दार्चुला । दार्चुला र बैतडीका विभिन्न स्थानीय तहले गौरा पर्वको अवसरमा स्थानीय विदा दिने भएका छन् । दार्चुलाको शैल्यशिखर नगरपालिका, मालिकार्जुन गाउँपालिका, लेकम गाउँपालिका लगायत स्थानीय तह र बैतडीको दोगडाकेदार गाउँपालिका लगायत स्थानीय तहले विदा दिने जनाएका छन् । शैल्यशिखर, मालिकार्जुन र दोगडाकेदारले भदौ २१ र २२ गते गौरा पर्वको अवसरमा स्थानीय बिदा दिने निर्णय समेत गरिसकेका छन् ।
आइतबार शैल्यशिखर नगरपालिकाले विदा दिने निर्णय सार्वजनिक गरेको थियो । सोमबार मालिकार्जुन र दोगडाकेदार गाउँपालिकाले विदा दिने निर्णय सार्वजनिक गरेका छन् । सोमबार (आज) देखि शुरु भएको गौरा पर्वको अवसरमा भदौ २१ र २२ गते बिदा दिने निर्णय भएको सम्बन्धित स्थानीय तहहरुले जानकारी दिएका छन् । भदौ ७ गते गौरा नमनाएका ठाउँमा आजदेखि गौरा पर्व शुरु भएको छ । भदौ २१ गते गौराको मुख्यदिन गौराष्टमी अर्थात अठ्यावाली परेको छ । विभिन्न स्थानीय तहले भदौ २१ र २२ गते विदा घोषणा गरेसंगै भदौ २० गतेदेखि २३ गतेसम्म गौराको अवसरमा विदा पाइने भएको छ । २० गते श्रीकृष्ण जन्माष्टमी, २१ र २२ गते स्थानीय विदा र २३ गते शनिवार परेकोले गौराको अवसरमा लगातार चार दिन विदा पाइने भएको हो ।
दार्चुलाको लेकम गाउँपालिकाले भने सुदूरपश्चिमको ठूलो पर्व गौराको अवसरमा भदौ २१ र २२ गते सार्वजनिक विदा दिन सुदूरपश्चिम प्रदेश सरकारसंग अनुरोध गरेको छ । भदौ १८ गतेदेखि २२ गतेसम्म व्यापकरुपमा मनाइने गौरापर्वको अवसरमा २१ र २२ गते दुई दिन सार्वजनिक विदा दिन मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयसंग अनुरोध गरिएको लेकम गाउँपालिका अध्यक्ष रामदत्त जोशीले बताउनुभयो ।
दार्चुलाको लेकम क्षेत्रमा आजबाट गौरा धुमधामका साथ सुरु भएको छ । भाद्र ७ गते गौरा पर्व नमनाएको लेकम क्षेत्रमा विरोडा भिजाएसंगै आजबाट गौरा सुरु भएको हो । पौराणिककालमा भगवान महेश्वरको प्राप्तिका लागि गौरा देवी अर्थात पार्वतीले निराहार नित्य आराधना गरि भगवान शिवलाई पतिको रुपमा प्राप्ति भएको विश्वासको आधारमा गौरा महेश्वरको सम्झना स्वरुप गौरापर्व मनाउने गरिन्छ ।
गौरा पर्वको पहिलो दिन बिरुडा पञ्चमीमा घर–घरमा महिलाले तामाका भाडामा पाँच प्रकारका अन्न भिजाएर पर्वको थालनी गरेका छन् । गौरा पर्वको पहिलो दिन महिलाहरुले तामा वा पित्तलका भाँडामा पाँच प्रकारका अन्न (गहुँ, केराउ, गहत, मास र गुराउँस मिसाएर) बिरुडा भिजाएका छन् । ब्रतालु महिलाहरुले शिव पार्वतीको गाथामा आधारित फागहरु गाएर सामुहिक रुपमा बिरुडा भिजाउने चलन रही आएको लेकमका स्थानीय सरस्वती जोशीले बताउनुभयो । यो पर्वमा खास गरेर विवाहित महिलाहरुले ब्रत बसेर शिव र पार्वतीको उपासना गर्ने गर्दछन् ।
बिरुडापञ्चमीकै दिनदेखि ब्रतालु महिलाहरुले गौराको पूजाआजा गर्ने गरेका छन् । पञ्चमीका दिन भिजाएका बिरुडालाई षष्ठीका दिन नजिकका धारा वा तलाउमा लगेर धुने चलन छ । सप्तमीका दिनमा गौरालाई भित्र्याउने चलन छ । गौराको मुख्य दिन दुर्वाष्टमी अर्थात अठ्यावालीका दिन गौराखलामा लगेर पूजा गर्ने गौरा खेलाउने र सेलाउने चलन रही आएको छ ।
शुक्लपक्षमा परेको गौरालाई उजेली गौरा र कृष्णपक्षमा परेको गौरालाई अधेरी गौरा भन्ने गरिन्छ । गौराको समयमा विभिन्न खालका ऐतिहासिक ठाडो खेल, ढुस्को, धुमारी, फाग लगायतका खेलहरु पनि खेल्ने चलन छ । गौरा सेलाइसकेपछि पनि खेडी, घोडी र लमधोडीको नाममा विभिन्न देबीदेबताका मठमन्दिरमा मेला लाग्ने गरेको छ । गौराको अवसरमा घरभन्दा कामविशेषले टाढा रहेकाहरुसमेत घर फर्किएको र गाउँमा सास्कृतिक डेउडाको माहोल रहेकोले गाउँबस्तीमा चहलपहल बढेको छ ।


विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।




