दार्चुला । फोहोर व्यवस्थापनमा लापरबाही गरेको भन्दै स्थानीयहरूले महाकाली नगरपालिकाको डम्पिङ साइट बन्द गरेका छन्। फोहोर व्यवस्थापनमा चरम लापरबाही भएको आरोप लगाउँदै स्थानीयले डम्पिङ साइटमा अवरोध सिर्जना गरेका हुन्।

संकलित फोहोर सिधै महाकाली नदीमा फाल्ने तथा जलाउने जस्ता कार्यले पवित्र महाकाली नदी र वातावरण नै प्रदूषित भइरहेको भन्दै यसअघि नै नगरपालिकाको ध्यानाकर्षण गराइएको थियो।

यसअघि डम्पिङ साइटबाट संकलित फोहोर सिधै महाकाली नदीमा विसर्जन गरेको भिडियो सार्वजनिक भएपछि व्यापक विरोध भएको थियो। विरोध बढेपछि नगरपालिकाले फोहोर हटाउने र व्यवस्थापन गर्ने भन्दै रातिको समयमा आगो लगाएको स्थानीयको आरोप छ। फोहोर जलाउँदा आसपासको वातावरण अत्यन्तै प्रदूषित बनेको उनीहरूको गुनासो छ।

अवरोधपछि नगरपालिकाले संकलन गरेको फोहोर बोकेका गाडीहरू स्थानीयले सदरमुकाम तिरै फर्काएका छन् ।

आइतबार नगरपालिका, प्रशासन, सुरक्षा निकाय र स्थानीयहरु बिच छलफलको तयारी भईरहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इश्वरी ठगुन्नाले बताउनुभयो । फोहोरमा लगाएको आगो पनि निभाउने प्रयास भईरहेको उहाँले बताउनुभयो ।

वातावरण संरक्षण, जनस्वास्थ्य र सुरक्षित भविष्य सुनिश्चित गर्न आफूहरूले यस्तो कदम चाल्नुपरेको स्थानीयको भनाइ छ। स्थानीयहरूले फोहोर व्यवस्थापनका लागि दीर्घकालीन र प्रभावकारी समाधान ल्याउन सम्बन्धित निकायसँग माग गरेका छन्।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?