दार्चुला । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज देशभरका सबै सरकारी अस्पतालमा ओपीडी सेवा सञ्चालन गर्न निर्देशन दिएको छ । आज/भोलि र पर्सि लगातार तीन दिनको सार्वजनिक बिदाका कारण बिरामीले स्वास्थ्य सेवा पाउन असुविधा नहोस् भन्ने उद्देश्यले मन्त्रालयले आज ओपीडी सेवा सञ्चालनको निर्णय गरेको जनाएको छ ।
मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले निकालेको विज्ञप्तिमा तीन दिन सार्वजनिक बिदा परेकाले सरकारी अस्पतालमा ओपीडी सेवा प्रभावित हुने र सेवाग्राहीलाई असुविधा हुन सक्ने हुँदा आज शुक्रबार सेवा सञ्चालन गर्न भनिएको छ । बिदाको दिन आज ओपीडी सेवा खुला गर्न मन्त्रालयले दिएको निर्देशनमा नेपाल चिकित्सक संघले आपत्ति जनाएको छ ।
संघले विज्ञप्तिमार्फत मन्त्रालयको निर्णय अव्यवहारिक र अवैज्ञानिक भएको भन्दै तत्काल फिर्ता लिन माग गरेको छ । डाक्टर तथा स्वास्थ्यकर्मी पनि श्रमिक नै भएको र अन्तर्राष्ट्रिय मान्यताअनुसार श्रमिक दिवसमा सेवा सञ्चालन गर्दा डाक्टर तथा स्वास्थ्यकर्मीमाथि अन्याय हुने उल्लेख छ ।




