
दार्चुला । सुरुआती चरणमै कोरोनाका पाँच संक्रमित भेटिएको सुदूरपश्चिम प्रदेशले वैशाख लागेयता थप संक्रमण झेल्नुपरेको छैन । पाँचै जना निको भएर घर फर्किसके । तर पनि संक्रमण तीव्र रहेको भारतबाट स्वदेश भित्रिन थुप्रै नेपाली दशगजामा तमतयार बसेकाले यहाँ उच्च जोखिम कायमै छ ।
भारतको उत्तराखण्डका ४ र उत्तरप्रदेशको एउटा जिल्लाको सिमाना सुदूरपश्चिमसँग जोडिन्छ । प्रदेश ५ र २ मा संक्रमितको ग्राफ उकालो लागिरहँदा सुदूरपश्चिमसँग अहिले परीक्षण बढाउने र अन्य आवश्यक तयारीको मौका रहे पनि सीमाक्षेत्रमा थुप्रिएर बसेकालाई व्यवस्थापन गर्न सहज छैन ।
बिहीबारसम्म यहाँका ८ हजार ९ सय ८५ क्वारेन्टाइन बेडमा २ हजार ८ सय ४८ जना छन् । करिब ६५ सय बेड खाली रहे पनि सीमाको भीड एकैचोटि भित्रिए तिनलाई राख्न पर्याप्त हुनेछैन । सुरक्षास्रोतका अनुसार बैतडी पारिपट्टि ५ सय, दार्चुला पारिपट्टि ६१ र कैलाली पारिपट्टि २ सयभन्दा धेरै नेपाली देश पस्न लामबद्ध छन् ।
उत्तराखण्ड र उत्तरप्रदेशका केही भागबाट सीमातर्फ बढिरहेकाहरूको संख्या अझ ठूलो छ ।कोभिड–१९ नियन्त्रणका लागि प्रदेश सरकारले गरेको पछिल्लो छलफलमा सरकारी अधिकारीले भारतबाट आउनेको संख्या ८० हजारदेखि एक लाखसम्म हुने अनुमान गरेका छन् । यसको आधा हिस्सा मात्रै सुदूरपश्चिम प्रदेश हुँदै आए क्वारेन्टाइनले धान्ने देखिन्न ।
सुदूरका ५ जिल्लासँग सीमा जोडिएका उत्तराखण्डका चम्पावत, उधमसिंहनगर र पिथौरागढलाई भारतले संक्रमणको जोखिम कम भएको ‘हरियो जोन’मा राखेको छ । त्यस्तै कैलालीको थोरै सीमा संक्रमण विस्तार भएर ‘अरेन्ज जोन’मा परेको उत्तर प्रदेशको लखिमपुर खिरीसँग जोडिएको छ । ‘ग्रिन जोन’मा जोखिम कम भए पनि संक्रमण तीव्र रहेका अन्य प्रदेशमा पनि नेपाली उत्तिकै छन् ।
केही दिनअघि उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपाली कामदारलाई घर जान निःशुल्क रेलसेवाको प्रबन्ध गरेको बताएका थिए । गोवाका मुख्यमन्त्री प्रमोद सावन्तले पनि घर फर्किन चाहनेले नाम दर्ता गराउन सक्ने भन्दै सरकारले नै रेलमा सीमाक्षेत्रसम्म पुर्याइदिने घोषणा गरेका थिए । यसले पनि सीमामा भारतका विभिन्न क्षेत्रमा छरिएका नेपालीको भीड अझ थपिन सक्ने सम्भावना देखाउँछ ।भारतबाट कैयौं दिन हिँडेर नाकामा जम्मा भएकाहरू जोखिमपूर्ण तरिकाले महाकाली तरेर वा डडेलधुराको सीमावर्ती क्षेत्रबाट पहाडी बाटो हुँदै स्वदेश छिरिरहेका छन् ।
सुदूरपश्चिम प्रदेशका डीआईजी उत्तम सुवेदीले बिहीबार मात्रै अवैध रूपमा सीमा पार गर्ने ३ जनालाई कैलाली र १० जनालाई कञ्चनपुरमा नियन्त्रणमा लिई क्वारेन्टाइनमा राखिएको बताए ।सीमामा अड्किएका परिवार सदस्यलाई नेपाल ल्याउनुपर्ने माग स्थानीय स्तरबाट पनि उठिरहेको छ । बुधबार मात्रै कञ्चनपुरको महाकाली नगरपालिका–५ स्थित नगरपालिकाको कार्यालय, प्राथमिक स्वास्थ्य केन्द्र र इलाका प्रहरी कार्यालयअघि करिब ५० जनाले यही माग राखेर धर्ना दिए । पछिल्ला दिन पनि सीमामा कैयन् दिन कुर्दा समेत स्वदेश छिर्न नपाएकाहरू महाकालीमा पौडेर वा ट्युब र काठे डुंगामार्फत वारि आइरहेका देखिन्छन् ।
