तुईन काण्डको छानबिन गर्न उच्चस्तरीय समिति घटनास्थलतर्फ जाँदै, प्रमाण खोज्दै प्रहरी

दार्चुला । गृह मन्त्रालयले दार्चुला घटनाको छानबिन गर्न एक उच्चस्तरीय समिति गठन गरेको छ। मन्त्रालयले मन्त्रालयमा कार्यरत सहसचिव जनार्दन गौतमको संयोजकत्वमा पाँच सदस्यीय उच्चस्तरीय समिति गठन गरेको एक विज्ञप्तीमार्फत आइतबार जानकारी गराएको हो । टोली सोमबार (आज) नै स्थलगत अद्ययनमा जाने बताइएको छ ।

समितिको सदस्यमा नेपाल प्रहरीका सुदूरपश्चिम प्रहरी प्रमुख, प्रहरी नायव महानिरीक्षक (डीआईजीपी) पुरुषोत्तम कंडेल, राष्ट्रिय अनुसन्धान विभाग सुदूरपश्चिम प्रदेशका अनुसन्धान निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बल नेपाल सुदूरपश्चिम प्रदेशका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेशकुमार श्रेष्ठ र दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट जोशी रहेका छन् ।

दार्चुला घटनाको अध्ययन गरी १० दिनभित्र प्रतिवेदन पेश गर्न समितिलाई गृहमन्त्री बालकृष्ण खाणले निर्देशन दिएको मन्त्रालयका प्रवक्ता समेत रहेका सहसचिव फणिन्द्रमणी पोखरेलले जारी गरेको विज्ञप्तीमा भनिएको छ । साउन १५ गते शुक्रबार तुइनबाट महाकाली नदी तर्ने क्रममा व्यास गाउँपालिका–२ माल बस्ने वर्ष ३३ का जयसिंह धामी तुइनको तारसँगै महाकाली नदीमा बगी बेपत्ता भएका थिए ।

घटनाका प्रत्यक्षदर्शीका अनुसार भारतीय सशस्त्र प्रहरी बल (एसएसबी) का जवानले तुइन काटिदिँदा धामी बेपत्ता भएका जनाइएको छ । प्रतक्षदर्शीका साथै व्यासका स्थानीय जनप्रतिनिधि, गाउँपालिका र स्थानीय सरोकारवालाहरुले एसएसबीले तुइन फुकालिदिएकै कारण धामी महाकालीमा बेपत्ता भएकोले दोषिलाई कार्वाही र पिडितलाई उचित क्षतिपुर्तीको माग भइरहेको छ । तर भारतीय प्रहरी एसएसबीले भने यसलाई अस्विकार गरेको छ । बेपत्ता भएका धामीको बेपत्ता भएको दिनदेखि नै खोजी जारी रहेको स्थानीय प्रशासनले जनाएको छ ।

समितिको संयोजकको जिम्मेवारी दिएको पत्र अघि साँझ पाएकाले सोमबारदेखि स्थलगत अध्ययन गरिने उच्चस्तरीय समितिका संयोजक जनार्दन गौतमले बताउनुभयो । उहाँले भन्नुभयो, ‘पत्र प्राप्त गरेको छु । सोमबार घटनास्थलतर्फ गएर अध्ययन गर्ने तयारी गरेका छौ । तोकिएको १० दिनमा हामी स्थलगत अध्ययन गरेर सत्य तथ्य विवरण गृह मन्त्रालयलाई प्रतिवेदन बुझाउछौँ ।’

अनुसन्धानमा खटिएको टोलीले जयसिंह धामी तुइनबाट खसेको प्रष्ट प्रमाण ‘फेला पारेन’

दार्चुलामा तुइनबाट तर्ने क्रममा महाकालीमा खसेर शुक्रबार एक पुरुष बेपत्ता भएपछि भारतीय सीमा सुरक्षा बल एसएसबीको संलग्नताबारे छानबिन भइरहेको छ।

व्याँस गाउँपालिका २ मालका ३३ वर्षीय जयसिंह धामी एसएसबीले तुइन काटेपछि महाकालीमा खसेको स्थानीय र प्रत्यक्षदर्शीले बताएका छन्।

