दार्चुलामा पुल बनाउने भन्दै हर्क साम्पाङ चन्दा अभियानमा, तर यस्तो छ वस्तुस्थिति

दार्चुला । श्रम संस्कृति पार्टीका संस्थापक तथा सांसद हर्क साम्पाङले सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लामा तुइनको ठाउँमा झोलुंगे पुल बनाउने भन्दै चन्दा अभियान सुरु गर्नुभएको छ । सामपाङले ‘दार्चुलाको तुइनको साटो झोलुंगे पुल बनाउने घोषणा अनुरुप रु. १० देखि माथि जति सहयोग गर्न चाहनुहुन्छ, सहयोग गर्नुहोला ।’ भन्दै सामाजिक सञ्जाल फेशबुकमा स्टाटस राख्दै अभियान थाल्नुभएको हो ।

सामपाङको आह्वानपछि देश विदेशमा रहेका उहाँका समर्थकहरु पैसा संकलनमा जुटेका छन् । तर, दार्चुलाको वस्तुस्थिति भने अलग रहेको छ।

अहिले दार्चुलाको महाकाली नदी माथि एक ठाउँमा व्याँस गाउँपालिका गाउँपालिका वडा नम्बर २ दुम्लीङमा तुइन छ। यो तुइनको एकातिरको छेउ (नेपाल तर्फ) दुम्लीङ, राप्लामा पर्छ भने अर्कातिरको छेउ भारतको उत्तराखण्ड प्रदेश, पिथोरगड जिल्ला, तहसीलमा रहेको छ। ७० मिटर लामो यस तुइनको बीचमा महाकाली नदी छ, जुन नेपाल र भारतको सीमा नदी हो ।

दार्चुला र भारतलाई जोड्न महाकाली नदीमा ९ ठाउँमा झोलुंगे पुल निर्माण भएका छन् । यी सबै पुल तुइनलाई प्रतिस्थापन गरेर बनाइएका हुन् । तर, दुम्लीङ र पिथौरागड जिल्लालाई जोड्ने तुइनलाई भने पुलमा प्रतिस्थापन गरिएको छैन । दार्चुला जिल्लाभरिमै एक मात्र तुइन यही हो, जसलाई प्रतिस्थापन गर्ने भन्दै हर्क साम्पाङले चन्दा उठाउन सुरु गर्नुभएको छ।

यस विषयमा दार्चुलाका प्रतिनिधिसभा सांसद गणेश सिंह ठगुन्नाले ‘हर्क साम्पाङले वस्तुस्थिती नबुझि स्टन्टबाजी र हावादारी कुरा गरेको बताउनुभयो।

नवनिर्वाचित प्रतिनिधि सभा सदस्य ठगुन्नाले भन्नुभयो ‘तुइनको एकातिरको भाग हाम्रो जिल्लामा पर्छ । अर्को भाग भारतमा पर्छ । बीचमा महाकाली नदी छ । त्यहाँ पुल बनाउने भनेर नेपाल सरकारबाट बजेट नै स्वीकृत भइसकेको हो । रातो किताबमै लेखिएको हो । तर, भारत सरकारले अनुमति नदिएर तुइन प्रतिस्थापन हुन नसकेको तथ्य उहाँलाई नबुझ्नुभएको हो कि बुझ पचाउनु भएको थाहा भएन ।’

नेपाल सरकारको परराष्ट्र मन्त्रालयले पटकपटक भारत सरकारलाई पुल निर्माणका लागि अनुमति मागेको र दूतावासलाई पनि पत्र काटेको तर, भारत सरकारले स्वीकृति नदिएका कारण पुल निर्माण हुन नसकेको ठगुन्नाले बताउनुभयो ।

‘हर्क जी धरानबाट आएर नेपालतिरको दुम्लीङमा पुल बनाउनुहोला । अनि भारततिर चाहिँ कसरी बनाउनुहुन्छ रु’ ठगुन्नाले भन्नुभयो, ‘उहाँ आएर दिल्ली र उत्तराखण्ड राज्यको अनुमति लिनुहुन्छ भने ठिकै हो । नत्र हावाको भरमा संजालमा स्टन्ट गर्नुको अर्थ छैन । यो काम स्टाटस लेखेर, चन्दा उठाएर समाधान हुँदैन, कूटनीतिक पहलले हुने काम हो ।’

अन्तराष्ट्रिय सीमा नदिमाथि संरचना निर्माण गर्दा दुबै देशको सहमति चाहिन्छ । नेपालले मात्रै चाहेर पुल बनाउन नसकिने अवस्था रहेको छ । अन्य ठाउँमा पुल निर्माण भएको समयमा नै दुम्लीङमा पनि पुल निर्माणको प्रक्रिया सुरु भएको तर भारतले सहमति नजाउदा उक्त ठाउँमा पुल निर्माण हुन नसकेको उहाँको भनाई छ ।

भारतसँग सिमाना जोडिएका दार्चुला जिल्लाका ९ ठाउँमा तुइन प्रतिस्थापन भए पनि दुम्लीमा हुन नसक्नुको कारण भौगोलिक संवेदनशीलता रहेको ठगुन्नाले बताउनुभयो । दुम्लीङबाट कालापानी, लिपुलेक र लिम्पियाधुरा नजिक पर्छ । भारत, नेपाल र चीनको सिमाना पनि नजिक पर्छ । ‘यही संवेदनशीलताका कारण भारत सरकारले अनुमति नदिएको हो’ ठगुन्नाले भन्नुभयो ।

‘अरु सबै ठाउँमा भारत सरकारले अनुमति दिएर पुल बन्यो । यही एक ठाउँमा बजेट छुट्टिएर पनि पुल बन्न सकेको छैन । हर्क जीले अध्ययन नगरी, विश्लेषण नगरी, तथ्यमा नटेकी सस्तो प्रचारको लागि पैसा उठाउन सुरु गर्नुभयो’ उहाँले थप्नुभयो।

चन्दा उठाउनुअघि दार्चुलाको वस्तुस्थितिको राम्रो संग अध्ययन गर्न हर्क साम्पाङलाई ठगुन्नाको सुझाव छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?