दार्चुला । पत्रकार लोकेन्द्र कार्कीको पहलमा संकलन गरिएको आर्थिक सहयोग स्वर्गीय पुष्कर सिंक कार्कीको परिवारलाई हस्तान्तरण गरिएको छ । यहि बैशाख २ गते गोठालो गएको बेला भिरबाट लडेर ३५ वर्षको अल्पायुमै ज्यान गुमाएका ३५ वर्षीय कार्कीको परिवारलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको हो ।
स्थानीय तथा पत्रकार लोकेन्द्र कार्कीको पहलमा सञ्चालन गरिएको सहयोग संकलन अभियानमार्फत जम्मा भएको ३ लाख ८० हजार रुपैयाँ आइतबार स्वर्गीय कार्कीकी श्रीमती माया कार्कीलाई हस्तान्तरण गरिएको हो।
स्वर्गीय कार्कीका दुई छोरी र एक नाबालक छोरा रहेका छन्। उनीहरूको पढाइ–लेखाइ तथा लालन–पालनमा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त अभियान सञ्चालन गरिएको पत्रकार कार्कीले बताउनुभयो ।
परिवारमा अझै पनि १५ लाख रुपैयाँभन्दा बढी ऋण रहेको र आर्थिक अवस्था अत्यन्त नाजुक रहेकाले थप सहयोगको आवश्यकता रहेको उहाँले बताउनुभयो । इच्छुक सहयोगदाताहरूले अझै पनि सहयोग गर्न सक्ने जनाइएको छ।