उनको खोजी कार्य भइरहेको छ। जिल्ला प्रशासन कार्यालय दार्चुला र गृह मन्त्रालयले भने भारतीय सुरक्षाकर्मीको यस घटनामा संलग्नता रहेकोबारे पुष्टि नभएको बताइरहेका छन्। प्रतक्षदर्शीहरुले एसएसबीले नै तुइन फुकालेको बताइरहदा प्रहरी प्रशासनले भने उक्त कुरा पुष्टि हुने कुनै ठोस प्रमाण फेला नपरेको बताएका छन् ।

शनिबार भारतको पिथौरागढका जिल्ला अधिकारी आनन्द स्वरुपले दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीलाई दिएको जवाफमा यस घटनामा एसएसबीको संलग्नता नरहेको बताएका छन्। स्थानीय बहादुरसिंह धामीले घटना एसएसबीले तुइन काटेपछि भएको भन्दै छानबिन गर्न माग गरेर भारतीय प्रहरी चौकी पाङलामा निवेदन समेत दिएका थिए।

घटनाबारे छानबिन गर्न सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक वीरसिंह धामीको नेतृत्वको टोली खटिएको छ। टोलीमा नेपाल प्रहरी र अनुसन्धान समूह पनि सहभागी छन्। शनिबार बेलुका सात बजेतिर टोली सदरमुकाम खलंगाबाट माल पुगेको थियो। आइतबार घटनास्थल हेरिएको र स्थानीयसंग सोधपुछको काम गरिएको टोलीमा खटिएका एक प्रहरी अधिकृतले बताउनुभयो ।

‘मान्छे बेपत्ता भएको तीन दिन भइसेकेकोले पीडितलाई धेरै सोधपुछ गर्न सकिएन, प्रत्यक्षदर्शीलाई सदरमुकाम आउन भनिएको छ। आज उनीहरू आउनेछन्,’ उहाँले भन्नुभयो । शुक्रबार बिहान सवा ८ बजेतिर तुइन तर्ने क्रममा घटना हुदा जयसिंहपछि पालो कुरेर बसेका दुई जना र तुइन सञ्चालक कल्याणसिंह धामीलाई सोमबार जिल्ला प्रहरी कार्यालय बोलाइएको छ।

‘प्रत्यक्षदर्शीले जे बयान दिन्छन् त्यसैलाई आधार मानेर अनुसन्धान अघि बढ्छ, उनीहरूले भनेपछि कुरा छर्लंगै होला,’ ती प्रहरी अधिकृतले भने। त्यसदिन घटना हुनुअघि तुइन तरेर पारि भारत पुगेका चार जनाको बयान प्रहरीले लिइसेकेको छ। उनीहरूले एसएसबीका दुई जना जवान तुइन भएको स्थानमा पुगेको देखेको प्रहरीसमक्ष बताएका छन्। ती मध्येका एक बहादुरसिंह धामी पनि हुन्। उनीहरूले जयसिंह तर्ने बेलामा झोला वारि नै छोडेर गएको बताएका छन्। ‘काटेकै त देखिएन तर रुखनेर एसएसबी थिए। तुइन खोल्न लागेका थिए वा के गरे उनीहरूले प्रष्ट देखेको बताएनन्,’ ती प्रहरी अधिकृतले भने।

तुइनमा प्रयोग गरिएको बिजुलीको फलामे तार थियो। त्यो तार अनुसन्धानका लागि गएको टोलीले फेला पारेको छैन। ‘तुइन लाउनेवालाले तार तानेर फालेको रहेछ, तार भेटिए पनि काटेको हो कि होइन थाहा हुन्थ्यो,’ उनले भने। उनका अनुसार तुइन सञ्चालक कल्याणसिंह धामीले वर्षौं पुरानो तार काम नलाग्ने ठानेर महाकालीमै बगाइदिएका छन्। घटनास्थल पुगेको प्रहरीले प्रष्ट प्रमाण फेला पार्न नसकेर सोमबार जिल्ला फर्किँदैछ। प्रत्यक्षदर्शीको बयान नै घटनाको अनुसन्धान सहयोगी हुने देखिएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?