्थानीय सांस्कृतिक झाँकी प्रदर्शन, साहित्यिक कार्यक्रम तथा राष्ट्रिय र स्थानीय कलाकारका सांस्कृतिक प्रस्तुति रहनेछन् । दोस्रो दिन कार्तिक १८ गते मैत्रीपूर्ण क्रिकेट तथा भलिबल प्रतियोगिता सञ्चालन गरिनेछ ।

त्यस्तै, तेस्रो दिन कार्तिक १९ गते जलवायु संवाद, योग तथा ध्यान शिविर र औपचारिक समापन कार्यक्रम आयोजना गरिने गाउँपालिकाले जनाएको छ । जलवायु परिवर्तनले हिमाली क्षेत्रको पर्यटन र स्थानीय जनजीवनमा पारेको प्रभावबारे छलफल गर्दै अनुकूलनका उपायप्रति सरोकारवालाको ध्यानाकर्षण गराउने उद्देश्यले जलवायु संवाद राखिएको हो ।

आवास, खानपान र स्थानीय उत्पादनको व्यवस्था

उत्सवमा सहभागी हुने पाहुनाको व्यवस्थापनका लागि अपिहिमाल आधार शिविर क्षेत्रमा रहेका होटलको क्षमता सर्वेक्षण भइरहेको गाउँपालिकाले जनाएको छ । होटलको क्षमताले पाहुनाको चाप धान्न नसक्ने अवस्था देखिए थप अस्थायी टहरा तथा टेन्ट निर्माणको पूर्वतयारी गरिएको छ ।

होमस्टे तथा होटलमा खाना र बसोबासको दररेट निर्धारण गरी उपलब्ध गराइएको र त्यसलाई सार्वजनिकसमेत गरिएको प्रेस नोटमा उल्लेख छ । होमस्टे सञ्चालन भएका क्षेत्रका आमा समूहलाई स्थानीय भेषभूषामा सजिएर पाहुनाको स्वागत तथा सत्कार गर्न आग्रह गरिएको छ ।

उत्सव क्षेत्रमा स्थानीय मौलिक परिकार, हस्तकला तथा कृषि उत्पादनका सामग्रीको प्रदर्शनी र बिक्रीका लागि स्टल राख्ने व्यवस्था पनि मिलाइएको गाउँपालिकाले जनाएको छ । यसले स्थानीय उत्पादनको बजारीकरण र स्थानीयवासीको आयआर्जनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

पदमार्गमा हेल्प डेस्क, स्वास्थ्य र सुरक्षाको तयारी

उत्सवमा सहभागी हुने पर्यटकको यात्रा सहज बनाउन मकरीगाड, घुसा र सितिमा हेल्प डेस्क स्थापना गरिएको छ । त्यस्तै, धौलीओडार र आधार शिविरमा स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क राखिनेछ ।

उच्च उचाइमा हुन सक्ने स्वास्थ्यसम्बन्धी जोखिमलाई ध्यानमा राख्दै प्राथमिक उपचारका औषधि, स्वास्थ्य सामग्री र पोर्टेबल अक्सिजन सिलिन्डर तयारी अवस्थामा राखिने गाउँपालिकाले जनाएको छ । शान्ति सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालबाट सुरक्षाकर्मी उपलब्ध गराइदिन प्रमुख जिल्ला अधिकारीसँग आग्रह गरिसकिएको पनि प्रेस नोटमा उल्लेख छ ।

अपिहिमाल गाउँपालिकाले उत्सवलाई सभ्य र व्यवस्थित रूपमा सम्पन्न गर्न गाउँपालिका अध्यक्षको अध्यक्षतामा मूल आयोजक समिति गठन गरेको छ । तयारीलाई व्यवस्थित बनाउन गाउँपालिकामा कार्यरत शाखा प्रमुख कर्मचारीको संयोजकत्वमा विषयगत उपसमितिसमेत गठन गरी काम अघि बढाइएको छ ।

उत्सवमार्फत अपिहिमाल क्षेत्रको प्राकृतिक सौन्दर्य, हिमाली जीवनशैली, स्थानीय संस्कृति र पर्यटनको सम्भावनालाई व्यापक प्रचारप्रसार गरी आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढाउने गाउँपालिकाको अपेक्षा छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?