बैतडी । बैतडीको मेलौलीमा मृत फेला परेकी महिलाको भेजाइनल स्वाब परीक्षण लागि प्रयोगशाला पठाइएको छ । डडेल्धुराको भागेश्वर गाउँपालिका ३ लामीकाँडे घर भएकी ३६ वर्षीया खेट्टी मल्ल साउन ८ गते बैतडीको मेलौली नगरपालिका –७ ल्वाथलीमा मृत अवस्थामा फेला परेकी थिइन् ।
महिलाको मृत्यु कसरी भयो भन्ने पुष्टि गर्नका लागि भेजाइनल स्वाब र भिसेरा केन्द्रिय प्रहरी विधिविज्ञान प्रयोगशाला काठमाडौं पठाइएको इलाका प्रहरी कार्यालय पाटनका इञ्चार्ज, प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिनुभयो । भेजाइनल स्वाब, मुटु,कलेजो,फोक्सोको टुक्रा तथा भिसेरा परीक्षणका लागि पठाइएको हो । उहाँलेले भन्नुभयो,‘ स्वाब र भिसेरा पठाएको १० दिन भइसकेको छ,रिपोर्ट आउँन बाँकी रहेको छ ।’
ती महिलाको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा गरिएको शव परीक्षण रिपोर्टमा भने हृदयघातका कारण मृत्यु भएको देखाएको जनाएको छ । महिलाको शरिरमा बाहिर देखिने कुनै घाउ तथा चोट केही पनि थिएन् । प्रहरी निरीक्षक शाहीले भने,‘ हृदयघाटका कारण मृत्यु भएको रिपोर्ट आएपनि हामीले कलडिटेल, उक्त दिन क–कसको सम्पर्कमा थिइन् लगायतका विषयमा थप अनुसन्धान गर्दैछौं ।’
साउन ७ गते घरबाट माइतीघर बैतडीको मेलौली ५ सेरी आउन लागेको थिइन् तर माइतीघर नपुग्दै मल्ल बीचबाटोमै मृत अवस्थामा फेला परेकी हुन् । मृतक महिलाको घरपरिवार तथा आफन्तले दाहसंस्कार गरिसकेका छन् ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया