दार्चुला । वसन्त ऋतुको आगमनसँगै सुदूरपश्चिमका पहाडी गाउँहरूमा माइतीको माया झल्काउने परम्परागत भिटौलो पर्व सुरु भएको छ। चैत्र महिना लागेसँगै दार्चुलासहित सुदूरपश्चिमका विभिन्न जिल्लामा दाजुभाइले बिहे भएर पराइघर गएकी दिदीबहिनी तथा चेलीबेटीको घर पुगेर भेट्ने परम्परा सुरु भएको हो।

बसन्त ऋतुमा पहाडका वनपाखामा गुराँस फुल्न थाल्छन्, गहुँबाली हावासँगै लहरिन थाल्छ, न्याउली र कोइलीको मधुर आवाजले गाउँबस्ती गुञ्जिन्छ। यही मौसममा पराइघर गएकी छोरीचेलीलाई माइतीको सम्झना झन् गहिरो हुने विश्वास गरिन्छ। त्यसैले माइती पक्षका दाजुभाइ चेलीबेटीको घर पुगेर माया र सम्मानका साथ भेट्ने चलनलाई भिटौला भनिन्छ।

यो परम्परा विशेषगरी दार्चुला, बैतडी, डडेल्धुरा, बझाङ लगायत सुदूरपश्चिमका पहाडी जिल्लामा मात्र नभई सीमावर्ती भारतीय कुमाउ क्षेत्रका गाउँहरूमा पनि प्रचलित रहेको पाइन्छ। वर्षमा कम्तीमा एकपटक भए पनि चेलीबेटीको घर पुगेर माया साट्ने यो संस्कृतिले पारिवारिक सम्बन्धलाई अझ मजबुत बनाउने विश्वास गरिन्छ।

लोककथाअनुसार भारतको कुमाउ क्षेत्रमा एक दाजुले आफ्नी बहिनीलाई चैत महिनामा भेट्ने वाचा गरे पनि पछि विभिन्न कारणले भेट्न नसकेको दुःखद घटनासँग भिटौला परम्परा जोडिएको बताइन्छ। त्यसपछि वर्षमा एकपटक भए पनि चेलीबेटीलाई भेट्नैपर्ने परम्परा समाजमा बसालिएको जनविश्वास रहेको छ।

स्थानीय संस्कृतिका जानकार इन्द्रदेव जोशीका अनुसार समय परिवर्तन हुँदै गए पनि भिटौला पर्वको महत्व अझै घटेको छैन। “धेरै संस्कृतिहरू समयसँगै हराउँदै गएका छन्, तर भिटौला पर्व भने गाउँघरमा अझै जीवन्त रूपमा मनाइन्छ,” उहाँले भन्नुभयो।

पहिले सञ्चारका साधन अभाव हुँदा पराइघर गएकी छोरीचेलीको खबर वर्षौँसम्म थाहा नपाउने अवस्था पनि हुन्थ्यो। खेतीपाती र घरधन्दामा व्यस्त जीवनका कारण परिवारबीच भेटघाट कम हुने गर्थ्यो। यही कारण वर्षमा एकपटक भए पनि चेलीबेटीको घर पुगेर हालखबर बुझ्ने, माया साट्ने र सुखदुःख बाँड्ने अवसरका रूपमा भिटौला पर्वको परम्परा बसेको मानिन्छ।

भिटौला जाँदा दाजुभाइले परम्पराअनुसार गुड, सेलरोटी, खीर, मालपुवा, हलुवा, मिश्री, फलफूल लगायतका परिकार लिएर जाने चलन छ। आर्थिक क्षमता अनुसार लुगा, गहना तथा अन्य उपहार पनि दिने गरिन्छ। पछिल्लो समय बजारबाट किनिएका मिठाई, फलफूल र विभिन्न उपहार लगेर दिने चलन पनि बढ्दै गएको छ।

भाइटीकामा दिदीबहिनी माइती जाने परम्परा भएजस्तै, चैत महिनामा दाजुभाइ चेलीबेटीको घर पुग्ने चलनले दुवै पक्षबीचको सम्बन्धलाई सन्तुलित बनाउने मानिन्छ। कतिपय ठाउँमा भिटौला जाँदा एकरात चेलीबेटीको घरमा बास बस्ने परम्परा पनि अझै कायम छ।

चैत महिनामा चेलीबेटीलाई उपहार वा दान दिएमा शुभफल प्राप्त हुने जनविश्वास पनि रहेको छ। यही कारण भिटौला पर्व गाउँघरतिर अझै सम्मान र आत्मीयताका साथ मनाइने संस्कृतिका रूपमा जीवित रहेको छ।

संस्कृति विज्ञहरूका अनुसार यस्तो परम्पराले केवल पारिवारिक सम्बन्ध मात्र होइन, समाजको भावनात्मक एकता, माया र अपनत्वलाई पनि बलियो बनाउने भएकाले यस्ता मौलिक संस्कृतिलाई जोगाएर राख्नु आजको आवश्यकता भएको उनीहरूको भनाइ छ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?