दार्चुला । कक्षा १२ को परीक्षामा जुटेका विद्यार्थीलाई छिट्टै नै उच्च शिक्षामा अध्ययन गर्ने बाटो खुला हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ का विद्यार्थीको स्थगित परीक्षाको निकास दिने गरी प्रक्रिया अगाडि बढाउने भएपछि विद्यार्थीको उच्च शिक्षा अध्ययन गर्ने बाटो खुल्ने भएको हो ।

बोर्डका (कक्षा ११ र १२ हेर्ने) परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले विद्यार्थीको शैक्षिक सत्र खेर नजाने गरी स्थगित परीक्षा छिट्टै लिने अन्तिम तयारीमा आफूहरू जुटेको र दशैँअघि नै हुने जानकारी दिनुभयो ।

विद्यार्थीलाई २१ दिनअघि नै पूर्वसूचना दिएर दशैँअघि नै परीक्षा लिने तयारी परिषद्का अधिकारीहरू जुटेका छन् । बोर्डलाई स्थगित परीक्षाको निकास कसरी निकाल्न सकिन्छ भन्ने हिसाबमा विभिन्न सुझाव दिइएको छ ।

पुरानै मोडलमा देशभर एकै पटक विद्यार्थी कक्षाकोठामा बसेर परीक्षा लिन सक्ने अवस्था नरहेकाले परीक्षाको विभिन्न विकल्पका बारेमा छलफल भइरहे पनि कुन मोडेलबाट परीक्षा लिने भन्ने कुराको भने निर्णय हुन सकेको छैन ।

बोर्डले विद्यार्थीको शैक्षिक सत्र सदुपयोग गर्ने गरी कुनै विधि अपनाएर परीक्षा सञ्चालन गरिनु पर्ने विषयमा छलफल चलाइरहेको छ ।कक्षा १२ को परीक्षाले एक तहको शैक्षिक तह पूरा नै गर्ने र यसले अन्तर्राष्ट्रिय तहको मान्यता पनि पाउने भएकोले परीक्षा लिएर बाहेक अन्य विधिबाट काम गर्न सकिने अवस्था नरहेको परीक्षा नियन्त्रक शर्माले बताउनुभयो ।

यस क्रममा ५० अङ्कको लिखित तथा ५० को अन्य विधिबाट विद्यार्थीको मूल्याङ्कन गर्न सकिने, विद्यार्थी सङ्ख्या कम भएको ठाउँमा सामाजिक दूरी कायम राख्दै परीक्षा सञ्चालन र अनलाइन विधिबाट भए पनि परीक्षा लिन सकिने लगायतका विकल्प खुला गर्ने सम्भावना रहेको जनाइएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

ऐतिहासिक गोकुलेश्वर शिवरात्री मेला-२०८१ सम्पन्न (भिडियोसहित)

२०८१ फाल्गुन २२, बिहीबार ०९:२७

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?