दार्चुला— सेवा प्रवाहलाई प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउने उद्देश्यले अन्तरनिकाय समन्वयसम्बन्धी अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ। जिल्ला सदरमुकाम खलङ्गास्थित महाकाली नगरपालिकाको सभाहलमा शुक्रबार सम्पन्न उक्त कार्यक्रम जिल्ला प्रशासन कार्यालय दार्चुलाको आयोजनामा भएको हो। कार्यक्रम प्रमुख जिल्ला अधिकारी अनिल पौडेलको अध्यक्षतामा सञ्चालन गरिएको थियो।
कार्यक्रममा विभिन्न निकायबीच सहकार्य र समन्वय सुदृढ गर्ने विषयमा विस्तृत छलफल गरिएको थियो। नगर प्रमुख नरसिंह चौंसिर, जिल्लास्थित सुरक्षा निकायका प्रमुख, विभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, साथै अधिकांश वडाका वडा अध्यक्ष र सचिवहरूको सहभागिता रहेको थियो।
अभिमुखीकरणका क्रममा सेवा सरलिकरण, सिफारिस प्रक्रियामा एकरूपता कायम गर्ने तथा अन्तरनिकायबीच समन्वय सुदृढ बनाउने विषयमा विशेष जोड दिइएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिनुभयो।
कार्यक्रममा सेवाग्राहीमैत्री वातावरण निर्माण गर्ने, सेवा प्रवाहलाई पारदर्शी र परिणाममुखी बनाउने तथा प्रत्येक निकायले आफ्नो जिम्मेवारीभित्र आवश्यक सुधारका कदम चाल्ने प्रतिबद्धता व्यक्त गरिएको जनाइएको छ।
यस कार्यक्रमले स्थानीय तहदेखि संघीय निकायसम्मको समन्वय अभिवृद्धि गर्दै सेवा प्रवाहलाई थप प्रभावकारी र नागरिकमैत्री बनाउने विश्वास लिइएको छ।




