आदरणीय दाई नमस्कार
सुदूरको लिम्पियाधुरावाट हजुरलाई सम्बोधन गर्दै छुँ । हजुरको व्यस्त समयलाई यो पत्रले छुन्छ कि छुँदैन तर पनि आफ्नोमनका भावना र हजारौँ साथीहरुका पिडाको एउटै प्रेमपत्र हजुरलाई पठाउँदै छु । ट्रेड युनियनको निर्वाचनमा व्यस्त हुनुहुन्छ होला तर पनि यो सम्बोधन पत्र हजुरले अवश्य पनि पढिदिनुहुनेछ भन्ने विश्वास लिएको छु ।
आदरणीय दाई, म हजुरलाई अध्यक्ष भन्न डराए किनकी म स्थानीय तहको कर्मचारी हुँ । अध्यक्ष भनेमा कतै मैले गाली त खानुपर्ने होइन ? त्यसैले म दाई भनेर सम्बोधन गर्दैछु । दाई शब्द अभिभावक हो । अभिभावकीय जिम्मेवारी बहन गर्नुहुनेछ र भर्खर बामे सर्न लागेका स्थानिय तहका कर्मचारीलाई पनि भाई सम्झीदिनु होला भन्ने विश्वास सहित अपिल गर्दछु ।
आदरणीय दाई, हामी स्थानीय तहका कर्मचारी हजुरहरुलाई दाई सम्झिन्थ्याैँ । तपाईहरुबाट ठूलो आशा र विश्वास लिन्थ्यो । तर निजामती कर्मचारी बाट आज स्थानीय तहका नव नियुक्त कर्मचारी प्रति जुन व्यवहार प्रस्तुत भयो त्यसले आखाँमा आँशु र मनमा द्वन्द उत्पन्न गराएको छ । तपाईलाई थाहा छ जब तपाईहरु सेतो सर्ट र निलो पाइन्ट लगाएर अफिस जाँदै गर्दा हामीहरु इन्सिच्युटको झ्यालबाट लोभिन्थ्यो, जब तपाईहरु निजामती सेवा दिवस मनाउथ्यो हामीहरु ति नाराहरु घोक्थ्यौँ । निजामती कर्मचारी बन्नुको विकल्प नसोची रातदिन लोकसेवा तयारी गर्दागर्दै र तपाई निजामती
कर्मचारीहरुको विगतको प्रेरण, सल्लाह, सहयोग र आफ्नो अटुट मेहनतले आज हामी कर्मचारीको स्थानमा पुगेका छौँ ।
७५३ स्थानीय तहका कार्यालयमा हामी सेवा दिईरहेका छौँ । दवाब , अभाव र प्रभावबाट गुज्रिदै राष्ट्र सेवालाई मुल मन्त्र बनाई जनप्रतिनिधिका अनेकौँ दवाव, भोगोलिक विकटता, प्रशासनिक समस्या , राजनितिक हस्तक्षपेका बापजुत पनि हामी गाउँ गाउँका सिंहदरबारका पहरेदार बनेका छौँ ।
आदरणीय दाई,
संघियताको मर्म र भावना अनुरुप तीन तहमा कर्मचारीतन्त्र पनी खटाईएको हो । संघियताको कार्यान्वयन र सवृद्ध नेपाल निर्माण गर्ने प्रशासनीक जिम्मेवारी तपाई हामी सबै कर्मचारीमा छ । हामी सबै कर्मचारी एकजुट भएमात्र संघियता र सवृद्ध नेपाल सार्थक विन्दुमा पुग्नेछ । भाई भाई बीच द्वन्द र भाई भाई वीचको आपसी मिचाहा र हेपाहा प्रवृतिले न राष्ट्रको कर्मचारीतन्त्र बलियो हुन्छ, न राष्ट्रको सवृद्धि । तसर्थ के स्थानीय, के संघिय, के प्रादेशिक हामी सबै कर्मचारी एकजुट भई एकले अर्कालाई सम्मान गरी पेशागत सुदृढिकरण र हक अधिकारका लागि एकढिक्का हुनु नितान्त आवश्यक छ ।
स्थानिय तहको विज्ञापन देखि नियुक्तिसम्मका जे जती प्रक्रियाहरु भए ति सबै निजामती कर्मचारी नियुक्ती प्रक्रिया सरह नै भएका हुन । जुन निकायले निजामती कर्मचारी छनोट, पदपूर्ती, भर्ना गथ्र्यो त्यस निकायले स्थानिय कर्मचारीको पनि पदपूर्ती गरेको हो । लोकसेवाको निष्पक्षता र पारदर्शीता पनि त्यही नै हो । कर्मचारी संकेत नम्बर पनि हुने, स्थायि पनि हुने , प्रक्रिया सबै हुने, योग्यता सबै हुने , तर निजामती भन्न किन छुटाउने दाई ?
