एक दिनमै धारचुलाका गोदाम रित्तिए, लाखौँको प्याज, चिनी र चामल आयात

दार्चुला । दार्चुला र धारचुला जोड्ने खलंगा सीमापुलबाट सोमबार एकै दिनमा लाखौँको सामान आयात भएको छ । भारतकोे बाटो भएर खलंगा झरेका व्यासबासीका लागि खोलिएको खलंगा झोलुगें पुलबाट दार्चुलाका स्थानीय र व्यापारीहरुले लाखौँको सामान भित्र्याएका हुन् ।

चैतदेखि अत्यावश्यक काम बाहेक नखुलेको सीमापुलबाट दुई सय व्यासी दार्चुला आउदा दुई हजार खलंगाबासीले धारचुला पुगेर दैनिक उपभोग्य तथा खाद्यान्नका सामान किनेर ल्याएका छन् । नेपालको भन्दा भारतमा खाद्यान्न र तरकारी सस्तो मूल्यमा पाइने भएकोले पुल खुलेको अवसरमा खलंगाका व्यापारीहरुले भारतीय गोदाम नै रित्तिने गरेर एकै दिन लाखौँको सामाग्री आयात गरेको खलंगाबाट रेडियो लोकदर्पणका कार्यक्रम प्रमुख नरेन्द्र प्रसाद जोशीले जानकारी दिनुभयो ।

विशेषगरी अधिकासंले मसिनो चामल, चिनी, प्याज लगायतका सामाग्री बढी आयात गरेका छन् । चिनि र प्याज नेपालको भन्दा भारतीय बजारमा निकै सस्तो मूल्यमा पाइने गरेको छ । भारतमा ६४ रुपैँया प्रतिकिलो पर्ने चिनि नेपालमा ३६ रुपैँया बढी अर्थात एक सय रुपैँयासम्म बिक्रि हुने गरेको छ । भारतीय बजारमा १३० रुपैँया प्रतिकिलो पाइने प्याज नेपालमा दुई सयमा बिक्रि बितरण हुने गरेको छ । नेपालमा ७० रुपैँया प्रतिकिलो पर्ने चामल भारतमा ६५ रुपैयामै पाइने गरेको खलंगाका व्यापारी केशब बडूले बताउनुभयो । दैनिक उपभोग्यका खाद्य सामाग्री नेपालको भन्दा भारतीय बजारमा सस्तो पर्ने भएकोले पुल खुलेको अवसरमा नेपालीहरुले एकै दिन लाखौँको सामान भित्र्याएको उहाँले बताउनुभयो ।

धारचुला बजार दार्चुलाका ग्राहकमा निर्भर रहेको छ । सीमा पुल बन्द हुदा नौँ महिनासम्म गोदाममा सामान स्टक रहेकोले आयातित अधिकासं सामाग्री म्याद नाघेको हुनसक्ने सम्भावना रहेको स्थानीय सुरजसिह बिष्टको भनाई छ । बजार अनुगमन गरेर खाद्य सामाग्रीको म्याद हेर्नु आवश्यक रहेको बिष्टले बताउनुभयो ।

विगतमा एक किलो चिनिका लागि समेत भारतीय बजार धाउने नेपालीहरुले कोरोना भाइरसको जोखिमका कारण सीमा नाका बन्द भएपनि नेपाली बजारबाटै बढी मूल्य तिरेर उपभोग गर्नुपरेको थियो । ९ महिना देखि भारत जान नपाएका नेपालीहरुले एक दिनमै भारतीय बजारमा रहेको चिनी र प्याज लगायतका सामाग्रीहरु रित्याएको भारतीय व्यापारीहरुले बताएका छन् । धारचुला बजार भरी बेलुकीको समयमा चिनी र प्याजको अभाव भएको थियो ।

व्यासीका लागि खुलेको पुलमा २२ सय जनाको भिड

व्यासी सौका समुदायका लागि खुलेको नेपाल–भारत जोड्ने खलंगा झोलुगें पुलबाट २२ सय चार जनाले आवतजावत गरेका छन् । व्यासको सितापुल नाका खोलेर मङ्सिर ३ गते भारतीय बाटो हुँदै धारचुला झरेका ६० परिवार तिङ्करबासीलाई खलंगा ल्याउनका लागि सोमबार बिहान ८ देखि बेलुकी ५ बजेसम्म खलंगा सीमा पुल खुलेको हो ।

सीमा पुलबाट १४४ जना पुरुष र ६० महिला गरी २०४ जना कुञ्चा अर्थात तिकंरबाट सदरमुकाम बसाई सरेका छन् । पुल खुलेको मौकामा दुई हजार स्थानीयले समेत आवतजावत गरेको पाइएको छ । १३ सय पुरुष र सात सय महिला गरी दुई हजार जना अन्य मानिसहरुले समेत पुलमा आवतजावत गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एबं सूचना अधिकारी भास्कर चन्दले जानकारी दिनुभयो । सोमबार खलंगा पुलमा कुल दुई हजार दुई सय चार जनाले आवतजावत गरेको उहाँले बताउनुभयो ।

व्यासबासीले स्वदेशकै बाटो भएर दार्चुला सदरमुकाम खलंगा आउन सकिने अवस्था नरहेपछि व्यासी सौका समुदायहरुले भारतको बाटो प्रयोग गर्न दिनका लागि भारतीय प्रशासनलाई अनुरोध गरेका थिए । दुबै देशका स्थानीय प्रशासनको सहमतिमा अन्तर्राष्ट्रिय सीमा नाका खुलाइएको प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले जानकारी दिनुभयो ।

नेपालतर्फ बाटो नहुदा भारतीय भूमि हुदै खलंगा आउनुपरेको भन्दै व्यासबासीले आक्रोस व्यक्त गरेका छन् । बाटो बन्छ भनेर ढाट्ने काम मात्रै भएको भन्दै उनिहरुले सरकारले स्वदेशतर्फ बाटो नबनाइदिदा भारतसंग गुहार माग्नुपरेको गुनासो गरेका छन् ।

भारतको बाटो भएर सदरमुकाम आएका सौका समुदायलाई खलंगा पुग्न छ दिन लागेको छ । व्यासकै छाङरु गाउँका एक सय पाँच परिवार मङ्सिर १९ गते सितापुल नाका भएर भारतकै बाटो हुदै खलंगा आउने तयारीमा छन् । छाङरुबासीका लागि मङ्सिर २४ गते खलंगा सीमा पुल खुला गर्ने दुबै देशबिच सहमति भएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।

व्यासीहरुलाई स्वदेश भित्र्याउनका लागि खुलेको पुलमा सयौँ स्थानीयहरुले समेत भिडभाड हुने गरी आवतजावत गरेका छन् । कोरोना भाइरसको जोखिम न्यूनिकरणका लागि बन्द गरिएको पुलमा एकैपटक सयौँको भिड लाग्दा कोरोना संक्रमणको जोखिम झनै बढेको स्थानीयहरुले गुनासो गरेका छन् ।

कोरोनाका कारण गत चैत १० गतेदेखि बन्द रहेका दार्चुलाका अन्तराष्ट्रिय सीमा नाका ३९ पटक खोल्दा आठ हजार बढीले आवतजावत गरेका छन् । अत्यावश्यक कामका लागि दुबै देशको स्थानीय प्रशासनबिच समन्वय गरेर पुल खुलाउदा स्थानीय र व्यापारीहरुले समेत सीमा पार गरेर सामाग्री खरिद गर्ने गरेका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?