दार्चुला । नसर्ने रोगहरूमध्ये प्रमुख भनेर चिनिने मधुमेह (Diabetes) हाल नेपालमा १३ लाखको हाराहारीमा रहेको अनुमान छ। नेपालका ५० वर्ष उमेरमाथिका जनसमुदायमा १४ प्रतिशतमा डाएबेटिक रेटिनोप्याथी रहेको, जसमध्ये ३० प्रतिशतले अहिलेसम्म एक पटक पनि आँखाको जाँच नगरेको सर्वेक्षणमा देखिएको छ।
आँखाको पछाडि भागमा अवस्थित रेटिना (दृष्टिपटल) एक संवेदनशील पर्दा हो, जसले हाम्रो मस्तिष्कमा दृश्यको चित्र पठाएर हेर्ने कार्यमा मुख्य भूमिका खेल्दछ। मधुमेह बिरामीहरूका लागि रेटिना सुरक्षा अति नै महत्त्वपूर्ण मानिन्छ। रगतमा लामो समयसम्म चिनीको मात्रा उच्च हुँदा रेटिनाका मसिना रक्तनलीहरू भासिने, फुट्ने वा बन्द हुने गर्छन्। यसले गर्दा रेटिनाका रक्ततह फुट्ने र अन्य तरल पदार्थ जम्न थाल्दछ (NPDR/PDR/DME)।
डाएबेटिक रेटिनोप्याथीका प्रमुख कारकहरू लामो समयसम्म मधुमेह रोग रहनु, रगतमा चिनीको मात्रा उतारचढाव भइरहने, उच्च रक्तचाप, धुम्रपान, उच्च कोलेस्ट्रोल, रक्तअल्पता (Anemia), फोलिक एसिडको कमी, गर्भावस्था, मृगौला रोगहरूले रेटिनामा तीव्र रूपमा बिगार गर्ने र नोक्सानी पुर्याउने गर्दछन्।
सुरुवाती चरणमा रेटिनामा खराबी आउँदै गर्दा पनि आँखा दुख्ने वा धमिलो देखिने जस्ता कुनै लक्षण नदेखिन सक्छ। यस कारणले सामान्य देखाइ भए पनि मधुमेह भएपछिको वार्षिक नानी फुलाएर गरिने पर्दा जाँच रेटिना स्क्रिनिङ गराउनु अनिवार्य जरुरी मानिन्छ (Retina Screening)/(Fundus Evaluation Under Mydriatics)।
प्रारम्भिक जाँच स्क्रिनिङ गरेपश्चात् पर्दामा केही समस्या देखिए रेटिनाका अत्यन्त सूक्ष्म विवरणहरूको परीक्षण र अवलोकन गर्नुपर्ने हुन्छ, जसलाई अप्टिकल कोहेरेंस टोमोग्राफी सरल भाषामा ओसीटी (Optical Coherence Tomography) भनिन्छ। यसै माध्यमको सहयोगले रेटिना तहमा भविष्यमा आउने परिणाम र स्थितिलाई नजरअन्दाज गर्न सकिन्छ।
उपचारको क्रममा लेजर विधि रहन्छ, जसमा तापको शक्तिले पर्दामा उत्पन्न अनावश्यक रक्तसञ्चारलाई रोक्ने र अक्सिजन कमी भएका क्षेत्रहरूमा थप क्षतिबाट जोगाउन पनि सकिन्छ (Panretinal Photocoagulation/Focal Laser/Grid Laser)।
मधुमेहले पर्दाको केन्द्र भाग अर्थात् म्याकुलामा पनि असर पुर्याउने गर्दछ (Diabetic Macular Edema)। यही केन्द्रकै कारण अगाडि स्पष्ट देखिने, पढ्ने, मानिसको अनुहार चिन्न सक्छौँ। म्याकुलामा बिस्तारै रक्तसञ्चालनमा रोकावट आएसँगै सुजन उत्पन्न हुन थाल्दछ। रक्तनली बन्द भएर जब आँखाको पर्दामा रहेका साना रक्तनलीहरू क्षतिग्रस्त हुन्छन्, तिनीहरूको बनोटको मजबुती कमजोर हुन्छ र तीबाट तरल पदार्थ चुहिन थाल्छ। यस तरल पदार्थमा पानी, प्रोटिन र लिपिड (बोसो) समावेश हुन्छ।
दृष्टि नापेर र ओसीटीद्वारा मापन गरेर पर्दामा उपचार इन्ट्राभिट्रियल इन्जेक्सन एन्टी भे जी एफ (Anti-VEGF Intravitreal Injection) आँखाभित्र सुई लगाउने गरिन्छ। सुईले नयाँ र कमजोर रक्तनली पलाउन दिँदैन र तरल पदार्थ चुहिने प्रक्रियालाई रोक्ने काम गर्दछ।
लोडिङ वा सुरुवाती चरणमा चार–चार हप्ताको अन्तरालमा महिनाको एक पटक गरी लगातार तीनदेखि पाँच पटकसम्म सुई लगाउनुपर्दछ। त्यसपश्चात् रोगको अवस्था र सुजनको नाप हेरेर सुई आवश्यकताअनुसार (Pro re Nata) नभए सुई लगाउने अवधिलाई क्रमिक बढाउँदै (Treat and Extend) लग्न सकिन्छ।
यी सबै उपचार माध्यमबाट पनि भित्री पर्दा तान्ने क्रम हुँदै गरे वा लामो समयसम्म पर्दामा रगत जमेर लामो समयसम्म रहेमा शल्यक्रियातर्फ जानुपर्दछ।
वर्तमान समयमा नेपाली नेत्र स्वास्थ्यलाई सबैभन्दा ठूलो चुनौती बढ्दो रोगको प्रकोपसँगै जनसमुदायमा मधुमेह भएकाले रेटिना जाँच (स्क्रिनिङ) गर्नुपर्छ भन्ने जानकारीको अभाव रहेको र नेत्र चिकित्सकको परामर्शअनुसार नियमित फलोअप गर्न कमी हुनुले दीर्घकालीन समयमा आँखामा आउने ठूला नोक्सानी र त्यही अनुरूप उपचारमा आउन जाने आर्थिक भारलाई ध्यानमा राख्दा ठूलो संकटको घडी आउने सम्भावना देखिन्छ।
त्यसैले हालको समयमा जनतामा यस रोगको बारेमा विस्तृत जानकारी र नियमित रेटिना जाँच (स्क्रिनिङ)का भावी फाइदाहरू दर्शाउन निकै नै जरुरी देखिन्छ।
लेखकः डा. विपिन विष्ट
नेत्र रोग विशेषज्ञ
नारायणी आँखा अस्पताल, वीरगञ्ज–२





प्रतिक्रिया