सिंहदरवारको ढोकाबाट टाईसुट लगाएर मन्त्रालय छिर्ने र जिल्लाका कार्यालयमा चिल्लो गाडी चडेर हिटर, कुलरमा वस्ने कर्मचारीलाई मात्र निजामतीको परिभाषाभित्र नराखी दसौँ घण्टा ओकाली ओराली , घरवार छाडी कुना कन्दरामा स्थानिय निकायमा काम गरिरहेका आफ्नो योग्यता, क्षमता र मिहेनतले स्थायी नियुक्ती भई स्थानिय तहमा काम गरिरहेका सम्पूर्ण कर्मचारी लाई निजामतीको परिभाषा भित्र समेटियोस्।
आदरणीय दाई,
हामी तपाईलाई अभिभावक सम्झन्थ्यो । स्थानिय तहका कर्मचारीहरुले अहिलेसम्म त्यस्तो आधिकारीक हकहित मञ्च गठन गरेको थिएनौँ । हामी त्यही युनियनलाई हाम्रो अभिभावकीय निकाय र हकहितको मञ्च सम्झिन्थ्योँ तर विडम्वना निजामती कर्मचारी आधिकारीक युनियनको निर्वाचनको मुखमा जुन हामीप्रति सौतेनी व्यवहार भयो त्यसले हामी आम स्थानीय कर्मचारीको मानसिकतामा हाम्रै अग्रजहरुबाट प्रहार भएको महसुस भएको छ । सरकार सितको हाम्रो अधिकारको वेग्लै लडाई होला तर दाई, जुन हाम्रै सहोदर अग्रज तपाईहरुवाट हामी प्रति जुन प्रहार र निन्दनीय व्यवहार भयो यसले कतै तपाई हामीप्रतिको दुरी वढने र यसले समग्र देशको कर्मचारीतन्त्रमा प्रतिकुल प्रभाव पर्ने त होइन चिन्ता महसुस भएको छ ।
आज धमाधम ७५३ वटै स्थानिय तहमा संघर्ष समितीहरु गठन हुँदैछन्। जल्ला जिल्लामा विरोधहरु हुँदै छन्। हजारौ स्थानिय तहका कर्मचारीहरुको मन मस्तिस्कमा विरोधका स्वरहरु गुन्जिदै छन्। त्यसैले कतै युनियनको निर्वाचन प्रभावित हुने त होइन, जबरजस्ती निवार्चन भए पनि स्थानिय तहका हामी कर्मचारी विनाको त्यो निर्वाचन संघियता मुखी निर्वाचन हुने छैन । त्यो निर्वाचनले संघियताका कर्मचारीको सपना पूरा गर्ने छैन ।
आदरणीय दाई
यसरी भाई भाई बीचको यो दरार ले कतै कर्मचारीतन्त्रमा महाभारतीय युद्ध त हुने होइन । त्यसैले स्थानीय तहका कर्मचारीहरुलाई पनि यो निर्वाचनमा सहभागी गराई यो निर्वाचनको मिति केही पर सारी संघियता मुखी निर्वाचन गराई निजामती कर्मचारीको टे«ड युनियन गठन गर्दा सर्वहितकारी होला भन्ने सुझाव दिन चाहन्छुँ । अन्त्यमा स्थानीय तहका कर्मचारीलाई निजामतीको दर्जावाट पर धकेल्ने कुनै पनि प्रयास , सयन्त्रका विरुद्ध स्थानीय कर्मचारीहरुको जुनसुकै प्रयत्न गर्न पनि वाध्य हुने र त्यस अभियानमा हजुरको पूर्ण सहयोगको आशा सहित पत्रलाई छोटयाउँदछु । धन्यबाद ।
उहि हजुरको मित्र
शेखर चन्द्र ओझा
अधिकृत छैँठो (प्रशासन)