दार्चुला । प्रधानमन्त्री बालेन्द्र शाहले सार्वजनिक तथा अतिक्रमित जग्गामा रहेका संरचनाहरू भत्काइरहँदा उनकै पार्टीका सांसद केपी खनालको घर भएको जग्गाको पनि लालपूर्जा नभएको पुष्टि भएको छ ।
कैलालीको लम्की चुहा नगरपालिका–१ बसपार्क नजिकै निर्माणाधीन घर पनि सार्वजनिक ऐलानी जग्गामा रहेको छ । ऐलानी जग्गामा निर्माण गरिएको उहाँको घरको नक्सापास पनि छैन । प्रधानमन्त्री शाहले नक्सापास र लालपूर्जा नभएको संरचनामा कारबाही गरिरहँदा प्रधानमन्त्री निकट रहेका उहाँकै पार्टीका सांसद खनालको घर पनि नक्सापास विना बनेको खुलेको हो ।
केपी खनालका बुबाआमा लामो समयदेखि भारतमा मजदुरी गर्छन् । अहिले पनि उनीहरू भारतमै छन् । बुबाआमाले भारतमा कमाएको पैसाले कैलालीको लम्कीमा घर बनाएको केपी खनालका स्वकीय सचिव हर्क पुनले बताउनुभयो। तर घरको पुर्जा नभएको उहाँको भनाइ छ ।
‘
खनालको घर ऐलानीमा भएको कुरा सत्य हो, तर अतिक्रमण गरेर बनाइएको होइन । त्यो घर पनि उहाँका बुबा–आमाले आफ्नै लगानीमा बनाउनु भएको हो, ’ उहाँले भन्नुभयो ।
कैलाली क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा निर्वाचित खनालले निर्वाचनकै समयमा आफूलाई सुकुम्बासी र ऐलानी जग्गामा बसोबास गर्ने उम्मेदवार भन्दै चिनाउँदै आउनुभएको थियो ।