दार्चुला, बैतडी, डडेलधुरा र कञ्चनपुरको केही भागको भारतसँगको सीमा महाकाली नदीले छुट्ट्याएको छ । सुरक्षास्रोतबाट प्राप्त विवरण केलाउँदा लकडाउन सुरु भएको चैत ११ यता झन्डै एक हजार नेपाली महाकाली तरेर यी जिल्ला आएका छन् । स्थानीयका अनुसार यसरी आएका धेरैजसोलाई सुरक्षाकर्मीले क्वारेन्टाइनमा राखे पनि केही भने भागेका छन् । केही भारतीयले नै नेपालीलाई ट्युब वा काठे डुंगाबाट तारिदिने गरेको सीमानाकामा खटिएका एक सुरक्षाकर्मी बताउँछन् ।
लकडाउनपछि दार्चुलापारिको धार्चुला हुँदै करिब ३ सय ५० जना डुंगा र तुइनमार्फत वारि आएका छन् । बैतडीको स्वराड क्षेत्रमा कोरोना संक्रमणको त्रास बढेपछि भारत, चम्पावतको लोहाघाट हुँदै करिब अढाई सय र केही महाकालीबाट त्यसै गरी जोखिम मोलेर नेपाल भित्रिएका छन् । महाकाली तरेर डडेलधुराको भागेश्वरा गाउँपालिका हुँदै स्वदेश छिर्नेको संख्या पनि तीन सय हाराहारी छ । त्यस्तै कञ्चनपुरको ब्रह्मदेव, खल्ला मसेटीनजिकबाट बेलाबखत नेपाल छिर्ने क्रम रोकिएको छैन । यद्यपि प्रदेशका सामाजिक विकासमन्त्री कृष्ण सुवेदी सीमावर्ती क्षेत्रमा सशस्त्र र नेपाल प्रहरी परिचालन बढाएपछि पछिल्ला दिन लुकीछिपी आउनेको संख्या घटेको दाबी गर्छन् ।
प्रदेश डीआईजी सुवेदीका अनुसार पछिल्ला दिन सीमावर्ती वडाहरूमा अनौपचारिक रूपमा वडाध्यक्षको नेतृत्वमा सूचना समिति बनाइएको छ । त्यसले लुकीछिपी सीमा छिर्नेहरूको सूचना दिने गरेको छ । सबै गाउँपालिकाले भारतमा काम गर्नेहरूको नामावली संकलन सुरु गरेको र त्यो विवरण आएपछि फर्किनेहरूलाई क्वारेन्टाइनमा राख्न सजिलो हुने उनले बताए ।
संक्रमित बढ्न सक्ने भन्दै सुदूरपश्चिम सरकारले सबै जिल्लामा भेन्टिलेटर पुर्याउन १६ करोड निकासा गरेको छ । उक्त रकम २० वटा भेन्टिलेटर किन्न छुट्ट्याइएको हो । त्यस्तै महाकाली र सेती अस्पतालमा कोरोना संक्रमितको उपचारका लागि ५०/५० शय्याको भवन निर्माण अन्तिम चरणमा पुगेको छ ।बुधबार मात्रै सुदूरपश्चिम प्रदेशबाट २ सय ३० जनाको स्वाब संकलन गरिएको छ । जसको नतिजा आइसकेको छैन ।
त्यस्तै, नेपाल प्रहरीको कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टरको मेडिकल टोलीले बझाङ, बाजुरा, दार्चुला, बैतडी, डडेलधुरा, कञ्चनपुर र कैलालीमा स्वाब संकलनको योजना बनाइरहेको छ । स्रोतका अनुसार सबै क्षेत्रबाट स्वाब परीक्षण हुँदा संक्रमितको संख्या बढ्न सक्छ । -कान्तिपुरबाट

पत्रकार जोशी लोकदर्पण मिडियाका लागि विभिन्न विधाका समसामयिक विषयमा कलम चलाउछन् ।